प्रधानमन्त्री (पीएम) कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिताको पछिल्लो खेलमा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ८३ रनले पराजित गरेको छ।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५९ रनको लक्ष्य पछ्याएको मधेस २६.५ ओभरमा ७५ रनमा अलआउट भयो।
मधेसका लागि दीपेश दासले सर्वाधिक २३ र हरिशंकर साहले १४ रन बनाए। अन्यले दोहोरो अङ्कको स्कोर छुन सकेनन्।
मधेसलाई सस्तैमा समेट्न रमेश कुर्मीले ४, विप्रेशन केसीले ३ तथा देव खनाल र अजय चौहानले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी ४६ ओभरमा अलआउट हुँदै १५८ रनको योगफल तयार पारेको थियो।
लुम्बिनीका लागि आकाश त्रिपाटीले ७३ रन जोडे। कृष्ण कार्कीले ३३ रनमा आउट भए। मधेसका लागि कमल गुप्ता र विशाल पटेलले समान ३ विकेट लिए।
जितसँगै लुम्बिनीको ५ खेलबाट ८ र मधेसको ४ खेलबाट २ अङ्क भएको छ।
प्रकाशित: ४ चैत्र २०८१ १५:३४ सोमबार





