१४ पुस २०८२ सोमबार
image/svg+xml
खेल

पाटन उच्च अदालतले भन्यो : सिंह नेतृत्वको ललितपुर बक्सिङ वैध

उच्च अदालत पाटनले महेश सिंह नेतृत्वको ललितपुर जिल्ला बक्सिङ संघलाई वैधानिक मान्यता दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आइतबार सिंह अध्यक्ष रहेको ललितपुर जिल्ला बक्सिङ संघलाई वैधानिक मान्यता दिएको हो। उक्त इजलासले अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। 

ललितपुर जिल्ला बक्सिङ संघको गत वर्ष असार १५ गते सम्पन्न चौथो अधिवेशनले सिंहको नेतृत्वमा चार वर्षका लागि १३ सदस्यीय कार्यसमिति गठन गरेको थियो। नेपाल बक्सिङ संघको स्वीकृति र ललितपुर जिल्ला खेलकुद विकास समितिको प्रतिनिधित्वसहित उक्त अधिवेशन भएको थियो। तर, ललितपुर जिल्ला खेलकुद विकास समितिले १० महिना नै नबित्दै अर्को जिल्ला बक्सिङ संघ खडा गरेपछि सिंह नेतृत्व अदालतमा पुगेको हो। 

जिल्ला खेलकुदले नै राजनीति पूर्वाग्रह राख्दै गत चैत ९ गते फेरि पाँचौं साधारणसभा भन्दै ललितपुर जिल्ला बक्सिङ खडा गरेको हो। ओमनारायण श्रेष्ठको अध्यक्षमा ११ सदस्यीय अर्को ललितपुर जिल्ला बक्सिङ संघ गठन भएको थियो। ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनकै प्रमुख आतिथ्यमा अर्को समिति गठन भएको हो। 

त्यसअघि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोदकै प्रमुख आतिथ्यमा पनि महेश सिंह नेतृत्वको जिल्ला बक्सिङ संघ गठन भएको थियो। ललितपुर जिल्लाकै खेल निकायले त्यस्तो कार्य गरेपछि अदालतसम्म मुद्दा पुगेको हो। ललितपुर जिल्ला खेलकुद विकास समितिले ओमनारायण श्रेष्ठको अध्यक्षतामा रहेको बक्सिङ संघलाई चैत ११ गते प्रमाणपत्र प्रदान गरेको थियो। साथै यसको बोधार्थ बागमती प्रदेश खेलकुद विकास परिषद्मा पठाएको थियो। 

त्यसपछि आफूलाई वैधानिक भन्दै उक्त ओमनारायण श्रेष्ठ नेतृत्वको संघ क्रियाशील हुन पुगेको थियो। तर, सिंह नेतृत्वको बक्सिङ संघले नै वैधानिकता पाउनुपर्ने भन्दै ललितपुर जिल्ला बक्सिङ संघका सचिव श्यामकाजी अवालेले गत चैत २७ गते मुद्दा दायर गरेका थिए। त्यसको भोलिपल्ट नै कुनै पनि कामकारबाही नगर्नू नगराउनू भन्दै जिल्ला खेलकुद विकास समिति ललितपुर र बागमती प्रदेश खेलकुद परिषद्लाई विपक्षी बनाई अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। आइतबार नै उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले त्यो आदेशलाई निरन्तरता दिएको हो।

प्रकाशित: १६ वैशाख २०८२ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App