औद्योगिक क्षेत्रमा लोडसेडिङ घटेको छ। भारतले विद्युत् आपूर्ति रोकेपछि औद्योगिक करिडोरमा करिब १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो। भारतले पुनः विद्युत् आपूर्ति गर्न थालेपछि औद्योगिक करिडोरमा लोडसेडिङमा कमी आएको हो।
भारतबाट रातको समयमा थप बिजुली ल्याएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ घटाएको हो। औद्योगिक क्षेत्रमा १२ घण्टाको लोडसेडिङ ६ घण्टामा झरेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए। ‘लोडसेडिङ घटेपछि उद्योगलाई ठूलो राहत भएको छ,’ अग्रवालले भने, ‘नियमित विद्युत् पाएपछि उद्योगको उत्पादन बढेको छ।’ भारतले राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् दिन थालेको छ। इन्डियन इनर्जी एक्सचेन्जबाट करिब ६ सय मेगावाट विद्युत् ल्याएपछि औद्योगिक क्षेत्रको लोडसेडिङ ६ घण्टामा झरेको हो। पूर्णरूपमा भने लोडसेडिङ हटेको छैन। घरायसी ग्राहकले लोडसेडिङ भोग्नुपरेको छैन।
हिउँदको समयमा स्वदेशमा उत्पादित विद्युत्ले अपुग भएपछि नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेर उपभोक्तालाई बिजुली उपलब्ध गराउँदै आएको छ। अघिल्लो साता साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् आपूर्ति रोकेपछि उद्योगमा १२ घण्टा लोडसेडिङ सुरु भएको थियो। प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ गरेपछि औद्योगिक उत्पादन करिब ५० प्रतिशत घटेको थियो। बिजुली पाउन थालेपछि उत्पादन बढेको उद्योगीले बताएका छन्।
औद्योगिक क्षेत्रमा लोडसेडिङ घटेकोमा धागो उद्योगीले खुसी व्यक्त गरेका छन्। विद्युत् आपूर्ति भएपछि उद्योग सञ्चालनमा राहत पुगेको धागो उत्पादक संघका अध्यक्ष पवनकुमार गोल्यानले बताए। दैनिक १२ घण्टासम्मको लोडसेडिङले धागो उत्पादन लागत बढेको थियो, क्षमताअनुसार उत्पादन पनि हुन सकेको थिएन। ‘निर्यातमुखी धागो उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यस क्षेत्रमा आश्रित कामदारदेखि राजस्वमा समेत असर पुगेको थियो,’ उनले भने, ‘अब विद्युत् आपूर्ति भए सबै पक्षलाई फाइदा पुग्छ। ’ संघले औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाउन भारतबाट आवश्यक मात्रामा विद्युत् आयातका लागि पहल गरेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक, ऊर्जामन्त्रीलगायतलाई प्रेस विज्ञप्तिमार्फत धन्यवाद दिएको छ। धागो उत्पादनमध्ये ८० प्रतिशतभन्दा बढी विभिन्न देशमा निर्यात भइरहेको संघले जनाएको छ।
रातको समयमा बिजुली आउँदा ‘पिक आवर’ लाई सहयोग पुगेको छ। राति ‘पिकिङ प्लान्ट’ मा पानी जम्मा गरेर बिजुली उत्पादन गरी औद्योगिक क्षेत्रमा लोडसेडिङ अन्त्य गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ। नेपालले हरेक वर्ष जुन ३० सम्म भारतको इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा १४ सय मेगावाट विद्युत् आयात गर्दै आएको छ। नेपालका अधिकांश जलविद्युत् परियोजना ‘रन अफ द रिभर’ भएकाले सुक्खायाममा उत्पादन घटेर एक हजार मेगावाटमा सीमित हुन्छ।
उद्योगमा लोडसेडिङ हुँदा पनि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले ढाँटेको आरोप उद्योगीले लगाएका थिए। भारतबाट थप बिजुली ल्याउन पनि पहल भएको ऊर्जा मन्त्रालयले जनाएको छ। सरकारले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाएपछि थप लोडसेडिङ हुने चिन्ता धेरैमा थियो। प्राधिकरणका नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो नियुक्तिसँगै लोडसेडिङ हटाउने बताएका थिए। सरकारको आग्रहलाई भारतले स्वीकार गरेपछि प्राधिकरणलाई औद्योगिक क्षेत्रमा लोडसेडिङ घटाउन सहयोग पुगेको छ।
चौबिसै घण्टा विद्युत् आवश्यक पर्ने सिमेन्ट, स्टिल, धागोलगायत उद्योगमा लोडसेडिङ हुँदा उत्पादन लागत बढेपछि उत्पादन कटौती गरेको उद्योगीले बताएका थिए। लोडसेडिङले उत्पादनमा भारी कटौती र लागत बढ्दा वस्तुको भाउ बढेको थियो। लोडसेडिङका कारण लागत बढेकाले सिमेन्ट र स्टिलको मूल्य बढेको उद्योगीले बताएका थिए। अब विद्युत् आपूर्ति बढेपछि मूल्य घट्नुपर्ने उपभोक्ता अधिकारकर्मी बताउँछन्। लोडसेडिङ घटेपछि सिमेन्ट र स्टिलको मूल्य घट्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।
प्रकाशित: १८ चैत्र २०८१ ०६:४९ सोमबार