त्रियुगा नगरपालिका–५ श्रीपुरमा आयोजित ‘पाँचौँ वडा कप फुटबल प्रतियोगिता २०८१’ को उपाधि आयोजक टिमले चुमेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा प्रतियोगिता आयोजक श्रीपुर (ए) ले डिएमगेट फुटबल क्लब, त्रियुगा नगरपालिका–१२ लाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
श्रीपुरका खेलाडी प्रवीण राईले एक्लै ह्याट्रिक गरेका थिए भने अर्का खेलाडीको थप एक गोलसहित ४ गोलले टिमलाई उपाधि जिताउन सफल भएको आयोजक क्लबका सचिव चन्द्र राईले बताए। त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले विजेता श्रीपुरलाई ४० हजार नगद र ट्रफी प्रदान गरे।
त्रियुगा–५ का वडाध्यक्ष उद्धव थापाले उपविजेता डिएमगेटलाई ३० हजार नगद र प्रमाणपत्र वितरण गरे। कार्यक्रममा प्रतियोगिताका म्यान अफ द म्याच, टिम कोच, व्यवस्थापक र अम्पायरहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो। श्रीपुरस्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिता चैत २२ गतेदेखि सुरु भएको थियो। प्रतियोगितामा विभिन्न वडाका ८ टिमको सहभागिता थियो।
समापन समारोहमा क्लबका अध्यक्ष विष्णु भुजेलले सहयोगी सङ्घ–संस्था र मिडियाकर्मीहरूलाई मायाको चिनो वितरण गरे।
प्रकाशित: २९ चैत्र २०८१ २०:५२ शुक्रबार





