२० चैत्र २०८१ बुधबार
image/svg+xml १४:९ अपराह्न
शिक्षा

त्रिवि उपकुलपति बरालको राजीनामा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले विश्वविद्यालयमा आफ्नो भिजनअनुसार काम गर्न नसकेपछि नियुक्तिको एक वर्षपछि पदबाट राजीनामा दिएका छन्।  

नेकपा माओवादी केन्द्रको कोटामा उपकुलपति भएका बरालले राजीनामा दिनुको अर्को कारण स्वास्थ्य समस्या पनि भएको बताइन्छ। स्वास्थ्यले साथ नदिएपछि उनले धेरैजसो समय घरबाटै काम गर्दै आएको प्राध्यापकहरू बताउँछन्। त्रिविका उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ। बरालको राजीनामा उनका पिए राजमान महर्जनले प्रधानमन्त्री कार्यालयमा दर्ता गराएका हुन्। राजीनामा स्वीकृत भने भइसकेको छैन।  

मुलुककै जेठो र ठूलो त्रिविमा शैक्षिक, आर्थिक, प्रशासनिकलगायत समस्या बग्रेल्ती छन्। विश्वविद्यालय राजनीतिक हस्तक्षेपबाट पनि आक्रान्त छ। विद्यार्थी, शिक्षक र कर्मचारीले विभिन्न दलनिकट संगठन खोलेर त्रिविमा राजनीति पनि गर्दै आएका छन्। राजनीतिक भागबन्डामै पदाधिकारी नियुक्त हुने गलत प्रवृत्तिले त्रिविमा जरा गाडेको छ। जसका कारण पदाधिकारी जोसुकै नियुक्त भए पनि काम गर्न असहज हुने त्रिविका शिक्षक, विद्यार्थी र कर्मचारी बताउँछन्। शिक्षक, कर्मचारी र विद्यार्थीले आफ्ना माग पूरा गर्न त्रिवि नेतृत्वलाई दबाब दिन तालाबन्दीको संस्कार पनि जारी राख्दै आएका छन्।

त्रिविमा आंशिक शिक्षक र करार शिक्षकलाई प्रक्रिया मिलाएर करार र स्थायी गर्न पनि दबाब बढेको छ। त्रिवि सेवा आयोगले समयसमयमा विज्ञापन नखोल्दा शिक्षक, कर्मचारी भर्ना, बढुवा र वृत्तिविकासमा असर परेको छ। स्वार्थपूर्तिका लागि राजनीतिक आडमा शिक्षक, कर्मचारी र विद्यार्थीले बेलाबखत त्रिविका पदाधिकारीलाई धम्की दिन्छन्। विभिन्न खाले अवरोध र राजनीतिक भागबन्डामा नियुक्त बरालले स्वास्थ्यले पनि साथ नदिएपछि उपकुलपतिबाट राजीनामा दिएका हुन्।

पछिल्लो समय त्रिविका करिब तीन सय करार शिक्षकले विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन उपकुलपति बराललाई दबाब दिँदै आएका थिए। अहिले पनि उपकुलपतिको कार्यालयअगाडि करार शिक्षक रिले अनशनमा छन्। सर्वोच्च अदालतले विशेष आन्तरिक प्रतिस्पर्धाबाट करारलाई स्थायी नगर्न भने पनि करारका शिक्षकले आफूलाई स्थायी बनाउने प्रक्रिया चैत १७ गतेभित्र अगाडि नबढाए कडा आन्दोलन गर्ने धम्की उपकुलपति बराललाई दिएका थिए। उपकुलपति बरालले करार शिक्षकको दबाब थेग्न नसकेर पदबाट राजीनामा दिएको प्राध्यापक चित्रबहादुर बुढाथोकीले बताए।

बुढाथोकी उपकुलपति नियुक्तिका लागि गरिएको सिफारिसमा एक नम्बरमा थिए। तर तत्कालीन कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एक नम्बरमा रहेका बुढाथोकीलाई छाडेर दुई नम्बरका बराललाई उपकुलपति बनाएका थिए। बुढाथोकीका अनुसार उपकुलपतिबाट बरालले राजीनामा दिनुको मुख्य कारण शारीरिक अस्वस्थता र काम गर्न नसक्नु नै हो।

‘राजीनामा दिनुअघि उपकुलपति बराल सरले दुई पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर विश्वविद्यालयमा धेरै समस्या रहेको, आफू अस्वस्थ पनि भएको र काम गर्न सक्ने वातावरण नरहेकाले पद छाड्न लागेको जानकारी गराउनुभएको थियो। पहिलो पटक दाहालले समझाएर फर्काउनुभयो,’ बुढाथोकीले भने, ‘बराल ६८ वर्षमाथि नै हुनुहुन्थ्यो। उहाँका छोराबुहारी पनि डाक्टर हुनुहुन्छ। उहाँलाई दबाबमा काम नगर्न घरबाट पनि सल्लाह भयो। उहाँ बिरामी भएकाले विश्वविद्यालयमा कमै आउनुहुन्थ्यो। यस्तो अवस्थामा काम गर्न सहज भएन। त्यसैले राजीनामा दिनुभयो।’ बुढाथोकी पनि माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वसदस्य हुन्।  

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा त्रिविका एक हजार तीन सय ८० आंशिक शिक्षकले करारमा नियुक्ति पाएका थिए। पछि एक हजार तीन सय ८० करारका शिक्षकमध्ये ९ सयलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाइयो। स्थायी हुन बाँकी रहेका ४८० लाई २०८१ चैत मसान्तसम्म विशेष प्रक्रियाबाट स्थायी बनाउने सहमति थियो। करारका ४८० मध्ये अहिले करिब ३ सय मात्र कार्यरत रहेको त्रिविको तथ्यांक छ।  

त्रिविका विद्यार्थीले विशेष आन्तरिक प्रक्रियाबाट करारलाई स्थायी बनाउने सहमतिको विरोध गर्दै आएका छन्। तीन वर्षअघि विद्यार्थी रमेश बिष्ट र मनिता खत्रीले विशेष आन्तरिक प्रक्रियाबाट स्थायी बनाउने परिपाटीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाले। सर्वोच्चले त्रिविमा खुला प्रतिस्पर्धाबिना आन्तरिक प्रक्रियाबाट कुनै पनि पदमा स्थायी नियुक्ति नगर्न भन्यो। अदालतले यसो भने पनि त्रिवि पदाधिकारी करार शिक्षकलाई स्थायी बनाउनुपर्ने दबाबमा छन्।  

नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिनाले अब त्रिविमा निरोगी र सक्षमलाई उपकुलपति बनाउनुपर्ने बताए। उनले अब सरकारले उपकुलपति नियुक्त गर्दा निरोगीपनलाई पनि आधार बनाउनुपर्ने बताए। ‘हाम्रा उपकुलपति निकै अस्वस्थ हुनुभयो। उहाँले आफ्ना नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर आफूले काम गर्न नसक्ने र स्वास्थ्यले पनि साथ नदिएको जानकारी गराउनुभएको थियो,’ तिमल्सिनाले भने, ‘चार सय करारमध्ये कोही सेवा छाडेर गए, अब करिब ३ सय मात्र कार्यरत छन्। यो पुरानै प्रक्रिया हो। तर सर्वोच्च अदालतले यसरी स्थायी गराउन नमिल्ने भनेकाले उपकुलपतिले दबाब थेग्न सक्नुभएन। राजीनामा दिनुभयो। यसमा अरूलाई दोष लगाउनु गलत हो।’  

उपकुलपति बराल अहिले पोखरास्थित निजी निवासमा छन्। उनलाई भेट्न आइतबार त्रिविका रजिस्ट्रार केदार रिजाल र रेक्टर खड्ग केसी पोखरा पुगेको स्रोतले बतायो। अहिले उपकुलपति, रेक्टर र रजिस्ट्रार कोही पनि फोन सम्पर्कमा आउन चाहेका छैनन्। ‘कर्मचारी सरुवा विषयमा रजिस्ट्रार रिजाल र उपकुलपति बरालबीच खटपट भयो,’ स्रोतले भन्यो, ‘यति मात्र होइन, उपकुलपतिले आफ्नो भिजनअनुसार काम गर्न पाउनुभएन। यसकारण राजीनामा दिनुभयो। यस्तो लाग्छ उहाँ अब त्रिविमा फर्कनुहुन्न।’ त्रिवि प्राध्यापक संघका सदस्य गंगाराम डिसीले उपकुलपति बरालले त्रिविमा थिति बसाल्न खोज्दा असहयोग भएको बताए।

प्रकाशित: १८ चैत्र २०८१ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App