नेपाली फुटबलको स्वर्णिम युगको कथासँगै घटनाक्रम र अवस्था समेटिएको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण भएको छ।
‘स्वर्णकथा नेपाली फुटबलको’ लेखक खेलकुद पत्रकार हिमेशरत्न वज्राचार्य हुन्। साढे दुई दशक नेपाली खेलकुदमा कलम चलाउँदै आएका पत्रकार हिमेशले नेपाली फुटबलको घटनाक्रम र अवस्थाका साथै सफलता पुस्तकमा उतारेका छन्।
नेपाली फुटबलका लिजेन्ड एवम् स्वर्णयुगका महत्त्वपूर्ण सदस्य राजुकाजी शाक्यले आइतबार उक्त पुस्तक विमोचन गरे। नेपालले सन् १९८४ र १९९३ मा दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा शाक्य टोलीका महत्त्वपूर्ण सदस्य थिए।
लोकार्पण कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) अध्यक्ष नीरञ्जन अधिकारी, पूर्वअध्यक्ष अजय फुयाल, १३औं सागमा स्वर्ण विजेता एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, वरिष्ठ पत्रकार युवराज घिमिरे, पुस्तक प्रकाशक बुकहिलका भूपेन्द्र खड्का र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिलगायत उपस्थित थिए।
सो अवसरमा एन्फाका महासचिव राईले यो पुस्तक पढेपछि पहिले र अहिलेको फुटबलको अन्तर बुझेको बताए। उनले पुस्तक पढेपछि नेपाली फुटबलका धेरै कुरा आफूलाई थाहा भएको उल्लेख गरे। त्यसैले पनि नयाँ, पुराना खेलाडी मात्र होइन सबैले फुटबलको इतिहास बुझ्न स्वर्णकथा नेपाली फुटबलको पढ्नै पर्ने उनको भनाइ छ।
नेपाली फुटबलको सुरुआती समयसहित नेपालले सागमा दुईपल्ट स्वर्ण पदक जित्दाको इतिहासका विषय पुस्तकमा समावेश गरिएको छ। नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो भए पनि अहिलेसम्म फुटबल इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन। फुटबललाई आफ्नो पहिलो प्रेम मान्ने लेखक वज्राचार्यले यो पुस्तक प्रकाशित गर्नु आफ्नो सपना रहेको र त्यो अहिले पूरा भएको बताए।
ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले खेलकुदमा अध्ययन र साहित्य पनि चाहिन्छ र यस पुस्तकले यसको सुरुआत गरेको बताइन्। उनले सय वर्षअघि देखिको इतिहासलाई संग्रह गरेर पुस्तकको आकार दिने हिमेशरत्न वज्राचार्यलाई खेलसाहित्यका रत्न भनिन्।
यस पुस्तककै प्रेरणा लिएर उनले भविष्यमा आफू पनि आफ्नो खेलसंस्मरण लेख्ने योजना सुनाइन्। एनएसजेएफका अध्यक्ष अधिकारीले नेपाली खेलकुदमा लेखेका पुस्तक खासै नभेटिएको अवस्थामा फुटबल मन पराउनेहरूका लागि यो दस्तावेजसहितको सुन्दर उपहार भएको धारणा राखे। एनएसजेएफका पूर्वअध्यक्ष अजय फुयालले नेपाललाई फुटबलले खुसी बनाउने कालखण्डलाई जीवन्त राख्ने काम गरेकामा लेखक वज्राचार्यलाई धन्यवाद दिए।
वरिष्ठ पत्रकार युवराज घिमिरेले खेलकुदले कुनै पनि देशको समृद्धि देखाउने र यस्ता पुस्तक त्यसका लागि सहायक हुने धारणा राखे। प्रकाशक भूपेन्द्र खड्काले फुटबलको पहिलो पुस्तकमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे।
प्रकाशित: १९ जेष्ठ २०८२ ०७:३५ सोमबार





