चिनियाँ कलाकारहरूले लुम्बिनीमा ‘म कहिल्यै नमरी जीउन चाहन्छु’ नामक चलचित्रको छायांकन गर्ने तयारी गरेका छन्।
बुद्ध र लुम्बिनीसँग सम्बन्धित यो चलचित्रको एकतिहाइ भाग लुम्बिनीमै सुटिङ गरिने निर्माता तथा कलाकारहरूले आइतबार लुम्बिनी विकास कोषसँगको छलफलमा जानकारी गराएका हुन्।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले चलचित्रले बुद्ध र लुम्बिनीको सकारात्मक प्रचार गर्ने भएकाले खुशी लागेको बताए।
उनले भने, ‘यस चलचित्रले चिनियाँ नागरिकहरूमा बुद्ध र लुम्बिनीको सन्देश पुर्याउन मद्दत गर्नेछ, साथै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्नेछ।’ कोषले कानुनी रूपमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
छलफलका क्रममा कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले चलचित्रले बुद्धको सन्देश सही रूपमा प्रस्तुत गर्नुपर्ने सुझाव दिए। उनले लुम्बिनी मात्र नभई बृहत्तर क्षेत्रसमेत समेट्दा प्रभावकारी हुने बताए।
चलचित्रका निर्माता चाउ डिफिङले आफूहरू अहिले प्रारम्भिक जानकारी संकलन गर्न आएको जनाए। उनले भने, ‘हामी बुद्धको जीवन दर्शनलाई चलचित्रमार्फत प्रस्तुत गर्न चाहन्छौं, त्यसैले लुम्बिनी आएर छायांकन गर्ने योजना बनाएका हौं।’
उनको टोलीमा छायांकार डेङ छुङमिनसहितका सदस्यहरू थिए।
चिनियाँ कलाकारहरूको टोलीका सहजकर्ता डा. सागर न्यौपानेका अनुसार लुम्बिनीमा चलचित्र छायांकन हुँदा अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सहयोग पुग्नेछ।
‘यसले लुम्बिनीलाई विश्वव्यापी रूपमा चिनाउने अवसर दिनेछ,’ उनले भने। चलचित्रको छायांकन सम्बन्धी थप प्रक्रियाका लागि चिनियाँ दूतावासमार्फत समन्वय गरिने जनाइएको छ।
प्रकाशित: ३ चैत्र २०८१ २०:५१ आइतबार