पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस महिना आयोजना हुने क्लब विश्वकपमा सहभागी नहुने घोषणा गरेका छन्। उनले प्रतियोगितामा सहभागी केही टोलीहरूबाट आएका प्रस्तावहरू अस्वीकार गरेको पुष्टि गरेका हुन्।
४० वर्षीय रोनाल्डोको साउदी अरेबियन क्लब अल-नासरसँगको सम्झौता जुनको अन्त्यमा सकिँदैछ। अल-नासर क्लब विश्वकपका लागि छनोट हुन नसकेपछि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले गत मे महिनामा रोनाल्डो प्रतियोगितामा सहभागी कुनै अर्को टोलीमा सामेल हुन सक्ने सम्भावना औंल्याएका थिए।
तर, रोनाल्डोले स्पष्ट पार्दै भने, ‘म क्लब विश्वकपमा हुने छैन। केही टोलीहरूले मलाई सम्पर्क गरेका थिए। केही प्रस्तावहरू उपयुक्त थिए भने केही थिएनन्, सबै कुरा गर्न सकिँदैन।’
यसअघि मे महिनामा अल-नासरको सिजनको अन्तिम लिग खेलपछि रोनाल्डोले सामाजिक सञ्जालमा ‘यो अध्याय समाप्त भयो’ भनेर पोस्ट गरेका थिए। जसले उनी क्लब छाड्ने तयारीमा रहेको अड्कलबाजी बढाएको थियो। यद्यपि, बीबीसी स्पोर्टका स्रोतहरूले अल-नासर क्लब रोनाल्डोको सम्झौता नवीकरण गर्नमा विश्वस्त रहेको बताएका छन्।
पोर्चुगल र स्पेनबीचको नेसन्स लिग फाइनलअघि बोल्दै रोनाल्डोले आफ्नो भविष्यबारेको निर्णय ‘लगभग अन्तिम’ चरणमा पुगेको बताएका थिए।
म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडेपछि रोनाल्डो सन् २०२३ मा अल-नासरमा अनुबन्धित भएका थिए। उनले क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन्। जसमा गत सिजन मात्र ४१ खेलमा ३५ गोल समावेश छ।
हालै उनले जर्मनीविरुद्धको खेलमा विजयी गोल गर्दै पोर्चुगललाई नेसन्स लिगको फाइनलमा पुर्याएका थिए।
प्रकाशित: २५ जेष्ठ २०८२ १०:०० आइतबार





