१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

लाङटाङ ट्रेल रनकाे तयारी पूरा

आगामी शनिबार रसुवामा हुने लाङटाङ ट्रेल रन २०८२ को तयारी पूरा भएको छ ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय र रसुवा नुवाकोट पर्यटन समाजको संयुक्त आयोजनामा आगामी शनिबार लाङटाङ ट्रेल रन आयोजना हुँदै छ। आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत ट्रेल रनको तयारी पूरा भएको जानकारी दिएको हो।

लाङटाङ ट्रेल रनको दूरी ३२ किलोमिटरको छ। यस रेसमा ८५ नेपाली र १५ विदेशी धावकले प्रतिस्पर्धा गर्दै छन्। आइतबार भएको कार्यक्रममा लाङटाङ ट्रेल रनका रेस डाइरेक्टर सुदीप पौडेलले रेसको नीतिनियम र रेस हुने स्थानको भौगोलिक अवस्थाबारे जानकारी दिए। रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले यस प्रतियोगितालाई भव्य र सभ्य रूपमा आयोजना गर्न कुनै कसर बाँकी नराख्ने प्रतिक्रिया व्यक्त गरे।

तीन हजार आठ सय ४० मिटर उचाइमा रहेको क्याजिन गुम्बादेखि स्याफ्रुबेसीसम्म उक्त ट्रेल रन हुने रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष न्यौपानले जानकारी दिए। लाङटाङ क्याजिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले लाङटाङ ट्रेल रन हुँदै छ। रसुवा नुवाकोट पर्यटन समाजले स्थानीय पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित लाङटाङ ट्रेल रन गर्न लागेको हो।

रसुवा र नुवाकोटका पर्यटनकर्मीहरू मिलेर सन् २०१६ मा रसुवा नुवाकोट पर्यटन समाज स्थापना गरेका थिए। जसले स्थानीय पर्यटन प्रवर्धनमा समेत काम गर्दै आएको छ। बागमती प्रदेशकै प्रमुख हिमाली पर्यटन गन्तव्य हो, लाङटाङ। हिमालै हिमालको बीचमा रहेको क्याजिन भ्यालीबाट लाङटाङ ट्रेल रन सुरु गरिँदै छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले ट्रेल रनका लागि सहकार्य गर्ने भएको छ। लाङटाङ क्षेत्रलाई पदयात्राका साथै दौड र म्याराथन गन्तव्यका रूपमा स्थापित गराउन यस ट्रेल रनले सहयोग पुग्ने आयोजकको विश्वास छ।

बागमती प्रदेश पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा रसुवा नुवाकोट पर्यटन समाजले लाङटाङ ट्रेल रन आयोजना गर्न लागेको हो। लाङटाङ ट्रेल रन आयोजनाका लागि करिब ४० लाख रूपैयाँ खर्च अनुमान गरिएको छ। लाङटाङ ट्रेल रनमा महिला र पुरुषको विजेताले छुट्टाछुटै नगद पुरस्कार पाउनेछन्।

पहिलोदेखि पाँचौं स्थानमा रहने खेलाडीले क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। लाङटाङ ट्रेल रनसँगै त्यहाँ पैदलयात्रा पनि हुनेछ। जेठ २० गते स्याफ्रबेसी, दोभानदेखि बम्बुसम्म पैदलयात्रा, जेठ २१ गते बम्बुबाट लाङटाङसम्म पैदलयात्रा, जेठ २२ गते लाङटाङदेखि क्याजिन गुम्बासम्म पैदलयात्रा र जेठ २३ गते क्याजिन गुम्बामा तयारी तथा लेक पचाउने कार्यतालिका छ।

अन्तिम दिन जेठ २४ गते क्याजिन गुम्बाबाट स्याफ्रुबेसीसम्म दौड प्रतियोगिता हुने भएको छ। २०७२ सालको भूकम्प र कोभिड–१९ का कारण लाङटाङको पर्यटन निकै प्रभावित भएको थियो। त्यसैले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लाङटाङ ट्रेल रन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित: १९ जेष्ठ २०८२ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App