२१ माघ २०८२ बुधबार
image/svg+xml
खेल

डिफेन्डिङ च्याम्पियन ललितपुर फाइनलमा

नेपाल सुपर लिग

गत संस्करणको फाइनलजस्तै झल्को दिने खेलमा शनिबार ललितपुर सिटी एफसीले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई स्तब्ध बनाउँदै नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पनि उपाधि भिडन्त तय गरेको छ।

१० खेलाडीमा सीमित भए पनि ललितपुर सिटीले उत्कृष्ट प्रदर्शन गर्दै धनगढीमाथि २–१ को जित निकालेको हो। खेल समाप्त भएपछि तनावपूर्ण बनेको खेलमा तीन खेलाडीले रातो कार्ड सामना गरेका थिए। यद्यपि, खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो।

उक्त खेलमा ललितपुरको जितमा केर्भेन्स बेलफोर्ट र पापा केबेले गोल गरे। सिटी फुकेपछि धनगढीका काइसेडोसँग विवादमा उत्रँदा पापाले पनि रातो कार्ड सामना गरेका थिए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन ललितपुर खेलको १७औं मिनेटमा नै १० खेलाडीमा सीमित भएको थियो। तर, एक खेलाडी कम भए पनि ललितपुर उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेर लगातार दोस्रोपल्ट फाइनलमा पुग्यो।

दुईपल्टको उपविजेता धनगढीका लागि जर्जप्रिन्स कार्कीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे। तर, ११ मिनेट समालिन नसक्दा हार बेहोर्न बाध्य भयो। अब धनगढीले दोस्रो क्वालिफायरमा इलिमिनेटरका विजेता (एफसी चितवन र पोखराबीच) सँग खेल्नेछ। लगातार दोस्रो भेटमा ललितपुरले धनगढीलाई हरायो।

गत संस्करणको फाइनलमा पनि ललितपुरले धनगढीलाई नै ३–२ ले हराउँदै उपाधि जितेको थियो। तेस्रो सिजनमा पनि सो नतिजा जारी राख्यो। खेल सकिएलगत्तै तनावूर्ण खेलमा धनगढीका काइसेडो र पापा केबेबीच झडप हुँदा दुवैले रातो कार्ड पाए। रेफ्री मैदान छाड्ने क्रममा ललितपुरका कप्तान अनन्त तामाङ पनि विवादमा उत्रिएपछि उनले पनि पहेंलो कार्ड सामना गरे।

त्यसअघि खेलको छैटौं मिनेटमा ललितपुरका केर्भेन्स बेलफोर्टले पेनाल्टी बक्सबाहिरबाट हानेको प्रहार धनगढीका गोलकिपर वालिद बिरौउले सहजै नियन्त्रणमा लिए। १७औं मिनेटमा मणिकुमार लामा रातो कार्ड सामना गर्दै बाहिरिएपछि ललितपुर १० खेलाडीमा सीमित भयो। धनगढीका मोहम्मद अल जेलाई फाउल गरेपछि मणिले रातो कार्ड सामना गरेका हुन्। रेफ्री उमेश बिडारीले मोहम्मदलाई पनि पहेँलो कार्ड देखाए।

२७औं मिनेटमा कृतीशरत्नु छुन्जुले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेनन्। दुई डिफेन्डर बिट गर्दै नजिकैबाट उनको प्रहार अकासिन पुग्यो। ४१औं मिनेटमा अहमद हिजाजीले करिब १० यार्डबाट गरेको वान टच प्रहार पोस्टको दिशामा रहन सकेन।

पहिलो हाफको थप समयमा बेलफोर्टले पेनाल्टी बक्सबाहिरबाट हानेको सशक्त प्रहार दोस्रो बारनजिकैबाट बाहिरियो। यससँगै पहिलो हाफमा गोल निस्किएन र गोलरहित बराबरी भयो। ४९औं मिनेटमा धनगढीका दीपेश राईले नजिकैबाट हानेको बाइसाइकल किक दिशामा रहन सकेन। तर, ५७औं मिनेटमा बेलफोर्टको उत्कृष्ट फ्रिकिक गोलबाट ललितपुरले अग्रता लियो।

करिब २२ यार्डबाट उनले गरेको उत्कृष्ट प्रहार दोस्रो बार हुँदै गोलमा परिणत भयो। धनगढीका काइसेडोले केबेलाई फाउल गरेपछि ललितपुरले राम्रो ठाउँमा फ्रिकिक अवसर पाएको हो। उक्त अवसर सदुपयोग गर्दै बेलफोर्टले गोल गरे। तर, त्यो अग्रता लामो समयसम्म भने टिक्न सकेन।

६२औं मिनेटमा मिनेटमा नै जर्जप्रिन्सको गोलबाट धनगढी बराबरीमा फर्कियो। मैदान प्रवेश गरेको एक मिनेटमै जर्जप्रिन्सले गोल गरेका हुन्। सर्जिओ बार्बोजाको कर्नर प्रहारलाई ललितपुरका कप्तान अनन्तको फितलो हेडर नियन्त्रणमा लिँदै जर्जप्रिन्सले गोल गरे। ७३औं मिनेटमा धनगढीको काउन्टर अट्याकमा हिजाजी वान भर्सेस वानको अवस्थामा गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन्।

ललितपुरका सन्तोष खत्रीले अन्तिमसम्म हिजाजीलाई सहजै सट हान्ने अवसर दिएनन्। त्यसपछि हिजाजीको ललितपुरका गोलकिपर जेफ्री बाल्टुसलाई बिट गराउने प्रयास पनि सफल भएन। अन्ततः हिजाजीले गरेको सट बाल्टुसले रोके। तर, ७९औं मिनेटमा केबेले उत्कृष्ट गोल गर्दै ललितपुरलाई अग्रता दिलाए।

करिब ३० यार्डबाट उनले गरेको सशक्त प्रहार धनगढीका गोलकिपर वालिदले रोक्न सकेनन्। त्यसपछि दुवैतर्फ गोलका प्रयास भए पनि सफल हुन सकेनन् र ललितपुरले २–१ को रोमाञ्चक जित निकाल्यो। खेलपछि धनगढीका प्रशिक्षक म्यानुअल मार्टिनेजले खेल प्रतिस्पर्धात्मक भए पनि अवसर गुमाउँदा हार बेहोर्नुपरेको उल्लेख गरे। ‘खेल प्रतिस्पर्धात्मक थियो। हामीले धेरै अवसर सिर्जना गरेका पनि हौं। तर, पाएका अवसरमा गोल गर्न सकेनौं। उनीहरूले भने पाएका अवसरमा गोल गरे,’ उनले भने।

रेफ्रीले खेल नियन्त्रणमा लिन नसकेको भन्दै उनले आलोचना पनि गरे। ललितपुर सिटीका टेक्निकल डाइरेक्टर सिमोन निकोलसले राम्रो खेल प्रदर्शन गरेर लगातार फाइनलमा पुग्दा खुसी लागेको बताए। उनले वान भर्सेस वानको अवस्थामा सन्तोष र गोलकिपर बाल्टुसले उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनीहरूको प्रसंशा पनि गरे।

प्रकाशित: ७ वैशाख २०८२ ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App