च्यासल युथ क्लबले श्री कुमारी क्लबलाई हराउँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यासलले श्री कुमारी क्लबलाई २–१ ले पराजित गरेको हो।
च्यासलले तेस्रो खेलबाट पहिलो जित निकाल्दा श्री कुमारीको भने तेस्रो हार हो। यसअघि च्यासलले पहिलो खेलमा वीरगन्ज युनाइटेडसँग गोलरहित बराबरी खेल्दा प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध ४–० को फराकिलो हार बेहोरेको थियो। जितसँगै च्यासल चार अंकसहित तालिकाको छैटौं स्थानमा उक्लियो।
श्री कुमारीले भने ब्रिगेड ब्वाइजसँग २–१ र वीरगन्ज युनाइटेडसँग २–० को हार बेहोरेको थियो। श्री कुमारी अंकतालिकाको पुछारमा झरेको छ। च्यासलको जितमा अनिल बोम्जन लामा र अश्विन घोरासैनीले गोल गरे। श्री कुमारीका यमन महर्जनले एक गोल फर्काए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ५५औं मिनेटमा अनिलले च्यासलका लागि लिगकै पहिलो गोल गरे। अनिल थारूको थ्रु बललाई उनले सदुपयोग गरेका हुन्। अनिलको प्रहार पहिलो बारको जाली चुमेको थियो।
७०औं मिनेटमा कप्तान अश्विनले कमल थिङको कर्नर बललाई सदुपयोग गरे। राइट साइडबाट कमलले दिएको कर्नर क्रसमा अश्विनले हेडमार्फत च्यासलको अग्रतालाई दोब्बर बनाए। इन्जुरी समयमा श्री कुमारीका यमनले एक गोल फर्काएका थिए।
प्रकाशित: १४ चैत्र २०८१ ०७:१० बिहीबार