क्लब विश्वकपमा हालै मात्र मायमीमा भएको खेल हेरेपछि फुटबलका समर्थक भिक्टोर डुमोइसले अमेरिकाले सहआयोजना गर्ने सन् २०२६ को विश्वकप फुटबलबारे चिन्ता व्यक्त गरेका छन्।
‘कोपा अमेरिकापछि यहाँ अनौठो घटना भएको छ। यहाँ त्यस्ता मानिसहरू पनि छन्, जो अमेरिकामा विश्वकप फुटबल नहोस् भन्ने चाहन्छन्,’ स्पेनका डुमोइसले भने।
गत वर्ष कोपा अमेरिका च्याम्पियनसिपका क्रममा खेल सुरक्षाको दृष्टिले मायमीमा केही घटना घटेको थियो। उक्साहटपूर्ण र टिकट नभएका समर्थकहरू हार्ड रक स्टेडियमभित्र प्रवेश गर्नका लागि ठूला बाधा ताडेर उद्दण्ड मचाएको थियो। हातमा टिकट भएका समर्थक पनि आफ्नो सिटमा बस्न सकेनन्। किनकि उनीहरूको सिट अन्य कसैले ओगटेका थिए। यो अराजकतालाई केहीले अमेरिका विश्व फुटबलको सबैभन्दा ठूला प्रतियोगिता आयोजना गर्न तयार नभएको उदाहरणका रूपमा लिए। यसपल्ट पनि अमेरिकाले प्रचण्ड गर्मीमा नयाँ स्वरूप (पहिलोपल्ट ३२ टोली) को क्लब विश्वकप हुँदै छ।
डुमोइसले यसपल्ट अमेरिकामा सुरक्षा कडा भए पनि नकारात्मक स्तरमा रहेको भन्दै आलोचना गरेका छन्। रियाल मड्रिड र युभेन्ट्सबीच भएको राउन्ड अफ १६ को खेलमा आफूले धेरै कठिनाइ भोग्नुपरेको उल्लेख गरेका छन्। ‘स्पेनमा फुटबल हेर्न जाँदा कहिल्यै यस्तो भोगेको थिइनँ। हामी उबर या ट्याक्सी लिएर स्टेडियममा नै पुग्न सक्छौं। तर, मायमीमा धेरै दुःख भोग्नुपर्छ। यहाँ ट्याक्सीले स्टेडियमभन्दा धेरै टाढा र बाहिर नै छोड्छन्। यहाँ सुरक्षाको धेरै तहहरू पनि पार गर्नुपर्छ, जुन आवश्यकभन्दा बढी नै छ।’

यसै हप्ता क्लब विश्वकपले क्वार्टरफाइनल समीकरण पूरा गरेको छ, जसले गर्दा अमेरिकालाई क्यानडा र मेक्सिकोसँगको संयुक्त रूपमा आयोजना गर्ने सन् २०२६ को विश्वकपका लागि पनि तयार गराएको छ।
आगामी विश्वकपका खेलहरू मायमी, एटलान्टा, बोस्टन, डालास, हस्टन, कानसास सिटी, लस एन्जलस, फिलाडेल्फिया, सान फ्रान्सिस्को र सियाटलजस्ता ठूला सहरमा आयोजना हुँदै छ। अहिलेसम्म क्लब विश्वकपका केही खेलबाहेक धेरै खेलहरूमा दर्शकको राम्रो उपस्थिति देखिएको छैन।
ब्राजिली क्लब फ्लुमिनेन्स र इटालीको इन्टर मिलानबीच भएको राउन्ड अफ १६ को खेल ७५ हजार दर्शक क्षमता रहेको चार्लटमा भएको थियो। तर, उक्त खेलमा २० हजार ३० जना मात्र समर्थक उपस्थित भए। स्टेडियमका अफिसियलहरूले स्टेडियमको माथिल्ला भागको टिकट किनेर बसेका समर्थकलाई तल्लो भागमा आएर बस्न अनुमति दिएका थिए। तलको भाग खाली भएपछि उनीहरूले त्यसो गरेका हुन्।
देशभर भएका खेलहरूमा यस्तै दृश्य देखिएका छन्। यस्तो अवस्था हुनुको कारणहरू के हुन् त ? पहिलो कुरा त, विश्वकप फुटबलजस्तो क्लब विश्वकपको लोकप्रियता खासै छैन। खेलाडीहरू देशबाट भन्दा क्लबका लागि खेल्न आउने भएकाले पनि विश्वभरका मानिस रहेका अमेरिकामा उनीहरू स्टेडयममा नपुगेको हुन सक्छन्। साथै खेल हेर्न र यात्रा गर्न लाग्ने खर्च अत्याधिक भएका कारण पनि समर्थकहरू मैदान नपुगेको हुन सक्ने अनुमान गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासनविरुद्ध कडा नीति अपनाएकाले पनि त्यसको असर विश्वकपमा परेको छ। अमेरिकी आप्रवासन र सीमा सुरक्षाकर्मीले खेलका दौरानमा नै छापा मार्न सक्ने डरले पनि समर्थकहरू खुलेर मैदानसम्म जान सकेका छैनन्।
अत्यन्त्य गर्मीका कारण पनि क्लब विश्वकपमा समर्थक नआएको चर्चा पनि भइरहेको छ। बेन्जामिन क्याब्राल बोस्टनमा बस्छन्, तर उनको परिवार पोर्चुलको स्वायत्तक्षेत्र अजोरेसबाट हो। ‘यदि फिफा अमेरिकामा फुटबलको लोकप्रियता बढाउन चाहन्छ भने, खेलको समय परिवर्तन गर्नुपर्छ। युरोपमा फुटबलको लोकप्रियताकै कारण धेरै क्लब खेलहरू दिउँसोमा खेलिन्छन् ताकि विदेशी प्रशंसकहरूले टिभी वा लाइभस्ट्रिममा राति हेर्न सकून् भनेर यो गरिएको हो,’ उनले भने।
तर, यसको नकारात्मक पक्ष भनेको खेलाडीहरूले ९० डिग्री फरेनहाइट (३२ सेल्सियस) भन्दा बढी तापक्रममा खेल्न बाध्य भएका हुन्, जबकि अमेरिकामा ठूलो गर्मी लहर चलेको छ।
‘यदि उनीहरू अमेरिकामा यस खेललाई बढावा दिन चाहन्छन् भने खेलहरू ढिलो समयमा राख्नुपर्छ,’क्याब्रालले भने, ‘यहाँ खेलाडीहरूका लागि धेरै गर्मी छ।’ प्रशंसकहरूका लागि पनि यो सजिलो छैन। ‘यहाँ छाना छैन, बिग स्क्रिन छैन, केही छैन,‘ मेक्सिकोबाट चार्लट आएका कार्लोस ओल्गिनले भने।
उनी आफ्नो देशको क्लब पाचुका र रियाल मड्रिडको खेल हेर्न आएका थिए। अर्को वर्षको विश्वकप पनि यस्तै समयमा (मध्य जुनदेखि मध्य जुलाईसम्म) हुँदै छ। हालैको क्लब विश्वकपप्रति खासै उत्साह नहुनुले पनि चिन्ताको विषय भनेको छ। ‘सहरले यस आयोजनाका लागि अझ तयारी गर्नुपर्छ। किनभने धेरै मानिसहरूलाई यो आयोजनाबारे थाहा छैन,’ ओल्गिनले थपे, ‘तपाईं रेस्टुरेन्टमा जानुहुन्छ, झन्डा, प्रशंसक वा फुटबलको वातावरण हुने अपेक्षा गर्नुहुन्छ। तर त्यहाँ केही हुँदैन। सहरले यसका लागि अझ तयार हुनुपर्छ।’
क्लब विश्वकपका खेलहरू हेर्न आएका दर्शकहरूले अमेरिकी स्टेडियम र आयोजक सहरबारे मिश्रित प्रतिक्रिया दिएका छन्। १९९४ पछि पहिलोपल्ट अमेरिकाले विश्वकप आयोजना गर्न लागेको छ। ‘म इमान्दार भएर भन्दै छु, अमेरिका विश्वकप आयोजनाका लागि तयार छैन,‘ दक्षिण क्यारोलिनाबाट आएका जेरेमी जुनिगाले भने, ‘दक्षिण अमेरिका, युरोप, सबैतिरबाट धेरै मानिसहरू आउँदै छन्।’
तर, पेरूबाट आएका रोजेरियो बाजोसजस्ता केहीले यसलाई फरक ढंगमा लिएका छन्। ‘मलाई लाग्छ क्लब विश्वकप राम्रो नै भइरहेका छ, हामीलाई कुनै समस्या भएन। मायमीमा क्लब विश्वकपको खेल हेर्न गएका बाजोसले भने, ‘पार्किङमा कुनै समस्या भएन, सुरक्षा पनि राम्रो थियो। यो एक उत्कृष्ट आयोजना हो।’
‘क्लब विश्वकपले अर्को वर्षको विश्वकप सहआयोजक अमेरिकालाई केही समस्याहरू समाधान गर्न मद्दत गर्नेछ,’ मियामीका हम्बर्टो कन्टास्टाले भने। पोर्चुगलबाट चार्लट आएका डेनियल माक्र्सले भने, ‘म समग्रमा यो प्रतियोगिता कसरी सञ्चालन भयो भन्नेमा प्रभावित भएको छु।’
उनी बेनफिका र चेल्सीबीचको समूहचरणको खेल हेर्न मात्र आएका थिए। ब्राजिलियन मूलुकका गिल्हर्मे अल्टोएले पनि अर्को वर्ष राम्रो हुन सहमति जनाए। ब्राजिलमा हुर्किएका र विश्वकप खेल हेरेर ठूला भएका अल्टोएले भने, ‘मलाई लाग्छ अर्को वर्ष गर्मीमा अमेरिकाले राम्रो आयोजना गर्नेछ। उनी लगभग एक दशकअघि अमेरिका सरेका हुन्।’
उनले विश्वकप आयोजना गर्न अमेरिकासँग धेरै कुरा रहेको बताएका छन्। ‘मेरो विचारमा अमेरिकासँग विश्वकप आयोजना गर्न आवश्यक सबै सुविधा छ। पूर्ण आधारभूत संरचना छ,’ उनले भने, ‘त्यसैले हामी उत्साहित छौं कि विभिन्न ठाउँबाट प्रशंसकहरू यहाँ आउनेछन्। परिवारजनहरू साथ आउनेछन् र यो एक रमाइलो समय हुनेछ।’
प्रकाशित: २१ असार २०८२ ०८:०१ शनिबार





