११ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

आर्मी राष्ट्रिय महिला हक्की च्याम्पियन

अपराजित रहँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सोमबार राष्ट्रिय महिला हक्की प्रतियोगितामा च्याम्पियन भएको छ।

ललितपुरस्थित च्यासल फुटबल मैदानमा भएको लिगको निर्णायक खेलमा सोमबार आर्मीले गण्डकी प्रदेशलाई ३–० ले हराउँदै उपाधि उचाल्यो। यससँगै सिंगल राउन्ड रोबिन लिगको आधारमा सम्पन्न महिलातर्फको प्रतियोगितामा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन भएको हो। महिलातर्फ चार टोलीले प्रतिस्पर्धा गरेका थिए।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा अपराजित आर्मीले सर्वाधिक ९ अंक जोड्यो। सोमबारको खेल आर्मी र गण्डकी दुवैको लागि महत्त्वपूर्ण थियो। जितले दुवै टोली विजेता बन्ने सम्भावना थियो। तर, फाइनलसरहको खेलमा आर्मीले गण्डकीमाथि सहज जित निकाल्यो। आर्मीका दमरा भट्टले दुई तथा सीतामाया बलले एक गोल गरे।

तीनै गोल पहिलो हाफमा सम्भव भएको हो। ८ मिनेटभित्र नै आर्मीले तीन गोल गर्दै गण्डकीलाई दबामा राख्यो। खेलको २२औं मिनेटमा दमराले गोल गर्दै अग्रता दिलाइन्।

६ मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल थपिन्। ३०औं मिनेटमा सीतामायाले आर्मीको तेस्रो गोल गर्दै सहज अग्रता दिलाइन्। त्यसपछि पहिलो हाफमा आर्मी पूर्ण रूपमा हाबी देखियो। तर, दोस्रो हाफमा पनि गण्डकीले गोल फर्काउन सकेन र आर्मीले जित निकाल्यो। दमरा फाइनलको प्लेयर अफ द म्याच बनिन्। यससँगै गण्डकी ६ अंकसहित लिगको दोस्रो स्थानमा रह्यो। गण्डकीले दुई जित र एक हार बेहो¥यो। मधेस प्रदेश ३ अंकका साथ तेस्रो भयो। मधेसले बागमती प्रदेशलाई १–० गोलले हरायो।

भावना राईले निर्णायक गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा सकियो। तर, दोस्रो हाफमा मधेसले सुरुमै अग्रता लियो। भावनाले ३४औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। त्यसपछि दुवै तर्फबाट गोल भएन र मधेसले साँघुरो जित निकाल्यो।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे। आर्मीकी नीलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन्। मधेसकी खुश्बुकुमारी उदीयमान खेलाडी बनिन्। गोलकिपरमा अनिशा थापामगर तथा डिफेन्समा सोनु बराल उत्कृष्ट ठहरिए। दुवै गण्डकीका खेलाडी हुन्।

आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन्। उनले ५ गोल गरिन्। उत्कृष्ट पाँचैले जनही पाँच हजार नगद पुरस्कार प्राप्त गरे। विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असीम शर्मालगायतले कार्यक्रमबीच पुरस्कृत गरे।

पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा

राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सोमबार सेमिफाइनल समीकरण पूरा भएको छ।

मंगलबार हुने सेमिफाइनलमा आर्मीको भेट अर्को नवप्रवेशी विभागीय टोली एपिएफ क्लबसँग हुनेछ भने गण्डकीले नेपाल पुलिस क्लबसँग खेल्नेछ। समूह ‘ए’ को विजेता आर्मीले समूह ‘बी’ को उपविजेता एपिएफ तथा समूह ‘बी’ को विजेता पुलिसले समूह ‘ए’ को उपविजेता गण्डकीसँग खेल्न लागेका हुन्।

सोमबार पुलिसले बागमतीमाथि २–० गोलको जित निकाल्यो। दुवै गोल प्लेयर अफ द म्याच शंकर घर्तीमगरले गरे। अर्को खेलमा सरोजकुमार गोलेको निर्णायक गोलमा एपिएफले कर्णाली प्रदेशलाई १–० गोलले हरायो। सरोज नै प्लेयर अफ द म्याच बने। शीर्ष दुई स्थानमा रहेर सेमिफाइनलमा पुग्न कर्णालीलाई बराबरीको नतिजा पनि पर्याप्त थियो। तर, सफलता पाउन भने सकेन।

सोमबारको खेलअघि समूह ‘ए’ बाट एपिएफ, बागमती र कर्णाली तीनै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना थियो। पुलिस भने शतप्रतिशत नतिजासहित सेमिफाइनल पुग्न चाहन्थ्यो। तर, पुलिस र एपिएफले मात्र सफलता पाए।

समान तीन खेलबाट पुलिसले ९ अंक र एपिएफले चार अंक बटुले। त्यति नै खेलबाट कर्णालीले तीन अंक र बागमतीले एक अंक बटुले। अर्को समूह ‘बी’ बाट आर्मी आइतबार नै शतप्रतिशत जितसहित विजेता हुँदै सेमिफाइनलमा पुगिसकेको थियो। समूह उपविजेता बन्ने दौडमा गण्डकी र कोसी थिए।

तीन खेल खेलिसकेको कोसीको चार अंक थियो भने गण्डकी लिगको अन्तिम खेलमा मधेसविरुद्धको जितको प्रतीक्षामा थियो। सोमबार गण्डकीले मधेसलाई ३–० गोलले पाखा लागायो।

गण्डकीका दीपक तामाङले २ तथा कुशल नेपालीले एक गोल गरे। तर, यो जितपछि गण्डकीको पनि कोसीसँगै समान चार अंक भयो। तर, गोलअन्तरको आधारमा गण्डकी समूह उपविजेता भयो। गण्डकीले कोसीलाई एक गोलअन्तरमा पछि पार्दै नकआउटको यात्रा तय गरेको हो।  

प्रकाशित: २३ वैशाख २०८२ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App