२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

क्लब विश्वकप: मेसीको खराब समय हट्ने मास्चेरानोको विश्वास

इन्टर मायमीका प्रशिक्षक जाभियर मास्चेरानोले क्लब विश्वकपमा लियोनल मेसीको खराब समय आगामी आइतबार पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध हट्ने आशा व्यक्त गरेका छन्।

पोर्टो, पाल्मेइरस र अल अहले रहेको समूह ‘ए’ बाट अप्रत्याशित रूपमा नकआउट चरणमा पुगेको मायमीले भर्खरै युरोपियन च्याम्पियन बनको पिएसजीको चुनौती सामना गर्दै छ। फ्रान्सको राजधानीमा दुई वर्ष बिताएपछि उनी मायमीमा अनुबन्धित भएका हुन्। पिएसजीमा खराब समय रहेपछि उनले मायमी रोजेका थिए।

‘उनी रिसाउँदा राम्रो नै हुन्छ भन्ने हामीले महसुस गरेका छौं। उनी त्यस्ता खेलाडीहरूमध्ये एक हुन्, जसको मस्तिष्कमा कुराहरू खेलिरहँदा केही नयाँ र उत्कृष्ट नतिजा निस्कन्छन्,’ मास्चरानोले भने।

आफ्नो पूर्वटोली पिएसजीविरुद्ध एटलान्टामा हुने खेलमा राम्रो नतिजा आए मेसीको निराशापन पनि हट्ने उनी बताउँछन्।

‘उनी निराश भएको कुरा पुरानो हो। अब नयाँ घटना हुन्छन्। नयाँ वातावरणका साथ उनी तयार हुन्छन् भन्नेमा विश्वस्त छु। हामी उत्कृष्ट खेल प्रदर्शन गर्ने तयारीमा छौं। यदि यो अवसर सदुपयोग गर्नु छ भने उत्कृष्ट खेल खेल्नुको विकल्प हुने छैनन्,’ उनले भनेका छन्।

मेजर लिग सकरको टोली मायमीमा अनुबन्धित भएपछि मेसीले पेरिसमा आफ्ना लागि कठिन दिन रहेको उल्लेख गरेका थिए। ‘त्यहाँ मैले दुई वर्ष बिताएको छु। त्यस ठाउँमा मैले खासै खुसी पाइनँ। खेल र ट्रेनिङका समय हरेक दिन खुसी थिइनँ। त्यहाँ अभ्यस्त हुन गाह्रो भयो,’ मेसीले भनेका थिए। आठपल्ट बालोन डि’अर च्याम्पियन मेसीले यसपल्ट धेरै परिस्कृत टोली पिएसजीविरुद्ध सामना गर्दै छन्। स्पेनिस प्रशिक्षक लुइस इनरिकेले समालेपछि यो टोली धेरै सुधारिएको छ।

इनरिके पनि मायमीमा रहेका धेरै खेलाडीबारे जानकार छन्। किनकि त्यहाँ रहेका धेरै खेलाडीसँग उनले बार्सिलोनामा सँगै काम गरेका थिए। लुइस स्वारेज, सर्जियो बुस्क्वेट, जोडी अल्बा र मास्चेरानो सबै सम्मिलित खेलाडी रहेको बार्सिलोनालाई इनरिकेले नै प्रशिक्षण दिएका थिए। उनकै प्रशिक्षणमा यही टोलीले सन् २०१५ को सिजनमा ती उपाधि भित्र्याएको थियो। ‘मैले धेरै उत्कृष्ट समय बिताएको छु। उनी उत्कृष्ट छन्। उनी एक प्रशिक्षकमा मात्र सीमित छैनन्। उनीसँग कसरी एक समूहलाई व्यवस्थापन गर्ने भन्ने राम्रो क्षमता पनि छ,’ अल्बाले इनरिकेबारे भने। इनरिकेकै प्रशिक्षणमा उनले स्पेनिस राष्ट्रिय टोलीबाट पनि खेलेका थिए।

‘उनलाई नजिकबाट हेर्न म धेरै उत्साहित छु। उनका सबै प्रशिक्षण टोलीसँग पनि भेट्न आतुर छु। म उनीसँग अंकमाल गर्नेछु, जब रेफ्रीले खेलको अन्तिम सिट्ठी फुक्नेछन्,’ इनरिकेले भने,‘उनलाई हराउन पनि प्रयास गर्नेछु।’

पाल्मेइरेसविरुद्ध गोल गर्दै २–२ को बराबरीमा ल्याएका स्वारेजले पनि स्पेनिस प्रशिक्षक इनरिकेको खुलेर नै प्रशंसा गरेका छन्। ‘म र माइस्ट्रो टाबरेजको करियरका लागि उनी महत्त्वपूर्ण प्रशिक्षक हुन्। जे पक्ष उनले हामीलाई सिकाए, त्यसबारे हरेक दिन सुधार पनि गर्‍यौं,’ स्वारेजले विपक्षी टोलीका प्रशिक्षकबारे प्रशंसा पनि गरेका छन्। पहिलोपल्ट प्रशिक्षणका रूपमा मायमी समालेका मास्चेरानोले पिएसजीका प्रशिक्षक आफ्नो राम्रो साथी र परिवारजस्तो रहेको पनि उल्लेख गरेका छन्।

‘फुटबलमा धेरै यादगार क्षण बिताएको छु। अहिले नै यो जिम्मेवारीका लागि म योग्य छैन होला। तर, मेरा लागि यो राम्रो अवसर पनि हो। इनरिकेलाई जहिल्यै म शुभकामना दिन चाहन्छु, तर आइतबारका लागि भने होइन। भाग्य आइतबार मेरो नै पक्षमा हुने आशा छ। तर, उनीसँग मेरो धेरै राम्रो सम्बन्ध छ, उनलाई धेरै प्रशंसा पनि गर्न चाहन्छु,’ मास्चेरानोले भने।  

प्रकाशित: १२ असार २०८२ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App