१६ चैत्र २०८० शुक्रबार
खेल

जित्नैपर्ने दबाबमा मनाङ

काठमडौं – एएफसी कपमा अघिल्लो चरणको यात्रालाई जीवितै राख्न बुधबार सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब पाहुना टोली मिनर्वा पन्जावविरुद्ध जितको लक्ष्यमा मैदान उत्रिनेछ। समूह ‘ई’ मा रहेको नेपालको लिग च्याम्पियन मनाङले यसअघि सम्पन्न तीनमध्ये दुईमा नतिजा सुम्पिँदा एक खेलमा बराबरी खेलेको छ।

भारतको क्लब मिनर्वासँगको खेलमा २–२ को बराबरी खेलेको मनाङले सोही खेलबाट खाता खोल्न सफल भएको थियो। त्यसैले अघिल्लो चरणको यात्रालाई जीवितै राख्न भए पनि मनाङ बुधबार हुने खेलमा जित्नै पर्ने दबाबमा रहनेछ।

मंगलबार भएको पत्रकार सम्मेलनमा मनाङ मस्र्याङ्दी क्लबका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले एएफसी कपअन्तर्गत सम्पन्न अघिल्ला खेलमा भएका कमीकमजोरीलाई सुल्झाउँदै बुधबार दिउँसो ३ बजे जितको लक्ष्यका साथ मैदान उत्रने बताए।

‘हामीले यसअघि सम्पन्न लिग खेलमा शतप्रतिशत खेलेका थियौं, पाएका अवसरलाई सदुपयोग गर्न असफल भयौं,’ प्रशिक्षक छिरिङले भने, ‘अघिल्ला खेलमा भएका कमीकमजोरीलाई सच्याउँदै बुधबार हुने खेलमा नयाँ रणनीतिका साथ मैदान उत्रनेछौं। घरेलु मैदानको फाइदा उठाउँदै छनोट प्रतियोगितामा पहिलो जित निकाल्ने उद्देश्यमा छौं।’

‘हामी जित्नकै लागि मैदान उत्रनेछौं । कमजोरी सुधार गर्दै राम्रो खेल्ने रणनीति बनाएका छौं। त्यसका लागि केही नयाँ रणनीति पनि अपनाउनेछाैं,’ प्रशिक्षक लोप्साङले भने, ‘हामीले सबै खेलमा शतप्रतिशत खेलेका छौं। यद्यपि हामीले विदेशी क्लबबाट सिक्नुपर्ने धेरै कुरा छन्। फुटबल भाग्यको पनि खेल हो। घरेलु दर्शकको साथ पाए अवश्य पनि जित निकाल्नेमा विश्वस्त छु।’

यस्तै मनाङका कप्तान विराज महर्जनले घरेलु मैदानको फाइदा उठाउने प्रतिक्रिया दिए। ‘अघिल्ला खेलमा हामीले मिहिनेतका साथ खेले पनि नतिजा निकाल्न सफल भएनौं। पाएका अवसरलाई सदुपयोग गर्न असफल भयौं,’ कप्तान विराजले भने, ‘हामी आफ्नै कमजोरीको कारण पछि परेका थियौं। तर, हामी बुधबार हुने खेलमा ३ अंकका लागि खेल्नेछौं।’ अघिल्लो चरणको सम्भावना बाँकी रहेको बताएका कप्तान विराजले भने, ‘अब आउने तीनै खेल हामीलाई निकै महŒवपूर्ण छन्। यिनै तीन खेलमा सुखद नतिजा निकाल्न सके अघिल्लो चरण सम्भावना हुन्छ। हामीलाई आशा छ, सबै खेलाडीमा उत्साह छ।’

अघिल्ला खेलमा बराबरी खेल्दै तालिकामा ३ अंक बनाएको मिनर्वाका प्रशिक्षक सचिन बडाढेले पनि अघिल्ला खेलमा भएका कमीकमजोरीलाई सुधार्दै जितको लक्ष्यका साथ मैदान उत्रिने बताए। ‘बुधबार हुने खेलका लागि हामी सबै शारीरिक तथा मानसिक रूपमा तयार छाैं,’ प्रशिक्षक बडाढेले भने, ‘जितको खोजीमा मैदान उत्रिनेछौं। पहिलेको भन्दा टोलीमा धेरै अनुभव बढेको छ।’

‘आई लिग र एएफसी कप पूरै फरक हुन्छ। एएफसी आई लिगभन्दा धेरै माथिको प्रतियोगिता हो तर हामीले प्रतिस्पर्धात्मक खेल खेल्दै आएका छौं,’ मिनर्वाका प्रशिक्षक बडाढेले थपे, ‘कृत्रिम मैदानमा खेल्नु एएफसीको नियमविपरीत हो । तर हामीले नेपालको परिवेशलाई बुझेका छौं। मनाङ नेपालको च्याम्पियन हो, त्यसैले प्रतिस्पर्धात्मक खेल हुनेछ।’

यस्तै मिनर्वाका कप्तान ओमोलाजा नुराइन करिमले प्रतिस्पर्धात्मक खेल हुने प्रतिक्रिया दिए। ‘मनाङ बलियो टिम हो। पहिलो लेगमा उत्कृष्ट खेल खेलेको थियो,’ कप्तान ओमोलाजाले भने, ‘खेलमा जे पनि हुन सक्छ। प्रतिस्पर्धात्मक बन्ने मेरो अपेक्षा छ।

समूह ‘ई’ मा रहेको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ समूहको पुछारमा छ। मनाङले ३ खेलमा १ अंक जोडेको छ। मिनर्वा ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ। यसअघि भारतको भुवनेश्वरस्थित कलिङ्ग रंगशालामा भएको पहिलो खेलमा मनाङ र मिनर्वाले २–२ को बराबरी खेलेका थिए।

यस्तै पहिलो खेल बंगलादेशको टोली अवहानी ढाकासँग नेपालमा भएको खेलमा १–० ले पराजित भएको थियो भने अर्को खेलमा भारतीय लिग आइएसएलको विजेता चेन्नेइन एफसीसँग २–० ले पराजित भएको थियो।एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने मनाङ र पन्जाबबीचको खेल अपराह्न ३ बजे सुरु हुनेछ । ‘फुटबल भाग्यको पनि खेल हो। घरेलु दर्शकको साथ पाए अवश्य पनि जित निस्कनेछ।’

प्रकाशित: १ जेष्ठ २०७६ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App