३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:२९ अपराह्न
खेल

फाइनलमा नेपाल फेरि असफल

च्याम्पियन म्यानमारको टोली, हेड गर्ने प्रयासमा नेपालकी रेखा पौडेल र प्लेयर अफ द टुर्नामेन्ट रेणुका नगरकोटी। तस्बिर सौजन्य: केशव थापा

म्यानमारसँग नतिजा सुम्पिएसँगै नेपाली महिला फुटबल टोली घरेलु मैदानमा एकपल्ट फेरि अन्तर्राष्ट्रिय उपाधि जित्न असफल भएको छ।

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा बुधबार नेपालले म्यानमारसँग २–० को नतिजा सुम्पिन पुग्यो। यससँगै नेपाली महिला टोली फाइनल भिडन्तको १३औं प्रयासमा पनि असफल भयो। घरेलु मैदानमा नै पाँच महिनापछि उपाधि जित्ने नेपालको लक्ष्य फेरि पूरा हुन सकेन।

गत कात्तिकमा सम्पन्न महिला साफ च्याम्पियनसिपको फाइनलमा पनि नेपाल बाङ्लादेशसँग ४–१ ले पराजित हुन पुगेको थियो। यसै वर्ष मात्र नेपाल तेस्रोपल्ट फाइनलमा जित निकाल्न असफल रह्यो।

यसअघि नेपालले वाफ र साफ च्याम्पियनसिपको फाइनल गुमाएको थियो। अब आगामी जुन २३ देखि एएफसी एसियन कप क्वालिफायर हुँदै छ। सोही क्वालिफायरको तयारी गर्ने उद्देश्यअनुरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार देशीय च्याम्पियनसिप आयोजना गरेको हो।

बलियो म्यानमारसँगै समान स्तरको लेबनान र किर्गिस्तानलाई बोलाउँदै एन्फाले महिला टोलीको तयारीलाई निरन्तरता दिन यो प्रतियोगिता आयोजना गरेको थियो। यस क्रममा आफूभन्दा बलियो म्यानमारको चुनौती पन्छाउँदै घरेलु टोली इतिहास रच्न चाहन्थ्यो।

साथै फिफा विन्डो सदुपयोग गर्दै नेपाल एएफसी एसियन कप क्वालिफायरको तयारीमा पनि जुटेको हो। तयारी र नतिजा हेर्ने हो भने समग्रमा यो च्याम्पियनसिप नेपालका लागि सुखद मान्नुपर्दछ। नेपालले चारमध्ये दुई जित, एक बराबरी र एक हार सामना गर्‍यो।

यस क्रममा आफूभन्दा ४८औं स्थानमा माथिको म्यानमारसँगको दुई भेटमा एक बराबरी र एक हार सामना गरेको हो। यो नतिजाले नेपाली महिला टोली अवसर र एक्सपोजर पाएमा आफूलाई प्रमाणित गर्न सक्छ भन्ने सन्देश पनि दिएको छ। किनकि बलियो टोली म्यानमारविरुद्ध नेपाली टोलीको प्रदर्शनले पनि पुष्टि गरेको छ।

नेपाली महिला टोलीकी सिनियर खेलाडी रेनुका नगरकोटीले पनि नियमित एक्सपोजर पाइरहे अझै राम्रो खेल्न सक्ने बताउँछिन्। ‘फेरि एकपल्ट फाइनलमा चुक्दा दुःख लागेको छ। यसपल्ट पनि स्वर्ण जित्न नसक्दा दुःखी छु।

यसरी नियमित खेल हुँदा हाम्रो टोलीको स्तरमा पनि सुधार आउँछ,’ रेनुकाले भनिन्। नेपालका प्रशिक्षक राजेन्द्र तामाङले पनि अब महिला टोलीलाई नियमित खेलाउन फिफा विन्डोलाई खेर जाने नदिने योजना रहेको उल्लेख गरे। ‘एन्फाले महिला टोलीका लागि योजना दिएको छ। अप्रिलमा पनि एउटा मैत्रीपूर्ण खेल खेल्ने तयारी छ। महिला टोलीलाई एक्सपोजर दिन नियमित खेल आयोजना अघि बढाएको हो,’ प्रशिक्षक राजेन्द्रले भने, ‘यसरी खेल भैरहँदा हाम्रा खेलाडीले अझै राम्रो गर्न सक्छन्।’

म्यानमारका शिक्षक तेत्सुरा युकीले नेपालले पहिलो हाफमा धेरै राम्रो खेलेको उल्लेख गर्दै दोस्रो हाफमा रणनीति परिवर्तन गरेर खेल्दा सहज भएको बताए। साथै उनले नेपाली महिला टोलीको भविष्य धेरै राम्रो रहेको पनि प्रतिक्रिया दिए।

घरेलु मैदानमा भएको च्याम्पियनसिपमा बलियो टोली म्यानमारसँग जित निकालेको भए नेपाली टोलीमा अझै आत्मबल बढ्ने थियो। तर, सफल हुन सकेनन्। यद्यपि, एक बराबरीले पनि नेपाली खेलाडीमा आत्मबल भने बढेको छ। जुन कुरा दुई पटक पछि परेको अवस्थामा नेपालको पुनरागमले पुष्टि गरेको छ। फाइनलमा पहिलो हाफसम्म नेपालीले फिफाको ५५औं वरीयतामा रहेको म्यानमारविरुद्ध लगातार अवसर बनाउँदै चुनौती पनि दियो।

यद्यपि, अवस सदुपयोग गर्न सकेन। पहिलो हाफ गोलरहित बराबरीमा सकियो। तर, दोस्रो हाफमा नेपाली टोली दुई मिनेटको अन्तरमा दुई गोल खान पुग्यो। यसपछि भने नेपाल बलियो म्यानमारसँग समालिन सकेन। दुई गोल बेहोरेपछि पनि नेपाली टोलीले केही प्रयास गरे पनि सफल भएन।

म्यानमारको लागि यु पेर खिनले गोल गरे। एउटा आत्मघाती गोल उपहार पायो। त्यसअघि खेलको २२औं मिनेटमा म्यानमारले उत्कृष्ट अवसर सिर्जना गर्‍यो। सान थअ थअले पेनाल्टी बक्सबाट सशक्त प्रहार डिफेन्डर विमला विकले रोक्दै नेपालको संकट टारिन्। नेपालकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा बिट भएको अवस्थामा विमलाले रोकेकी हुन्।

३४औं मिनेटमा नेपालले अग्रता लिने उत्कृष्ट अवसर खेर फाल्यो। सावित्रा भण्डारीले म्यानमारकी गोलकिपर म्यो मे निइनसँग वान भर्सेस वानमा गोल गर्ने अवसर गुमाइन्। सावित्राको सट मेले उत्कृष्ट बचाउ गरिन्। लगत्तै रिबाउन्ड बललाई रेखा पौडेलले पोस्टको दिशा दिन सकिनन्। ४४औं मिनेटमा रेनुका नगरकोटीले दिएको लामो क्रसलाई रेखा पौडेल पनि हेड गर्न सफल भइनन्। यससँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा म्यानमारले दुई गोल गर्‍यो। ५५औं मिनेटमा घरेलु टोलीका लागि सावित्रा हेडर दोस्रो बार नजिकैबाट बाहिरियो।

विमला विकको लामो प्रहारलाई सावित्राले हेड गरे पनि पोस्टको दिशा दिन सकिनन्। ६२औं मिनेटमा म्यानमारले यु पेर खिनको उत्कृष्ट गोलबाट अग्रता लियो। यु पेरले एकल प्रयासमा गोल गरेकी गरेका हुन्।

पेनाल्टी बक्सको लेफ्ट साइडबाट उनले गरेको सट गोलमा परिणत भयो। दुई मिनेटपछि नै म्यानमारले दोस्रो गोल गर्‍यो। मध्यभाग परबाट म्यानमारको फ्रिकिकलाई ध्यान नदिँदा नेपालले गोल बेहोर्न पुग्यो। म्यानमारकी कप्तान विन थिङ्गी तुनको सट गोलकिपर एन्जिलाले रोक्ने प्रयास गरिन्। तर, एन्जिलाबाट फुत्किएको बल नेपाली डिफेन्डर गीता रानाको खुट्टामा ठोकिएर गोलमा परिणत भयो।

म्यानमारले ६९औं मिनेटमा पनि गरेको लामो प्रहार बारमाथि लागेर बाहिरियो। एक मिनेटपछि नै नेपालको गोल फर्काउने प्रयास सफल भएन। लामो दूरीबाट रश्मिकुमारी घिसिङको प्रहार म्यानमारकी गोलकिपर म्योले मुस्किलले बचाइन्।

लगत्तै कर्नर प्रहारमा सरु लिम्बुको हेडर पनि गोलमा परिणत हुन सकेन। इन्जुरी समयमा सावित्राको फ्रिकिक पनि म्यानमारकी गोलकिपर म्योलले पन्च गर्दै असफल बनाइन्। त्यसपछि बाँकी समयमा पनि नेपालले गोल फर्काउन सकेन र फेरि उपाधिविहीन भयो। यद्यपि, नेपालकी रेनुका नगरकोटी प्लेअर अफ द टुर्नामेन्ट भइन्।

प्रकाशित: १५ फाल्गुन २०८१ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App