अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली थाइल्याण्डसँग पराजित भएको छ। थाइल्याण्डको पथुम थानीस्थित थम्मासत स्टेडियममा बुधबार भएको खेलमा नेपाल घरेलु टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो।
पहिलो हाफमा उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै नेपालले फिफा महिला विश्वकप खेलिसकेको बलियो थाइल्याण्डलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो। तर, दोस्रो हाफमा घरेलु टोलीले दुई गोल गर्दै जित सुनिश्चित गर्यो।
खेलको ६०औं मिनेटमा थाइल्याण्डले फ्रिकिकमार्फत अग्रता लिएको थियो। करिब ३५ यार्ड टाढाबाट चाट्चावान रोडथोङले प्रहार गरेको शक्तिशाली फ्रिकिकलाई नेपाली गोलकिपर तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाले रोक्ने प्रयास गरे पनि बल उनको हातमा छुँदै गोलमा परिणत भएको थियो।
त्यसपछि खेलको ७३औं मिनेटमा थाइल्याण्डले अग्रता दोब्बर पार्यो। कप्तान जिरापुरन मोङकोल्डीले सिक्स यार्ड बक्सनजिकबाट गोल गर्दै टोलीको जित पक्का गरिन्। लामो क्रसमार्फत आएको बललाई पिचायतिदा मानोवाङले दिएको पासमा जिरापुरनले सुन्दर फिनिसिङ गरेकी थिइन्।
यो नेपाली महिला टोलीले थाइल्याण्डसँग खेलेको पहिलो मैत्रीपूर्ण खेल हो भने समग्रमा तेस्रो भेट हो। यसअघि महिला एसियन कपमा नेपालले दुई पटक थाइल्याण्डको सामना गरेको थियो।
सन् १९९६ मा ५-० र सन् १९९९ मा पनि सोही नतिजामा नेपाल पराजित भएको थियो।
नेपाली टोली उज्वेकिस्तानमा यही जुन अन्तिम सातादेखि सुरु हुने एएफसी महिला एसियन कप छनोटको तयारीस्वरूप थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको हो।
प्रकाशित: १९ जेष्ठ २०८२ २०:१२ सोमबार





