सरोकारवाला पक्षसँग छलफलसहित महत्त्वपूर्ण चार निर्णय लिँदै कर्णाली प्रदेशमा तय दसौं राष्ट्रिय खेलकुद आयोजनाको प्रक्रिया अगाडि बढाइएको छ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार बसेको दसौं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठकले आयोजनाका लागि आवश्यक सरोकारावाला पक्षसँग छलफल गर्दै लामो समयदेखि प्रतीक्षा गरिरहेको राष्ट्रिय खेलकुद आयोजनाको तयारी सुरु गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै निर्णय पनि गरेको छ।
गत फागुन १५ गते बसेको राखेपको १२१औं बोर्ड बैठकले दसौं खेलकुद अर्को वर्षको जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो। तेस्रोपल्ट सारिएको दसौं राष्ट्रिय खेलकुदको मंगलबार भने प्रक्रिया अगाडि बढाइएका छ।
मंगलबारको बैठकले दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सुर्खेतमा आगामी फागुन २५ स्थापना गर्ने र दसौं राष्ट्रिय खेलकुदको सहआयोजकको रूपमा कर्णाली प्रदेश सरकार रहने व्यवस्थाअनुरूप कार्य सम्पादनका लागि अनुरोध गर्ने निर्णय गरेको छ।
साथै आयोजनापश्चात् बाँकी रहेको रकम कर्णाली प्रदेशको संरचना निर्माणका लागि रकमान्तरको पहल गरिने भएको छ। उक्त बैठकले खेलकुद सम्पन्न गर्न पूर्वाधार निर्माण एवं स्तरोन्नति कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद्अन्तर्गत खर्च नहुने पुँजीगत रकममध्येबाट कर्णाली प्रदेशलाई बजेट रकम हस्तान्तरणका लागि अर्थ मन्त्रालयमार्फत आवश्यक प्रक्रियाका लागि अनुरोध गर्ने भएको हो।
दसौं राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापन सम्बन्धी (पूर्व तयारी, उद्घाटन एवं खेल सञ्चालन र समापन) कार्ययोजना पेस गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय पनि मंगलबारको बैठकले गरेको छ। सो अवसरमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुदको शीर्षकगत खर्चको विवरणलगायतका विषयमा जानकारी गराएका थिए। खेलकुदमन्त्री चौधरीले दसौं राष्ट्रिय खेलकुद अब कुनै हालतमा नसर्ने बताउदै सम्बन्धित सबैलाई तयारीमा जुट्न आग्रह गरे।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले दसौं राष्ट्रिय खेलकुद कर्णालीका लागि पनि गौरवको विषय भएको र यसलाई सफल पार्न आफ्नो सरकारले सरोकारवालासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधिका सभापति अम्बरबहादुर थापा, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका बोर्ड सदस्य, खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, होटल एसोसिएसन नेपालका प्रतिनिधि, उद्योग वाणिज्य महासंघ, विभागीय टोली, ओलम्पियन एसोसिएन अफ नेपाल र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका प्रतिनिधिलगायत उपस्थित थिए।
प्रकाशित: २१ फाल्गुन २०८१ ०६:५३ बुधबार