लगातार तेस्रो जितसहित नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मलेसियामा जारी प्रतियोगिताको आफ्नो तेस्रो खेलमा आइतबार इन्डोनेसियालाई ३७० रनको फराकिलो अन्तरमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । नेपालको जितमा प्रशिद्ध जैसीको १ सय ३२ रन बनाए भने बिपिन शर्माले ६ विकेट लिए ।
नेपालले समूह चरणमा यसअघि सिंगापुर र जापानलाई पराजित गरेको हो । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अब भुटानसँग खेल्नेछ ।
नेपालले दिएको ४२१ रनको उच्च लक्ष्य पछ्याएको इन्डोनेसिया २४ दशमलव ३ ओभरमा ५० रनमा अलआउट भयो ।
इन्डोनेसियालाई सस्तैमा समेट्न बिपिन प्रसाद शर्माले १२ ओभर बलिङ गर्दै २ मेडनसहित मात्र १२ रन दिएर ६ विकेट लिए ।
इन्डोनेसियाका लागि काभिन चड्डाले सर्वाधिक १५ रन बनाए ।
यसअघि नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २० रनको योगफल तयार पारेको थियो । १ सय ३२ रन बनाउने क्रममा प्रशिद्ध जैसीले १ सय १४ बलको सामाना गर्दै १५ चौका र १ छक्का हिर्काएका थिए । रौनक श्रीवास्तवले ८८ र परिमार्जन यादवले ७१ रन बनाए । जोए थापाले ५७ रनको योगदान दिए । सुगम बुढाथोकी ३९ र रोशन साही १० रनमा अविजित रहे ।
प्रकाशित: १५ असार २०८२ १७:५५ आइतबार





