आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।
ब्याटर करण केसीको अविश्वसनीय अविजित अर्धशतकीय पारी र अन्तिम बलमा प्राप्त वाइड रनको मद्दतमा नेपालले स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा २९७ रनको विशाल लक्ष्य एक बल बाँकी छँदै पूरा गर्यो।
खेलका नायक बनेका करण केसीले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ६५ रनको विष्फोटक इनिङ खेले।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकासहित ५३ रनको उत्कृष्ट अर्धशतकीय योगदान दिए। उनले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारेका थिए।
मध्यक्रममा गुल्सन झाले ३० बलमा ३ चौका र ३ छक्कासहित ४२ रनको आक्रामक इनिङ खेले भने भीम सार्कीले ४० तथा कप्तान रोहित कुमार पौडेलले ३७ रन जोडे।
एक समय १५२ रनमा २ विकेट गुमाएको नेपालले त्यसपछि लगातार विकेट गुमाउँदा दबाबमा आएको थियो। स्कटल्यान्डका लागि ब्रेण्डन मक्कमलानले ३ तथा माइकल लिस्क र ज्याक जार्भिसले समान २ विकेट लिए।
यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रनको बलियो योगफल खडा गरेको थियो।
उसका लागि चार्ल्स टेयर्सले सर्वाधिक ८० रन बनाए। उनलाई करण केसीले आसिफ शेखमार्फत क्याच आउट गराएका थिए। फेन्ली म्याक्रिथले ५५, कप्तान रिची बेरिङ्टनले ४० तथा म्याथ्यु क्रसले ३९ रनको योगदान दिए।
नेपालको बलिङमा सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे।
प्रकाशित: १९ जेष्ठ २०८२ २३:५८ सोमबार





