अहमद हिजाजीको ह्याट्रिक प्रेरणामा धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा शुक्रबार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा उत्कृष्ट पुनरागमनसहित धनगढीले पूर्वविजेता काठमाडौं रेजर्समाथि ३–१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो। धनगढीको जितमा हिजाजीले ह्याट्रिक गरे। काठमाडौंका अमाडौं डियोपले गोल गरेका हुन्।
खेलको अन्तिम समयमा दुवै टोलीका खेलाडीले रातो कार्ड सामना गर्दा १० खेलाडीमा सीमित भएका थिए। यससँगै काठमाडौंसँगको कुल पाँचौं भेटमा धनगढीले तेस्रो जित निकालेको हो। एक खेलको नतिजा बराबरी हुँदा काठमाडौंले एक जित आफ्नो पक्षमा पारेको थियो। पाँचौं भेटमा पनि काठमाडौंले अग्रता लिँदै राम्रो सुरुआत गरेको थियो। तर, त्यसलाई जोगाउन सकेन।
खेलको २२औं मिनेटमा नै काठमाडौंले अग्रता कायम गर्यो। मोहम्मद बुया टोरेको पासमा डियोपले बक्सभित्रबाट उत्कृष्ट गोल गरे। यससँगै काठमाडौंले १–० ले अग्रता लियो। ३५औं मिनेटमा धनगढीले बराबरी गोल फर्कायो।
मोहम्मत एलले डिफेन्डरलाई छक्याउँदै दिएको बललाई हिजाजीले बक्सभित्र कडा निगरानीबीच गोल गरेका हुन्। यससँगै खेल १–१ को बराबरीमा पुग्यो। ४१औं मिनेटमा धनगढीले अग्रता लियो। कृतीशरत्न छुन्जुले अगाडि बढाएको बल काठमाडौंका डिफेन्डरले ब्लक गर्दा हिजाजीको खुट्टामा पुग्यो। सो बललाई हिजाजीले पोस्टको दिशा दिए। त्यसपछि पहिलो हाफको थप समयमा हिजाजीले ह्याट्रिक पुरा गरे।
सर्जियो बारबोजाको पास सदुपयोग गर्दै हिजाजीले ६ यार्ड बक्सबाट गोल गरे। उनी यस सिजनको एनएसएलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बने। पहिलो हाफमा धनगढी ३–१ ले अग्रता बनायो। दोस्रो हाफमा दुवै तर्फबाट गोलका प्रयास भए। तर, गोल निस्किएन।
८६औं मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित भए। एकअर्कासँग झगडा गरेपछि खेलका रेफ्री प्रज्वल क्षेत्रीले धनगढीका डिफेन्डर रनदीप पौडेललाई दोहोरो पहेंलोसहित रातो र काठमाडौंका फरवार्ड भिसेन्ट कोजिएलोलाई सीधै रातो कार्ड देखाएका थिए। समान चार खेलबाट धनगढी आठ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
समान खेलबाट समान अंक भए पनि ललितपुर सिटी एफसी दोस्रो स्थानमा छ। समान खेलबाट एफसी चितवन ७ र काठमाडौं ५ अंकसहित क्रमशः चौथो र पाँचौं स्थानमा छन्।
प्रकाशित: ३० चैत्र २०८१ ०७:५० शनिबार





