नेपाल भारत सीमा क्षेत्र पर्ने सुनपथ्थरी नाकामा केही समय अघि एक जना भारतीय पुजारी बस्न आइपुगे । भारतबाट आएका उनले नेपाल भारत सीमा साँधमै बस्नका लागि बासस्थान (कुटी) हाले। भारतीय क्षेत्रमै आफ्नो बासस्थान बनाएका ती पुजारीको नजर नेपाल माथि थियो । उनले पूजा गर्ने थलो भने नेपालको भूभागमा बनाए । भारतीय क्षेत्रमा बसोबास गरेका उनी पूजा गर्न भने नेपाली भूमिमा आउन थाले । उनले सीमा वारी त्रिशूल गाडेर पूजा गर्न थाले ।
नेपाली भूभागमा बस्दै आएका नेपालीहरू ती पुजारी प्रति सशङ्कित बन्न थाले । नेपाली सीमा मिच्नका लागि त्रिशूल गाडेर पूजा गर्न थालेको लख नेपालीहरूले काट्न थाले । अनि नेपाली भूभागमा गाडिएको त्रिशूल हटाउन भारतीय पुजारीलाई आग्रह गरे । तर उनले मानेनन् । अन्ततः नेपालीहरूले आफ्नो भूमिमा गाडिएको त्रिशूल फालिदिए । ‘भारतको क्षेत्रमा कुटि हालेर पुजारी बसे,तर पूजा गर्नका लागि नेपालको जमिनमा त्रिशूल गाडेर दिनहुँ पूजा गर्न थाले,’ सुनपथ्थरी नाकाका स्थानीय सुर्जबहादुर गुरुङले भने ‘सीमा मिच्ने उद्देश्यले ती पुजारीले यसो गरेका हुन् कि भन्ने लाग्यो, हामीले त्यो त्रिशूल हटाउन भनेर आग्रह पनि गर्यौँ तर मानेनन् अनि हामी गाउँलेहरू मिलेर नेपालको जमिनमा गाडिएको त्रिशूल निकालेर फालिदियौँ ।’
आफ्नो पूजा गर्ने थलोका रुपमा नेपाली भूभागमा त्रिशूल गाडेका ती पुजारी क्रुद्ध बने । त्रिशूल गाडिएको भूभाग भारतको दाबी गर्दै उनी कड्किए । तर नेपालीहरूले उनको प्रतिरोध गरे अन्ततः भारत पस्न नदिने चेतावनी दिएर उनी त्यहाँबाट अन्यत्र गए । ‘भारत रासनपानी खरिद गर्नका लागि आउन पाउँदैनौँ भनेर हामीलाई धम्की दिएर त्यहाँबाट उठेर गए,’ सुर्जबहादुर भन्छन् ‘यदि हामीले त्रिशूल नफालिदिएको भए पुजारीले नेपालको भूमि मिचिसकेका हुन्थे, उनको योजना नै त्रिशूललाई नयाँ सीमा स्तम्भका रुपमा खडा गर्न खोजेका थिए ।’
बर्षौँ देखि नेपाल भारत सीमा क्षेत्रमा बसोबास गर्दै आएका नाकाबासीहरूले सीमा मिच्न खोज्ने यस्ता प्रयासका कैयन पटक मुकाबिला गरेको अनुभव सुनाउँछन् । उनीहरूको भोगाइ अनुसार कहिले कुन त कहिले कुन बहानामा नेपाली बस्ती क्षेत्रमा भारतीय दबदबाका अनेकन प्रयासहरू भइरहन्छन् । तर उनीहरू यस्ता भारतीय प्रयासका विरुद्ध निरन्तर लडिरहेका छन् । बस्ती क्षेत्रमा सीमा मिचिन नदिन सीमा रक्षकका रुपमा आफूहरू बर्षौँ देखि लडिरहेको उनीहरूको दाबी छ । ‘यदि हामी नाकामा हामी नबसेको भए भारतले सीमा स्तम्भ कहाँ पुर्याइसेकेको हुन्थ्यो, हामी त बर्षौँ देखि सीमा जोगाउनका लागि लडिरहेका छौँ,’ सुर्जबहादुर भन्छन् ‘बस्ती रहेका ठाउँमा मात्रै सीमा जहीँको तहिँछ , जङ्गलमा क्षेत्रमा त सीमा स्तम्भहरू कहाँबाट कहाँ पुगिसकेका छन्,।’
जङ्गल क्षेत्रमा नेपाल भारत सीमा क्षेत्र नेपाली भूभागमा पर्ने पहाडको फेदैमा छन् । तर बस्ती भएको स्थानमा भने सीमा क्षेत्र केही पर छन् । नाकावासीहरूले बस्ती भएकै कारण बस्ती क्षेत्रका सीमा स्तम्भहरू पहाडको फेद सम्म पुग्न नसकेको दाबी गर्छन् । ‘यही यहाँ नेपाली बस्ती हुँदैन थिए भने सबै स्तम्भ नेपाली क्षेत्रको पहाडको फेदमै पुगिसकेका हुन्थे होला,’ ०४२ साल देखि नाका क्षेत्रमा बसोबास गर्दै आएका सुर्जबहादुर भन्छन् ‘तर बस्ती भएकै कारण यहाँ सीमा हलचल हुन नसकेको हो नि ।’
नेपाल भारत सीमा क्षेत्र वारी नेपाली भूभागमा पर्ने पहाड छ । पारी (भारत) तर्फ पुरै समथर भूभाग छ । घना जङ्गलले भरिएको उक्त भारतीय क्षेत्र निकुञ्ज हो । भारतका तर्फबाट सीमा मिच्नका लागि तारबार लगाउने सम्मका गलत कामहरू बेलाबेला हुने गरेको नाकाबासीहरु बताउँछन् । ‘हाम्रो सीमा क्षेत्र छुट्याउँछौँ भनेर बेलाबेलामा भारतीय पक्षबाट तारबार लगाउन खोजिन्छ, तारबार गर्न खोज्दा नेपालको भूमि मिच्न खोजिन्छ,’ अर्का स्थानीय रणबहादुर मगरले भने ‘हामीले मान्दैनौँ भनेर जुध्छौँ, कति पटक त हामीले तारबार उखेलेर फालिदिएका पनि छौँ ।’
नेपाली भूमिमाथि लाग्ने भारतीय नजरको मुकाबिला गर्दै आएका नाकाबासी नेपालीहरूलाई यसको असर नुनतेलको जोहोमा प्रत्यक्ष रुपमै पर्छ । भारतीय बजारमै आश्रित नाकाबासीहरुलाई भारत आउँ जाउमा अप्ठ्यारो पार्ने गरिन्छ । ‘सीमा मिच्न खोज्दा हामीले प्रतिकार गर्छौँ, तर यसो गरेपछि हामीलाई भारत आउँ जाऊ गर्न समस्या पारिन्छ,’रणबहादुरले भने ‘हामी सँग निहुँ खोज्ने भनेर कहिले भारत पस्न सहजै नदिने कहिले धेरै सामान ल्याउन नदिने, दुख दिने काम हुन्छ ।’
बर्षौँ देखि सीमा जोगाएर बसेका नाकाबासीहरु राज्यबाट उपेक्षित हुनु पर्दाको पीडाले सताइएका छन् । आधारभूत आवश्यकता सम्म आफ्नो राज्यबाट प्राप्त गर्न नपाएको दुखेसो गर्ने नाकावासीहरूले विकासका लागि गुहार माग्दै आएका छन् । ‘हामी नुन तेल किन्न पनि भारत जानु पर्छ, सानो बिरामी भएपनि औषधी किन्ने ठाउँ भनेको भारत हो,’ डगमारा नाकाकी संगिता राना मगरले भनिन् ‘हामी बर्षौँ देखि सीमा जोगाएर बसेका छौँ, तर हाम्रो देशले हामीलाई केही दिन सकेको छैन ।’ नाका क्षेत्र पुग्न अहिले सम्म यातायातको पहुँच छैन ।
खानेपानी, विद्युत्, शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवा सुविधाबाट नाका क्षेत्र वञ्चित रहँदै आएको छ । ‘हामीलाई सडक, विद्युत्, स्वास्थ्य , खानेपानी चाहिएको छ भनेर बर्षौँ देखि भन्दै आएका छौँ,’ सुर्जबहादुर भन्छन् ‘तर राज्यले हामीलाई कहिल्यै सुनेन, हामी त नेपाली भएर पनि नेपाली भएको अनुभूत गर्न पाएका छैनौँ, राज्यको उपेक्षामा छौँ ।’
प्रकाशित: २० चैत्र २०८१ १४:०६ बुधबार