नेपाली खेलकुद र करातेका लागि ऐतिहासिक पदक दिलाउँदै आएकी एरिका गुरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्।
सिड्नीको ह्वाइटलाम लेजर सेन्टरमा शनिबार भएको च्याम्पियनसिपमा एरिकाको स्वर्ण पदकसहित नेपालले कुल पाँच पदक जितेका हो। एरिकाले ६८ केजीमाथि तौलसमूहमा स्वर्ण जितेकी हुन्।
एरिकाले फाइनलमा अस्ट्रेलियाकै बोइस क्रिस्टललाई ५– ० ले हराउँदै स्वर्ण जितेको हो। त्यसअघि एरिकाले सेमिफाइनलमा अस्ट्रेलियाकै किरीलाई ८–० र क्वार्टरफाइनलमा स्यालेनलाई ९–० ले हराएकी थिइन्। सन् २०२३ मा १९औं एसियाली खेलकुदका साथै गत वर्ष सम्पन्न एसियन च्याम्पियनसिपमा पनि एरिकाले रजत पदक जितेकी थिइन्। उक्त एसियाली खेलकुदमा रजत पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्। अस्ट्रेलियन ओपनमा एरिकासहित पाँच खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए।
पुरुष ६७ केजीमुनि तौलसमूहमा सन्तोष श्रेष्ठ, ६१ केजीमुनि सबिना श्रेष्ठ, ५५ केजीमुनि पुस्पका लामा र ५० केजीमुनि वर्षा बुढामगरले कांस्य पदक जितेको नेपाली टोलीका प्रशिक्षक मण्डेकाजी श्रेष्ठले जानकारी दिए। पुरुष ६७ केजीमुनिमा सन्तोष श्रेष्ठले रिपाचेजमार्पmत कांस्य पदक जितेका हुन्। उनले कुल तीन फाइट जितेका थिए।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले मिसन २०२६ मा रहेका तीन खेलाडी र राष्ट्रिय टोलीका कुल पाँच खेलाडीले नै पदक जितेको जानकारी दिए। अस्ट्रेलियामा रहेका तीन पूर्वराष्ट्रिय खेलाडीले पनि पदक जितेको प्रशिक्षक श्रेष्ठले बताए। उनका अनुसार विजय श्रेष्ठले ६० केजीमुनि रजत पदक जित्दा दिवस श्रेष्ठले ८४ केजीमाथि कांस्य र सोनाम लामाले ६० केजीमुनि कांस्य पदक जितेका थिए।
दिवस श्रेष्ठ १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत र विजय श्रेष्ठले एसिया प्यासिफिकमा स्वर्ण जितेका खे लाडी हुन्। सोनामले भने १८औं एसियन गेम्स खेलेका थिए। दिवस श्रेष्ठले १७औं इन्चोन एसियाड र १८औं जाकार्ता एसियाडमा प्रतिस्पर्धा गरेका थिए। तीमध्ये इन्चोनमा भने उनी चौथो स्थानसम्म पुगेका खेलाडी हुन्।
प्रकाशित: २४ चैत्र २०८१ ०८:२२ आइतबार