ओमानमा अमेरिकी र इरानी अधिकारीहरूबिच अप्रत्यक्ष वार्ता चलिरहेको छ। बढ्दो तनाव र युद्धको डरका बिच यो वार्ता ओमानको राजधानी मस्कटमा भइरहेको हो।
इरानी पक्षबाट विदेशमन्त्री अब्बास अराघचीले वार्ताको नेतृत्व गरिरहेका छन्। उता, अमेरिकी पक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर सहभागी छन्।
वार्ताको मुख्य एजेन्डा इरानको आणविक कार्यक्रम र अमेरिकी प्रतिबन्धहरू हटाउने विषयमा केन्द्रित छ।
यो वार्ता ओमानको मध्यस्थतामा अप्रत्यक्ष रूपमा भइरहेको छ। इरानले आणविक मुद्दा र प्रतिबन्ध फुकुवामा मात्र केन्द्रित राख्न जोड दिएको छ भने अमेरिकाले आणविकबाहेक ब्यालेस्टिक मिसाइल कार्यक्रम, क्षेत्रीय सशस्त्र समूहहरूको समर्थन र अन्य विषयहरू पनि समावेश गर्न चाहन्छ।
दुवै पक्षबिच एजेन्डाको विषयमा मतभेद कायम छ।
यसअघि गत वर्ष पनि ओमानमै यस्तै अप्रत्यक्ष वार्ताहरू भएका थिए। तर जुन महिनामा इजरायलले इरानमाथि आक्रमण गरेपछि १२ दिनको युद्ध भयो।
उक्त युद्धमा अमेरिकाले ‘मिडनाइट ह्यामर’ अपरेसनअन्तर्गत इरानका प्रमुख आणविक केन्द्रहरूमा हमला गरेको थियो। अमेरिकाले इरानको आणविक क्षमतामा ठूलो क्षति पुर्याएको दाबी गर्दै आएको छ। तर इरानले अस्वीकार गर्दै आएको छ।
अहिलेको वार्ता युद्धपछि पहिलो ठूलो कूटनीतिक प्रयास हो। दुवै पक्षले एकअर्कालाई सैन्य कारबाहीको धम्की दिइरहेका छन्। ट्रम्पले सैन्य विकल्प खुला राखेका छन् भने इरानले पनि जवाफ दिन तयार रहेको बताएको छ। तर दुवैले कूटनीति समाधानलाई प्राथमिकता दिइएका छन्।
यो वार्ता जनवरीमा इरानमा भएका ठूला विरोध प्रदर्शनपछि भइरहेको छ। उक्त प्रदर्शनमा सर्वोच्च नेता अली खामेनी सत्ताले दमन गरेर रक्तपात मच्चाएको आरोप छ। अमेरिका र इजरायलले यस्ता प्रदर्शनलाई खामेनी सत्ता परिवर्तनको अवसर ठानेका थिए। तर सफल भएनन्।
वार्ता आज (शुक्रबार) मस्कटमा स्थानीय समय अनुसार बिहान करिब १० बजेदेखि जारी छ। एजेन्सीहरूको सहयोगमा
प्रकाशित: २३ माघ २०८२ १४:२० शुक्रबार





