४ चैत्र २०८१ सोमबार
image/svg+xml १०:४५ पूर्वाह्न
खेल

राष्ट्रिय उमा कुङ्फुमा बागमती च्याम्पियन

अन्तर्राष्ट्रिय पदक विजेतालाई सम्मान गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी। तस्वीर: नागरिक

बागमती प्रदेशले सातौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिताको उपाधि शनिबार जितेको छ।

राष्ट्रिय उमा कुङ्फु संघको आयोजनामा चप्पल कारखानास्थित कुन्डलिनीमा भएको प्रतियोगितामा सर्वाधिक १९ स्वर्ण जित्दै बागमती टिम च्याम्पियन भएको हो। कोसी प्रदेश १३ स्वर्ण पदकका साथ दोस्रो भयो। तेस्रो स्थानको गण्डकी प्रदेशले सात स्वर्ण जित्यो।

प्रतियोगिताको पुरुषमा राकेश कुलुङ राई तथा महिलामा आरोनिया श्री उत्कृष्ट खेलाडी घोषित भएको आयोजक संघका अध्यक्ष सन्जितकुमार राईले जानकारी दिए। उत्कृष्ट दुवै बागमतीका हुन्। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शनिबार प्रतियोगिताको उद्घाटन गरेका थिए।

सो अवसरमा उनले सीमित श्रोत र साधन बावजुद उमा कुङफु संघले आफ्नै पहलमा धेरै विकास गरेको भन्दै प्रशंसा गरेका थिए। राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेतले उमा कुङ्फु संघका पदाधिकारीको टिम वर्क र क्रियाशिलता रहेको बताए।

 उद्घाटनका अवसरमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल संघका अध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ र महासचिव कमल मगरलाई खेलकुद मन्त्री चौधरीले प्रशंसा पत्रसहित सम्मान गरेका थिए। सम्मानित तीनै अन्तर्राष्ट्रिय निर्णायक हुन्।

सोही अवसरमा उमा कुङ्फुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ पनि सम्मानित भए। विजेतालाई आयोजक संघका पदाधिकारीलगायतले पुरस्कृत गरे। एकदिने प्रतियोगिताको सान्डा, ताइची र प्याटर्नमा गरी कुल ३९ स्पर्धामा १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उपत्यका बाहिरका खेलाडीको खाना, बसोवास र यातायतको सुविधा आयोजकले व्यवस्थापन गरेको थियो।

प्रकाशित: ३ चैत्र २०८१ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App