भारतीय स्टार क्रिकेटर रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। एकवर्षअघि टि–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका रोहितले बुधबार टेस्ट क्रिकेटलाई पनि अलविदा गरेको घोषणा गरेका छन्।
‘बस यो बताउन चाहन्छु कि, म टेस्ट क्रिकेटबाट सन्यास लिइरहेको छु,’ इन्स्टाग्राममा स्टोरी राख्दै रोहितले भनेका छन्, ‘सफेद जर्सीमा आफ्नो देशको प्रतिनिधित्व गर्नु मेरा लागि धेरै सम्मानको कुरा थियो। यत्रो वर्षमा पाइएको प्यार र समर्थनका लागि तपाईँ सबैलाई धन्यवाद।’
तर, अन्तर्राष्ट्रिय एकदिवसीयमा भने खेल जारी राख्ने पनि उनले बताएका छन्। ‘म वान–डे फरम्याटमा भने भारतका लागि खेल जारी राख्नेछु,’ रोहितले भनेका छन्।
रोहितको कप्तानीमा सन् २०२४ को टि–२० विश्वकप भारतले जितेको थियो। जितलगत्तै उनले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए।
अहिले टेस्टबाट सन्यास लिनुअघि रोहितले ६७ टेस्ट खेलका ११६ इनिङमा ४०.५७ को औसतमा ४हजार ३०१ रन बनाएका छन्। जसमा १२ शतक र १८ अर्धशतक सामेल छन्।
रोहितले अन्तर्राष्ट्रिय एकदिवसीयबाट सन्यास नलिनुका पछाडि सन् २०२७ को विश्वकप क्रिकेटलाई लिइएको छ। भारतले पछिल्लो पटक एकदिवसीय विश्वकप सन् २०११ मा जितेको थियो। रोहित त्यो विजेता टिमको हिस्सा थिएनन्।
सन् २०२३ को विश्वकपमा रोहितकै कप्तानीमा भारत फाइनलसम्म पुगेको थियो। जहाँ अस्ट्रेलियासँग पराजित हुनपुग्यो।
त्यसपछि भएको टि–२० विश्वकप भने आफ्नै नेतृत्वमा जिताएका रोहितले त्यसपछि च्याम्पियन्स ट्रफीमा पनि भारतलाई जित दिलाएका छन्।

अब उनको नजर एकदिवसीय विश्वकपमा हुने छ। जुन सन् २०२७ मा हुने छ।
अभावको बालापन र एक स्कुल म्याचले बदलेको करिअर
सन् १९९९ मा भारतीय क्रिकेट टिमले इग्ल्यान्डमा विश्वकप क्रिकेट खेलिरहँदा रोहित १२ वर्षका थिए। त्यहीबेला मुम्बईको बोरिबलीमा बस्ने रोहितका परिवार र उनका बुबाले केही रकमको जोहो गरेर उनलाई क्रिकेट क्याम्पमा पठाएका थिए।
एक सामान्य कम्पनीमा जागिर गर्ने उनका बुबाको तलब निकै कम थियो। रोहित त्यो बेला आफ्ना बाजे र काकाको घरमा बस्थे, त्यहाँ पनि उनी चर्को अभावबाट गुज्रिएका थिए।
त्यही बेला एक स्कुल स्तरीय खेलले रोहितको जीवनले अर्को स्वरुप लिन थालेको हो।
बोरिबलीको स्वामी विवेकानन्द इन्टरनेसनल स्कुलविरुद्ध भएको एक खेलमा रोहित खेलेका थिए। जब विवेकानन्द स्कुलका प्रशिक्षक दिनेश लाडले रोहितको खेल देख अनि स्कुल मालिक योगेश पटेललाई रोहितलाई स्कलरसिप(छात्रवृत्ति) दिएर आफ्नो स्कुलमा भर्ना लिन सिफारिस गरेका थिए।
‘हाम्रा कोचले यो केटामा क्रिकेटका निकै ठुलो कला छ। तर यसको परिवारले हाम्रो स्कुलको २७५ रुपैयाँ महिनाको शुल्क दिन सक्दैन। यसैले यसलाई स्कलरसिप दिनुस भनेर भन्नुभएको थियो,’ एक अन्तर्वार्तामा उक्त स्कुलका मालिक योगेश पटेलले भनेका छन्,‘मलाई खुसी छ, हामीले एउटा ठुलो फैसला गरेका थियौँ। रोहित भारतीय कप्तान छन्। हाम्रा कोचको सुझाव सही थियो।’
यो कुरा स्वयं रोहितले पनि स्वीकारेका छन्। क्रिकइन्फोलाई दिएको एक अन्तर्वार्तामा रोहितले भनेका छन्, ‘कोच चाहन्थे, म विवेकानन्द स्कुलमा भर्ना भएर क्रिकेट खेल्न सुरु गरूँ। तर, मसँग पैसा थिएन। उहाँले मलाई स्कलरसिप दिलाउनुभयो। चार वर्ष निशुल्क पढाई र खेल्ने मौका मिलाइदिनुभयो।’
विवेकानन्द स्कुलमा भर्ना भएको केही महिनाभित्रै एक खेलमा रोहितले १४० रनको इनिङ खेले। त्यसपछि उनको मुम्बईका स्कुल, मैदान र क्रिकेट समीक्षकमाझ राम्रै चर्चा भयो।
मुम्बईको शिवाजी पार्कमा क्रिकेट सिक्दै कुनै समय सचिन तेन्दुलकर, विनोद काम्बलीदेखि प्रवीण आमरेसम्मका पात्र चर्चित खेलाडी बनेका थिए। त्यसपछि त्यही रोहितले मौका पाए।
रोहित पहिलो टि–२० विश्वकप २००७ भारतले जित्दा त्यसको हिस्सा थिए। सोही वर्ष उनले आयरल्यान्डविरुद्धको एकदिवसीय खेलमा उनले डेब्यू गरेका थिए।
सन् २०११÷१२पछि भने भारतीय क्रिकेटमा रोहितको वास्तविक युग सुरु भएको मानिन्छ। उनले टेस्ट, एकदिवसीय र टि–२० सबै फरम्याटका क्रिकेटमा भारतको नेतृत्व गरेका छन्। यस्तै विश्व चर्चित इन्डियन प्रिमियर लिग(आइपिएल)मा ५ पटक मुम्बई इन्डियन्सलाई च्याम्पियन बनाएका छन्।
बिबिसी हिन्दीबाट
प्रकाशित: २५ वैशाख २०८२ १२:२६ बिहीबार





