प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा बोल्दै सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन्।
त्यसैगरी सांसद सुशान्त वैदिकले निर्मण सुरु गरिएका प्युठानका सडक अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । उनले चट्याङबाट बच्न प्रतिरोधी टावर बनाउनुपर्ने माग गरेका छन्।
सांसद सुष्मा स्वर्णकारले विद्युत सेवा अधिकार भएकाले विद्युत आपूर्तिमा अवरोध नगर्न माग गरेकी छिन्। त्यसैगरी सांसद सुहाङ नेम्वाङले वर्षा सुरु हुन लागेपछि इलामका सडक भत्कने गरेकाले सुधार गर्न माग गरेका छन्। उनले इलाममा अलपत्र रहेका पुल नबन्दा समस्या भएकाले छिटो निर्माण गरी जनतालाई निर्धक्क बनाउनुपर्ने बताएका छन्।
सांसद सोम शर्माले गत भदौ २३ गते किन गोली चलाइयो, सोको तथ्यगत र वास्तविक अध्ययन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छिन्। सांसद स्मृति चौधरीले युवाले भविष्य गुमाइरहेकाले विदेश पलायन रोक्ने गरी नीति सरकारले निर्माण गरिनुपर्ने माग गरेकी छिन्।
सांसद हरिनादेवी कामीले डडेल्धुरामा बग्ने रङ्गुन खोलाले खेतीयोग्य जमिन कटान गरिरहेकाले तटबन्ध निर्माण गर्न माग गरेकी छिन्। त्यसैगरी सांसद हरिप्रसाद भुसालले नेपाली सञ्चारजगतले चेतना जगाउने गरेका भन्दै स्वतन्त्र प्रेसको सुदृढीकरणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न माग गरेकी छिन्।
सांसद क्षितिज थेवेले सुकेटार विमानस्थल कालोपत्र भए पनि विमान नगएको भन्दै ५० वर्षदेखि जनताका सपना पूरा नभएको बताइन्। ताप्लेजुङका विभिन्न स्थानमा सडक र पुलको अवस्था नाजुक भएकाले समाधान गर्नुपर्ने बताएका हुन्। सांसद ज्ञानेन्द्रसिंह महताले क्रिकेट खेलाडीलाई कञ्चनपुरमा मैदान नभएकाले आधुनिक खेलमैदान तत्काल निर्माण गर्न माग गरेका छन्।
सांसद हरिमोहन भण्डारीले वैदेशिक रोजगारमा गएकाको निधन हुँदा श्रम मन्त्रालयले चासो नलिँदा शव ल्याउने काम प्रभावित भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।
प्रकाशित: ७ जेष्ठ २०८३ १५:३४ बिहीबार





