कर्णाली प्रदेशको प्रख्यात मानिने पर्यटकीय स्थल रारातालमा गरिएको पाँचौ रारा ट्रेल रनको उपाधि जुम्लाका सुनमाया बुढा र युवराज बुढाले जितेका छन्।
महिला तर्फ जुम्लाको पातारासी गाउँपालिका २ दुर्गम पेरे गाउँकि सुनमाया र पुरुषतर्फ कनकासुन्दरी गाउँपालिका ३ लुमका युवकराजले जितेका हुन्।
महिलातर्फ सुनमायाले १६ किलोमिटर दूरी १ घण्टा २४ मिनेट १८ सेकेन्डमा पार गरिन् । पातारासी– २ कै कल्पना बुढाले १ घण्टा २५ मिनेट ३५ सेकेन्डमा दूरी पार गरेर द्वितीय स्थान पक्का गरिन् । जुम्लाकै गुठिचौर गाउँपालिका–३ की राज्यलक्ष्मी रावलले १ घण्टा २५ मिनेट ४६ सेकेन्ड लगाएर तेस्रो स्थान हासिल गरेकी हुन् ।
महिलातर्फ ३८ र पुरुषतर्फ १७५ धावकले भाग लिएका थिए । विजेता सबै खेलाडी जुम्लाका हुन् ।
पाँच वर्षदेखि नेपाली सेनाले रारातालको सौन्दर्यता उजागार गर्न रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । यो पटक सेनाको हनुमानध्वज गुल्मले रारा ट्रेल रनको आयोजना गरेको थियो ।
यस्तै पुरुषतर्फ युवकराजले १६ किलोमिटरको दूरी १ घण्टा १२ मिनेट १८ सेकेन्डमा पार गरेर उपाधि जिते। कनकासुन्दरी १ कै सोमबहादुर रावतले १ घण्टा १४ मिनेट १९ सेकेन्डमा सो दूरी पार गरेर दोस्रो स्थान हासिल गरे । कनकासुन्दरी–२ जुम्लाकै चन्द्र रावतले १ घण्टा १४ मिनेट ४४ सेकेन्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।
ट्रेल रनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई क्रमशः जनही ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र दिइएको छ।
ट्रेल रनमा मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, सेनाका उत्तर पश्चिम पृतना उपरथी अनुपजंग थापा, सहायक रथी सञ्जय देउजा, गुल्मपति खीमबहादुर अधिकारीलगायत सहभागी थिए ।स्वर्गकी अप्सरा रारालाई खेल र पर्यटनका माध्यमबाट चिनाउन प्रत्येक वर्ष ट्रेल रनको आयोजना भइरहेको छ । रेसले पर्यटन प्रवर्द्धन र प्रचारप्रसार र ‘खेलाडीको उत्पादन गरिरहेको छ ।’
प्रकाशित: ९ जेष्ठ २०८२ १८:०७ शुक्रबार





