२० चैत्र २०८१ बुधबार
image/svg+xml २:३९ पूर्वाह्न
खेल

नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य

अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथनबीच किशोरी खेलाडीलाई दौडमार्फत मुलधारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ। समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरूलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो।  

सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका तर्फदेखि बालकृष्ण जोशी र नेपालगन्ज म्याराथनका तर्फबाट टीएस ठकुरीले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै वन स्टेप फाउन्डेसनले नेपालगन्ज म्याराथनमा तीन सय जना किशोरीको दर्ता गरेर सघाउने छ। ‘यसले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न सघाउने छ,’ वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले भनेका छन्, ‘पिछडिएको समुदायका किशोरीलाई मुलधारमा ल्याउनु हामी सबैको जिम्मेवारी र दायित्व हो। नेपालगन्ज म्याराथनको यो पहलकदमीको हार्दिक सराहना पनि गर्दछु।’  

नेपाली किशोरीको क्षमता र प्रतिभालाई उजागर गर्न अन्तर्राष्ट्रिय सहभागितामा समेत सघाउन आफूहरू तयार रहेको वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले बताए। जोशीले संसारकै शीर्ष ६ मध्येका न्युयोर्क म्याराथन, सिकागो म्याराथनलगायत १५ बढी फुल म्याराथन पूरा गरिसकेका छन्। साथै गत वर्ष विश्वविख्यात एभरेष्ट म्याराथन पनि पूरा गरेका थिए। एक सय बढी हाफ म्याराथन तथा दुईवटा एक सय किलोमिटर दूरीका अल्ट्रा म्याराथन पूरा गरिसकेका छन्। अमेरिकामा स्थापित वन स्टेप फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुदका साथै सामाजिक काम गर्दछ।

सम्झौता अनुसार वन स्टेप फाउन्डेसनले नेपालगन्जका सेरोफेरोमा अवस्थित विद्यालयमा अध्ययनरत तीन सयजना किशोरीको दर्ता शुल्क नेपालगन्ज म्याराथनलाई प्रदान गर्नेछ। यो सम्झौता सन् २०३० संस्करणसम्मका लागि गरिएको छ। आपसी सहमतिमा हरेक वर्ष सहभागी संख्या क्रमिक बढाउँदै जाने पनि सम्झौतामा उल्लेख छ। यो सम्झौताले नेपालगन्ज म्याराथनको दायरा अझै फराकिलो हुँदै जाने संस्थापक टीएस ठकुरीले बताए। संसारभर रहेका नेपालीलाई यसमा जोड्न यो अवधारणा अगाडि बढाइएको हो।

प्रकाशित: ५ चैत्र २०८१ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App