नेपालका तीन खेलाडीले भारतमा हुने युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
आगामी मे २१ देखि २६ सम्म भारतको नयाँ दिल्लीमा कुस्ती एलिस च्याम्पियनसिप हुँदैछ । सोही च्याम्पियनसिपका लागि तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।
यस प्रतियोगितामा तीन पुरुष खेलाडीले नेपालका तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव छन् । तीनै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टोलीको तयारी विशेष प्रशिक्षणमा पनि छन् । प्रशिक्षकमा मुम्ताज अली इद्रिसी छन् ।
प्रतियोगिताका दौरान दक्षिण एसियाली कुस्ती महासंघको बैठकमा सहभागी हुन राखेपका सदस्यसमेत रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी पनि टोलीसँगै भारत जानेछन् । राखेपका सदस्यसचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै मंगलबार बिदाइ गरेका थिए ।
प्रकाशित: ६ जेष्ठ २०८२ २०:३९ मंगलबार





-600x400.jpg)