२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

हिमाली भेकका मतदातालाई सदरमुकाममा मतदान गर्ने व्यवस्था

दार्चुला जिल्लाको उत्तरी क्षेत्र तिङ्कर र छाङ्रुका मतदाताका लागि सदरमुकाम खलङ्गा नजिकको तिङ्करखेडामा मतदान गर्ने व्यवस्था गरिएको छ।

जाडो छल्न बेँसी झरेर बसाइँ सरेका ती क्षेत्रका मतदाताले हाल बसोबास गरिरहेको स्थानमै मतदान गर्न पाउने गरी तिङ्करखेडामा मतदान स्थल र मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जाडोयाममा परिवारसहित बेँसीतर्फ झर्ने तिङ्कर र छाङ्रु क्षेत्रका बासिन्दा वैशाखपछि मात्र गाउँ फर्कने भएकाले उनीहरू बसेकै ठाउँ महाकाली नगरपालिका–४ अन्तर्गत खलङ्गा नजिकको तिङ्करखेडामा मतदानको व्यवस्था गरिएको हो।

तिङ्करखेडामा व्यास गाउँपालिका–१ अन्तर्गत तिङ्कर गाउँका मतदाताका लागि मौतिमैला सङ्घ आधारभूत विद्यालय र छाङ्रु गाउँका मतदाताका लागि कैलाशपति आधारभूत प्राथमिक विद्यालय गरी दुई मतदान स्थल तोकिएका छन्। प्रतिकूल मौसमका कारण गरिएको अनुरोधअनुसार निर्वाचन आयोगले मतदाता बसेकै स्थानमा मतदान स्थल र केन्द्र राख्न सहमति दिएको जनाइएको छ।

छाङ्रु गाउँमा ३७५ र तिङ्कर गाउँमा २४४ मतदाता रहेका छन्। व्यास गाउँपालिका–१ मा आदिवासी सौका समुदायको बसोबास रहेको छ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दार्चुला जिल्लामा कुल ९२ हजार ९४८ मतदाता छन्। निर्वाचनका लागि ११२ मतदान स्थल र १४३ मतदान केन्द्र स्थापना गरिनेछ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २१ माघ २०८२ २१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App