ग्लोबल मनी विक विश्वव्यापीरूपमा वित्तीय जागरुकता अभिवृद्धि गर्ने अभियान हो जसको उद्देश्य बालबालिका र युवालाई सानै उमेरदेखि वित्तीय रूपमा सचेत बनाउनु हो। यस अभियानले तिनीहरूलाई क्रमशः वित्तीय ज्ञान, सीप, दृष्टिकोण र व्यवहार विकसित गर्न मद्दत गर्छ जसले गर्दा उनीहरू सही वित्तीय निर्णय गर्न सक्षम हुन्छन् र अन्ततः वित्तीय कल्याण तथा वित्तीय स्थायित्व प्राप्त गर्न सक्छन्।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरतामा पहुँच विकास र विस्तार गरी समग्र वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग तथा विकास संगठनको संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ। यसै सन्दर्भमा मार्च १७–२३ (२०८१ चैत ४– १०) सम्म ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ भन्ने नाराका साथ ग्लोबल मनी विकको १३औँ शृङ्खला मनाउन लागिएको हो। यस विश्वव्यापी वित्तीय चेतनामूलक कार्यक्रम हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ।
सान्दर्भिक नारा
ग्लोबल मनी विक २०२५ को विषयवस्तु ‘सोचविचार गर, अनि मात्र पछ्याऊ, बुद्धिमानी खर्च, सुरक्षित भोलि’ भन्ने रहेको छ। यो कार्यक्रम डिजिटल वित्तमा भएका नवीनतम विकास र वित्तीय सेवासँग अनलाइन अन्तरक्रिया गर्ने तरिकाहरूमा आएको परिवर्तनसँग सम्बन्धित छ। डिजिटल वित्तमा भएका विकास र उपभोक्ताले अनलाइन वित्तीय सेवाहरूसँग अन्तरक्रिया गर्ने तरिकामा आएको परिवर्तन जस्तै फिनफ्लुएन्सरहरूको उदयदेखि लिएर कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगजस्ता वित्तीय साधनको विकास तथा विस्तारले विशेषगरी युवाहरूका लागि भरपर्दो जानकारी र सल्लाह पहिचान गर्न गाह्रो बनाइरहेको अवस्था छ। साथै भिडको मानसिकता जस्ता भावनात्मक प्रवृत्ति र व्यवहारजन्य पक्षहरूका कारण सामाजिक सञ्जालको प्रभाव वा साथी संगतको दबाबमा परेर गलत वित्तीय निर्णय लिन सकिन्छ।
यस्तो सन्दर्भमा युवाहरूले सुदृढ वित्तीय व्यवस्थापनका ज्ञान तथा सीपहरू विकास गर्नु, भावनात्मक उछाल पहिचान गर्न सक्नु र जानकारीका स्रोतलाई आलोचनात्मक दृष्टिकोणले हेर्न सक्नु अत्यन्त आवश्यक छ। वित्तीय साक्षरताको सुदृढीकरणले युवालाई वित्तीय बजार र यसका नयाँ नयाँ उपकरण राम्रोसँग बुझ्न, लोभलाई नियन्त्रण गर्न र पूर्वाग्रही सल्लाह छुट्याउन मद्दत पुर्याउन सक्छ, जसले अन्ततः अझ सुदृढ र प्रभावकारी वित्तीय निर्णय लिन सहयोग गर्छ।
यो अभियानको अन्तिम लक्ष्य सबै बालबालिका र युवाहरूलाई उच्च–गुणस्तरीय वित्तीय शिक्षा प्राप्त गर्न सुनिश्चित गर्नु हो, जसले उनीहरूलाई पैसासँग सम्बन्धित विषयहरू सिक्न, बुद्धिमानीपूर्ण वित्तीय निर्णय लिन र भविष्यमा वित्तीय स्थिरता तथा समृद्धि हासिल गर्न सक्षम बनाउँछ। वित्तीय साक्षरताको सुदृढीकरणले युवाहरूलाई वित्त बजार राम्रोसँग बुझ्न, लोभ वा प्रलोभनको सामना गर्न र पक्षपाती सल्लाह छुट्याउन सहयोग पु¥याउँछ। यसले अन्ततः तिनीहरूलाई अझ बुद्धिमानीपूर्ण वित्तीय निर्णयहरू लिन सक्षम बनाउँछ।
नेपालको सन्दर्भ
यस वर्ष पनि नेपालमा नेपाल राष्ट्र बैकको राष्ट्रिय संयोजनमा वित्तीय प्रणालीमा आबद्ध संघ/संस्थाको बृहत् सक्रिय सहभागितामा ग्लोबल मनी विक २०२५ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपालको सन्दर्भमा यसै पनि समग्र शैक्षिक साक्षरता दर कमजोर रहेको अवस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्न चुनौती रहेको छ। युवाहरूलाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथसाथै व्यावहारिक रूपमा सबल र सक्षम बनाउँदै विवेकशील निर्णय गर्न अभिप्रेरित गर्दै समग्र आर्थिक समृद्धिमा टेवा पुर्याउन नेपालमा यो कार्यक्रमको अझ बढी महत्व छ।
यस साप्ताहिक कार्यक्रममार्फत बालबालिका र युवा पिँढीमा वित्तीय शिक्षाको प्रवर्द्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवर्द्धनको माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नेपालको वित्तीय प्रणालीमा आबद्ध सम्पूर्ण संघ/संस्थाको व्यापक र सक्रिय सहभागिताको टड्कारो आवश्यकता रहन्छ।
साथसाथै सम्पूर्ण वित्तीय प्रणालीमा आबद्ध संघ/संस्थाहरूले यस कार्यक्रमलाई औपचारिकताका लागि साप्ताहिक रूपमा मात्र नभई योजनाबद्ध रूपमा समग्र वित्तीय साक्षरता अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइ वित्तीय चेतना अभिवृद्धितर्फ वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरण विकासमा सहयोग पुर्याउन अपरिहार्य छ।
नेप्सेको भूमिका
नेपालको पुँजी बजारको एक मात्र सञ्चालक तथा पुँजी बजारको अग्रपंक्तिको नियामक निकायका रूपमा नेप्सेले समग्र वित्तीय साक्षरता अभिवृद्धि गर्नका लागि विगत लामो समयदेखि विभिन्न कार्यक्रम, गतिविधिहरू नियमितरूपमा सञ्चालन गर्दै आएको छ। पुँजी बजार आफैँमा बृहत् र जटिल साथसाथै सूचना तथा जानकारीको संवेदनशील वित्तीय प्रणालीको एक अभिन्न अङ्ग भएकाले यसमा वित्तीय साक्षरताको विषय निकै महत्वपूर्ण हुन्छ।
नेप्से वित्तीय प्रणालीअन्तर्गतको पुँजी बजार सञ्चालक भएको नाताले वित्तीय साक्षरताअन्तर्गत पुँजी बजार साक्षरतासम्बन्धी विविध कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गरी आमलगानीकर्तालाई सचेत र विवेकशील लगानी निर्णय गर्न सहयोग गरिरहेको छ। ग्लोबल मनी विकको सन्दर्भमा विगतका वर्षहरूमा जस्तै नेप्सेले पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको निर्देशन तथा मापदण्डअनुरूप विभिन्न कार्यक्रम तथा गतिविधि आयोजना गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरू गर्दैछ।
यस वर्षको ग्लोबल मनी विक सप्ताहन्त कार्यक्रमअन्तर्गत नेपाल धितोपत्र बोर्डको निर्देशनअनुरूप नेप्सेले दुई विद्यालयका विद्यार्थीलाई नेप्से भिजिट कार्यक्रम गरी नेप्सेको अवलोकन भ्रमण गराई समग्र पुँजी बजारबारे जानकारी गराउने, विभिन्न प्रदेशमा कम्तीमा तीन स्थानमा विद्यार्थीलाई वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र नेप्सेको वेबसाइटमार्फत ग्लोबल मनी विक अवधिमा आर्थिक सहयोग तथा विकास संगठनले निर्देशित गरेबमोजिमको लोगोसहितको वित्तीय साक्षरतासम्बन्धी अनलाइन सन्देशहरू प्रवाह गर्दैछ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले विगत लामो समयदेखि समग्र पुँजी बजार साक्षरता अभिवृद्धि गर्न पुँजी बजार साक्षरतासम्बन्धी सचेतनाका लागि विभिन्न जानकारीमूलक श्रव्य, दृश्य तथा पाठ्य सामग्रीहरू उत्पादन गरी विभिन्न सञ्चारका माध्यमद्वारा प्रसारण तथा प्रकाशन गरिरहेको छ। साथै नेप्सेको परिष्कृत वेबसाइटमार्फत सूचीकृत कम्पनीका मूल्य संवेदनशील सूचना तथा जानकारी, त्रैमासिक तथा वार्षिक वित्तीय विवरणहरूलगायत लगानीसम्बन्धी अन्य सूचना तथा जानकारीहरू यथाशीघ्र प्रसारित गरी आमलगानीकर्तालाई समयमै सुसूचित गराई विवेकशील लगानीसम्बन्धी निर्णय लिई सहयोग गरिरहेको छ। साथै सामाजिक सञ्जालअन्तर्गत फेसबुक पेज सञ्चालन गरी विभिन्न सूचना तथा जानकारीहरू तथा लगानीसम्बन्धी सचेतनामूलक भिडिओ, अन्तर्वार्ता आदि प्रसारित गरिरहेको छ।
साथै देशका विभिन्न प्रदेश, जिल्ला तथा दूरदराजका स्थानमा वित्तीय साक्षरता अभिवृद्धिका लागि पुँजी बजार साक्षरतासम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम नेप्सेको वार्षिक नीति तथा कार्यक्रममा समेटेर नियमितरूपमा सञ्चालन गर्दै आइरहेको छ।
साथै देशभरका विभिन्न क्याम्पस तथा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित पुँजी बजारसम्बन्धी सचेतना कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गर्दै आएको छ। र नेपालको पुँजी बजारको दोस्रो बजार कारोबारसम्बन्धी क्याम्पस तहमा अध्ययनरत विद्यार्थीलाई जानकारी दिने उद्देश्यले भिजिट नेप्सेअन्तर्गत अन्तरक्रिया तथा अवलोकन भ्रमण गराउँदै आइरहेको छ।
यस कार्यक्रमअन्तर्गत हालसम्म एक सयभन्दा बढी क्याम्पसका आठभन्दा बढी विद्यार्थीले नेप्से भ्रमण गरी पुँजी बजारसम्बन्धी जानकारी हासिल गरेका छन्। इच्छुक अन्य क्याम्पसले पनि नेप्सेमा सम्पर्क गरी यस्तो जानकारी लिन सक्ने व्यवस्था छ।
– रिजाल नेपाल स्टक एक्सचेन्ज लिमिटेडका वरिष्ठ अधिकृत हुन्।
प्रकाशित: ४ चैत्र २०८१ १०:३६ सोमबार