रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले बुधबार एक कार्यक्रमबीच सानेपास्थित एकेडेमीको औपचारिक रूपमा उद्घाटन गरेका थिए। ललितपुर महानगरपालिका–२ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ।
एकेडेमी तयार गर्न करिब ३० लाख रूपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ। एकेडेमीको प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक साम्सङजंग थापा, सोनु दास र सक्षम बास्ताकोटी रहेका छन्। एकेडेमी हालै सञ्चालनमा आए पनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण गराउँदै आएको छ।
विद्यालयमा हाल १ सय ५० खेलाडीले प्रशिक्षण गरिरहेको जनाइएको छ। रेडियन्ट रिडर्सले क्रिकेटबाहेक टेबल टेनिस, बास्केटबल, फुटबल, पौडी, कराते र जिन्यास्टिकको प्रशिक्षक नै राखेर विद्यार्थीलाई प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउँदै आएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकप्तान मल्लले एकेडेमी स्थापना गर्नु प्रशंसनीय कार्य भएको बताउँदै यो कार्यले नेपाली क्रिकेटको विकासमा पनि योगदान दिने विश्वास व्यक्त गरे। उनले साधारण प्रशिक्षण मात्र पर्याप्त नहुने भएको हुँदा एकेडेमीमै प्रशिक्षण लिएको खण्डमा खेलाडीको क्षमता वृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गरे।
प्याब्सनका केन्द्रीय अध्यक्षसमेत रहेका रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले राष्ट्रलाई योगदान दिने खेलाडी र जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमीको स्थापना गरिएको बताउँदै नेपालमा पनि खेलकुद विश्वविद्यालय वा खेलकुद कलेज बनाउनेतर्फ प्याब्सनले काम गरिरहेको बताए। प्रिन्सिपल ढुंगानाले कुनै न कुनै हिसाबले रेडियन्ट रिडर्सले शिक्षाका अलावा खेलकुदसँगै अन्य अत्तिरिक्त क्रियाकलापमा पनि जोड दिइरहेको बताए।
प्रकाशित: २२ फाल्गुन २०८१ ०७:१६ बिहीबार