८ वैशाख २०८१ शनिबार
खेल

भलिबल रेफ्रीको पारिश्रमिकमा घोटाला

काठमाडौं – कर्णालीमा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा रेफ्रीको पारिश्रमिकमा घोटाला भएको तथ्य बाहिर आएको छ। आठाैं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोट खेलअन्तर्गत कर्णालीको जाजरकोटमा महिला तथा सल्यानमा पुरुष भलिबल प्रतियोगिता आयोजना भएका थिए। 

प्रतियोगिता सञ्चालनका लागि भलिबल संघले खटाएका प्रतिनिधिले स्थानीय रेफ्रीलाई पारिश्रमिक भन्दा कम पैसा दिएको तथा नक्कली रेफ्री खडा गरेर पैसा आफैं लिएको तथ्य बाहिर आएको हो। कर्णाली प्रदेशमा भलिबल संघका सचिव श्यामकृष्ण श्रेष्ठ र सदस्य मंगल श्रेष्ठ खेल सञ्चालनका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका थिए।

रेफ्रीको संयोजन गर्ने जिम्मेवारी पाएका श्रेष्ठद्वयले आफैं रेफ्रीको भूमिका निर्वाह गरेको, भलिबलमा सक्रिय स्थानीय रेफ्रीलाई उपेक्षा गरेको तथा फर्जी रेफ्री खडा गरेको जानकारी खेल सञ्चालन गरिरहेका रेफ्रीले दिएका छन्। राखेपको निर्देशिकामा प्रदेशको टुर्नामेन्ट सञ्चालन गर्न २३ जना रेफ्री खटाउनुपर्ने प्रावधान छ। तर कर्णालीमा ८÷१० जना मात्रै परिचालन गरिएको र पारिश्रमिक भने १६ देखि २० जनाले बुझेको देखिएको छ।

‘राष्ट्रिय खेलकुद परिषद्ले हामी रेफ्रीलाई एक दिनको १५ सय रुपैयाँ दिन्छ। खान बस्न र १० प्रतिशत कर कटाएर ९ सय  पाउनुपर्ने हो। म आफैं राष्ट्रिय रेफ्री हुँ। यहाँ गेम खेलाइरहेको छु। तर मैले स्थानीय भनेर ४ सय रुपियाँ मात्र पाएँ।’

त्यस्तै, रेफ्रीले पाउनुपर्ने पूरा पारिश्रमिक पनि नदिएको पाइएको छ। ‘राष्ट्रिय खेलकुद परिषद्ले हामी रेफ्रीलाई एक दिनको १५ सय रुपैयाँ दिन्छ। खान बस्न र १० प्रतिशत कर कटाएर ९ सय  पाउनुपर्ने हो। म आफैं राष्ट्रिय रेफ्री हुँ। यहाँ गेम खेलाइरहेको छु। तर मलाई स्थानीय भनेर ४ सय मात्रै दिइयो, कर काटेर मैले ९ सय रुपैयाँ पाउनुपर्ने हो’, प्रतियोगिता सञ्चालन गराइरहेका एक रेफ्रीले नागरिकसँग गुनासो गरे। उनका अनुसार केही क्षेत्रीय रेफ्रीलाई राष्ट्रिय देखाएर उनीहरूको पारिश्रमिकबाट पनि रकम लिइएको छ। राष्ट्रिय रेफ्री देखाइएकामध्ये कसैलाई ४ सय, कसैलाई ५ सय मात्र दिइएको छ। जबकि राष्ट्रिय रेफ्रीको पारिश्रमिक १ हजार हो।

कर्णाली प्रदेशमा महिला भलिबल जाजरकोटमा भर्खरै सम्पन्न भएको छ। पुरुष भलिबल भने सल्यानमा शनिबार सकिएको छ। सल्यानमा पनि जाजरकोटकै रेफ्रीको टोलीले खेल सञ्चालन गरेको पाइएको छ। जसमा केही राष्ट्रिय रेफ्री छन् भने ५ जना क्षेत्रीय एवं प्रादेशिक रेफ्री। तर, यहाँ १६ जनाले पारिश्रमिकबापत दैनिक भत्ता लिएका छन्। स्थानीय तथा अनुभवी रेफ्रीलाई सल्यानमै खेल हुँदा पनि ‘हाम्रो रेफ्रीको छुट्टै टोली छ, तिम्रो नाम छैन’ भनेर केन्द्रीय प्रतिनिधिले भनेको सल्यानका एक स्थानीय रेफ्रीले बताए। उनका अनुसार यस विषयमा यहाँ विवादसमेत भएको थियो।

खेलाडीले पनि भत्ता पाएनन्
जिल्ला खेलकुद विकास समिति सल्यानका अनुसार प्रतियोगिता आयोजना गर्न कर्णाली प्रदेश खेलकुद परिषद्ले ५० हजार मात्रै बजेट दिएको छ। जबकि खर्च ७२ हजार भएको छ। समितिका एक सदस्यका अनुसार ५० हजारको बजेटमा ४ दिनमा बुद्धिचाल, टेबलटेनिस र भलिबल खेल सम्पन्न गरियो। तर समितिलाई २२ हजार घाटा भयो। ‘यी प्रतियोगिता गराउन डेढ लाख छुट्याइएको थियो। तर हामीलाई ५० हजार मात्रै दिइयो’, ती सदस्यले गुनासो गरे, ‘यहाँ घोटाला भएको छ। छानबिन हुनुपर्छ।’

जिल्ला खेलकुद विकास समितिका अनुसार सल्यानमा खेलाडीलाई भत्ता पनि दिइएन। २३ गतेदेखि २६ गतेसम्म खेल आयोजना गर्ने तालिका थियो। तर, खेलाडीलाई २५ गतेसम्मको मात्रै भत्ता दिइयो। 

‘स्थानीय रेफ्री र खेलाडीलाई भत्ता दिइएन। खेलाडीलाई एक दिनको र रेफ्रीलाई दुई दिनको दिइएन। प्रदेश संयोजकले दिने व्यवस्था नै छैन, कहाँबाट दिने? भन्नुभयो। तर व्यवस्था छ’, ती सदस्यले भने, ‘तालिकाअनुसार फागुन २६ गतेसम्म खेल हुनुपर्ने तर हिजो नै सकिदिए। आज पुरस्कार कार्यक्रम राखे।’ उनका अनुसार सल्यानको पुरुष भलिबलमा द्रोण केसी मुख्य रेफ्रीको समूहमा थिए। तर, उनलाई सहायक रेफ्रीको सुविधा दिइयो।’ 

प्रकाशित: २९ फाल्गुन २०७५ ००:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App