नर्सिङ तथा पेसागत सुरक्षाको माग गर्दै बिहीबारदेखि आमरण अनसनमा बसेकी नर्सिङ अभियन्ता ज्योति रानाभाटको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ।
नेपाल काउन्सिल परिषद्को हातामा आमरण अनशन बसेकी रानाभाटको स्वास्थ्यमा रक्तचाप कम हुँदै गएको र बोल्न पनि कठिन भएको डा. लक्ष्मी तामाङले बताइन्।
‘बोल्न पनि कठिन भइरहेको छ, प्रेसर लो हुन थालेको छ, उनको स्वास्थ्यको निगरानी भइरहेको छ,’उनले भनिन्।
जायज माग लिएर अनशनमा बसेकी रानाभाटको विषयमा नर्सिङ परिषद्ले समेत बेवास्ता गरेको अर्की नर्सिङ अभियन्ता कल्पना रिजालले बताइन्।
‘परिषद्कै हातामा अनशन छ, परिषद्को अध्यक्ष पनि आउनु भएको थियो। यस्तो बेलामा नबसेको भए हुन्थ्यो भनेर जानु भयो’ उनले भनिन्।
गत वर्ष असोजमा तेस्रो चरणको नर्सिङ आन्दोलनमा सरकारले माग पुरा गर्ने सम्झौता गरे पनि नयाँ सरकारपछि माग सम्बोधन नभएपछि पुनः आन्दोलनमा उत्रिन बाध्य भएको रिजालले बताइन्। माग समयमै पुरा नभए शनिबारदेखि सबै अस्पतालहरूले नर्सिङ सेवा बन्द गर्ने चेतावनी दिइन्।
अभियन्ता रानाभाटले बिहीबारदेखि १५ बुँदे मागसहित अनशनमा सुरु गरेकी हुन्। नर्सिङ तथा मिडवाइफ्री सेवाको सुधारको लागि उनले विभिन्न माग राखेकी छिन्।
उनले नर्सिङ तथा मिडवाइफ्री सेवाको सुदृढीकरण, बिरामी सुरक्षाको सुनिश्चितता तथा नीतिगत सुधारमा सरकारले प्रभावकारी पहल नगरेको आरोप लगाइकी छिन्। पर्याप्त नर्सिङ दरबन्दी सिर्जना गर्ने, रानाभाटले न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने, ठेक्का तथा करार प्रणाली अन्त्य गर्ने, नर्सिङ शिक्षाको गुणस्तर सुधार गर्ने, विभेदकारी कानुनी व्यवस्थाको अन्त्य गर्नु पर्ने लगायत माग राखेकी छिन्।
न्यून सेवा–सुविधा र सुरक्षित कार्य वातावरणको अभावका कारण दक्ष नर्स तथा मिडवाइफ विदेश पलायन भइरहेकाले त्यसले देशको स्वास्थ्य प्रणालीमा गम्भीर असर परेको बताउँदै मिडवाइफ्री र नर्सिङ पेसामा देखा आवश्यक सुधार गर्न सरकारसँग तत्काल माग गरेकी छिन्।
उनले सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सबै नर्स र मिडवाइफलाई सरकारले तोकेअनुसारको सेवा–सुविधा उपलब्ध गराउन, वैज्ञानिक बिरामी–नर्स अनुपातका आधारमा दरबन्दी कायम गर्न तथा नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन यथाशीघ्र निर्माण गर्नुपर्ने लगायत माग राखेकी छिन्।
प्रकाशित: १५ श्रावण २०८३ १७:१५ शुक्रबार





