निर्वाचन आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा माघ १७ गतेसम्म जम्मा १ हजार ६७७ वटा जिज्ञासा तथा प्रश्न प्राप्त गरेको बताएको छ ।
आयोगका अनुसार तीमध्ये मतदाता नामावलीसम्बन्धी सबैभन्दा बढी ९०६ वटा जिज्ञासा आएको र निर्वाचन आचारसंहिता सम्बन्धी १३५ वटा, मतदाता शिक्षा सम्बन्धी ६१ वटा र अन्य विषयका ५७५ वटा जिज्ञासा तथा प्रश्न दर्ता भएको आयोगले जनाएको छ ।
साथै निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या, भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाउने व्यक्ति तथा संस्थामाथि निगरानी र कारबाही प्रक्रिया अघि बढाइएको निर्वाचन आयोगले जानकारी दिएको छ।
आयोगले हानिकारक सूचना उत्पादन तथा सम्प्रेषण गरेको आरोपमा १२० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको बताएको छ । त्यसैगरी ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस गरेको छ ।
साथै १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा र निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको ठहर गरिएका ३४ वटालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ।
प्रकाशित: १८ माघ २०८२ १७:५० आइतबार





