अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा आगामी चैत ४ गतेदेखि सुरु हुने भएको छ।
नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा आगामी चैत ४ र ५ गतेसम्म दुईदिने प्रतियोगिता हुन लागेको हो। गोकर्णेश्वर नगरपालिका–६ स्थित नारायणटारमा संघले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको थियो।
उक्त कार्यक्रममा संघका अध्यक्ष देवि आचार्य र टेक्निकल हेड प्रेमसुन्दर होना, महासचिव राजु खड्का, उपाध्यक्ष सुन्दर राई, सचिव रवीन्द्र खड्का र सदस्य अनन्त राईलगायत उपस्थित थिए। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा खेलहरू सञ्चालन हुनेछन्।
प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा ६ गरी कुल १३ टोलीले सहभागिता जनाउने पक्का भएको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। पुरुषतर्फ समूह ‘ए’ मा दुई विभागीय टोली एपिएफ र आर्मीसहित इस्पाइनल कट इन्जरी नेटवर्क नेपाल (एससिआइएनएन) र ह्विलचियर स्पोट्र्स एसोसिएसन (डब्ल्युएसए) छन्।
अर्को समूहमा बिआइए, नेपाल आदिवासी जनजाती अपाङ्ग संघ (एनआइडिए) र आयोजक टोली एनएससिआइए छन्। महिलामा भने समूह ‘ए’ मा एससिआइएनएन, राष्ट्रिय आदिवासी अपाङ्ग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए छन्। अर्काे समूहमा जावलाखेल ह्विलचियर स्पोट्र्स क्लब (जिडब्युएससी), डब्ल्युएसए र बिआइए छन्।
प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाले प्रतियोगिता लिग कम नकआउट आधारमा हुने भएको छ। पहिलो दिन १५ खेल हुनेछन्। लिगचरणका खेल सकिएसँगै दोस्रो दिन नै सेमिफाइनल, फाइनल, तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा हुने तालिका छ। पुरुषतर्फ पहिलो खेलमा एपिएफ र एससिआइएनएन भिड्ने छन्। महिलामा भने जावलाखेलले डब्ल्युएसएलाई चुनौती प्रस्तुत गर्नेछन्।
संघका अध्यक्ष देवी आचार्यका अनुसार महिला र पुरुष दुवै टोलीको विजेताले ५० हजार, दोस्रोले ४० र तेस्रोले ३० हजार रूपैयाँ पाउनेछन्। प्रतियोगिताको हाइ स्कोरर र सर्वोत्कृष्ट खेलाडीले समान तीन हजार रूपैयाँ प्राप्त गर्नेछन्। सहभागी सबै खेलाडीले जर्सीसहित प्रतिदिन एक हजार रूपैयाँ दरले यातायात खर्च र खाना खाजासमेत दिइने उनले जानकारी दिइन्। उनले युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश र प्रदेश खेलकुद विकास परिषद्बाट सहयोग प्राप्त भएको बताइन्।
प्रकाशित: ३ चैत्र २०८१ ०७:३८ आइतबार