२० पुस २०८२ आइतबार
image/svg+xml
खेल

पार्कर खेलाडी दिनेश सम्मानित

विश्वप्रसिद्ध पार्कर खेलाडी दिनेश सुनार प्रतिष्ठित इन्टरनेसनल नेपाली आर्टिस्ट सोसाइटी (इनास) अमेरिका राष्ट्रिय अवार्ड २०२५ बाट सम्मानित भएका छन्।

इन्टरनेसनल नेपाली आर्टिस्ट सोसाइटी (इनास) अमेरिकाले पार्कर खेलबाट नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको भन्दै दिनेशलाई इनास नेसनल हनर अवार्ड २०२५ बाट सम्मान गरेको हो।

पार्कर क्षेत्रमा उनका उपलब्धिहरू र अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभा प्रवर्धन गर्न यो सम्मानले थप योगदान पुर्‍याउने आयोजकको विश्वास छ। मेरिल्यान्डको रामाडामा भएको कार्यक्रममा इन्टरनेसनल नेपाली आर्टिस्ट सोसाइटी (इनास) अमेरिकाका अध्यक्ष राहुल केसीले उक्त अवार्ड दिएका हुन्। सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने १६ व्यक्तिलाई पनि इनास राष्ट्रिय सम्मान २०२५ प्रदान गरिएको थियो।

नेपाली भाषा, संस्कृति, खेलकुद, व्यवसाय र समाजमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान प्रदान गरिएको हो। उक्त कार्यक्रममा उक्त राज्यका सांसद, कलाकार, खेलकुद व्यक्तित्वहरू, अमेरिकी र युरोपमा बस्ने नेपाली समुदायका सदस्यहरू गरी करिब ६ सयभन्दा बढी अतिथिको उपस्थिति रहेको थियो।

इनास नेसनल हनर इनास अमेरिकाले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो। समाजमा विभिन्न विधाबाट महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूलाई यो अवार्डबाट सम्मान गर्ने गरिन्छ। उनी धेरैवटा गिनिज वर्ल्ड रेकर्ड बनाउने पहिलो नेपाली खेलाडी हुन्। दिनेशले २० वटा गिनिज वल्र्ड रेकर्ड बनाएका छन्।

सन् २०२२ मा सम्पन्न गिनिज वर्ल्ड रेकडर्स डे इभेन्टमा उनी उत्तर अमेरिका क्षेत्रबाट छनोट भएर त्यसमा पनि रेकर्ड बनाउन सफल पहिलो नेपाली खेलाडी हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि दिनेशको क्षमताबारे विशेष स्थान दिएका थिए। उनले नेपालमा जिम्न्यास्टिक र मार्सल आर्ट्समा पनि तीनवटा स्वर्ण पदक जितेका छन्।

अमेरिकी भूमिमा पनि उनले पार्कर प्रशिक्षकका रूपमा युवा सशक्तीकरण, फिटनेस र सांस्कृतिक आदनप्रदानको क्षेत्रमा काम गर्दै आएका छन्। इनास अमेरिकाका अध्यक्ष केसीले दिनेशको उत्कृष्टता, दृढता र प्रभावबारे प्रशंसा गरेका थिए। ‘दिनेशजीले पार्करको क्षेत्रमा नै उत्कृष्टता मात्र दिनु भएको छैन। नेपाली डायस्पोरालाई पनि उहाँले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्नु भएको छ’, उनले भने।  

प्रकाशित: १६ असार २०८२ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App