२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

एन्फा यु-१६ युथ लिग: तीन क्लबको फराकिलो जित

विभागीय टोली नेपाल पुलिस क्लबसहित संकटा र मच्छिन्द्रले फराकिलो जितसँगै एन्फा यु–१६ युथ लिगको सुरूआत गरेका छन्।

आइतबार सम्पन्न तीन खेलबाट यी तीनै क्लबले फराकिलो जित निकाल्दै एन्फा यु–१६ युथ लिगमा सुखद सुरुआत गरेका हुन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा संकटाले जाउलाखेल युथ क्लबलाई ५–० को फराकिलो अन्तरले हरायो। संकटाको जितमा पेम्बा तमाङले दुई गोल गरे।

प्रजलकुमार लुम्रे, सुमित बलम्पाकी र करण भुलको नाममा समान एक गोल रह्यो। दोस्रो खेलमा मच्छिन्द्रले पनि विभागीय टोली एपिएफमाथि ४–१ को सहज जित निकाल्यो। मच्छिन्द्रका लागि सुमन बम ठकुरी र विकास थापाले समान दुई गोल गरे। एपिएफका पूजन ढकालले सान्त्वना गोल फर्काए।

दिनको अन्तिम खेलमा समीर कुमारको ह्याट्रिकमा पुलिसले एनआरटी एफसीलाई ६–० को फराकिलो अन्तरले हरायो। एनआरटीका लागि प्रसन राई, मनीष बानरेत र रिजनराज गौतमले समान एक गोल थपे। पुलिसले दुवै हाफमा समान तीन गोल गरेको हो। खेलको १३औं मिनेटमा नै समीरले गोल गर्दै अग्रता दिलाए।

३८औं मिनेटमा प्रसनले अग्रता दोब्बर बनाए। पहिलो हाफको थप समयमा समीरले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै पहिलो हाफमा पुलिस ३–० ले अगाडि रह्यो। ६७औं मिनेटमा समीरले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे। ७८औं मिनेटमा मनीष र इन्जुरी समयमा रिजनराजले गोल गरेपछि पुलिसले ६–० को फराकिलो जितसँगै एन्फा यु–१६ युथ लिगमा सुरुआत गरेको छ।

त्यसअघि संकटाले पहिलो हाफमा नै तीन गोल गर्दै जावलाखेलमाथि पूर्ण हाबी भयो। खेलको १५औं मिनेटमा करणले गोल गर्दै अग्रता दिलाए। २४औं मिनेटमा सुमितले संकटाका लागि दोस्रो गोल गरे। ३२औं मिनेटमा प्रजलकुमारले गोल गरेपछि संकटा पहिलो हाफमा ३–० ले अगाडि रह्यो। पेम्बाले ६०औं र ६६औं मिनेटमा व्यक्तिगत दुई गोल गरे। यससँगै संकटाले फराकिलो जितसँगै युथ लिगको सुरुआत गर्‍यो।

दोस्रो खेलमा मच्छिन्द्र एपिएफमाथि पूर्ण हाबी हुँदा दुई खेलाडी विकास र सुमन चम्किए। खेलको चौथो मिनेटमा नै विकासले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि सुमनले २८औं मिनेट र ३२औं मिनेटमा गोल गरे। यससँगै मच्छिन्द्र ३–० ले अगाडि बढ्यो।

दोस्रो हाफमा दुवै तर्फबाट समान एक गोल सम्भव भयो। तर, एपिएफले हार टार्न सकेन। ५४औं मिनेटमा एपिएफका पूजनले गोल गर्दै संकटाको अग्रता छोट्याउने प्रयास गरे। तर, इन्जुरी समयमा विकासले व्यक्तिगत दोस्रो गोल थपे। यससँगै मच्छिन्द्रले एपिएफमाथि ४–१ को सहज जितबाट लिगको सुरुआत गर्‍यो। यसअघि प्लानिङ ब्वाइज, त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दीले यु–१६ युथ लिगको तेस्रो संस्करणमा जित निकालिसकेका छन्। युथ लिगमा शीर्ष डिभिजनका कुल १४ क्लबले प्रतिस्पर्धा गर्दैछन्।

यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लब प्लानिङ ब्वाइज र श्रीभगवतीका साथै सशस्त्र प्रहरी बलको एपिएफ, आर्मी, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दीले यु–१६ युथ लिग खेल्दैछन्।

लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रूपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन्। विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन्।

प्रकाशित: २३ असार २०८२ ०७:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App