गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डको राजधानी बैंककमा 'इम्पावरिङ द युथ, शार्पिङ द पिएनओज फ्युचर' भन्ने मूल नाराका साथ २०२५ को १५ र १६ मार्चमा भव्यतापूर्वक सम्पन्न भएको छ।
प्रधानमन्त्री के पी शर्मा ओलीको भर्चुअल सम्बोधन तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पूर्व मन्त्री तथा सांसद पदम गिरी, थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओली, विभिन्न देशमा बसोबास गर्ने पीएनओ तथा युवाहरू विषयगत विज्ञहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रका तथा व्यवसायिक संघ–संस्थाका प्रतिनिधिहरू, कलाकार, सञ्चारकर्मीहरू तथा ३५ भन्दा बढी देशबाट भौतिक एवं भर्चुअल माध्यमबाट सहभागी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओ सम्मेलनका विभिन्न सत्रमा छलफल पश्चात ७ बुँदे घोषणापत्र जारी समेत गरेको छ।
यस्तो छ ७ बुँदे घोषणापत्र:
१. विदेशमा बस्ने नेपाली विभिन्न किसिमका छन्। अहिलेको संविधान ऐनले तीन पुस्तालाई मात्र कल्पना गरेको देखिन्छ। तर त्यो भन्दा बढी पुस्ता विदेशमा रहेका नेपालीलाई पनि सम्बोधन गर्न अनिवार्य भएको छ जो नेपाली मूलका विदेशी नागरिक हुन्। त्यसैले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्ने गरी व्यवस्था गरिदिन साथै गैरआवासीय नेपाली नागरिकता तथा गैरआवासीय नेपाली परिचयपत्र प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधनको लागि सरकार समक्ष पहल अनुरोध अनुरोध गर्दछौं।
२. विदेशमा रहेको युवा तथा दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्न विभिन्न योजना बनाई विदेशमा रहेका नेपालीका सन्तानलाई नेपालसँग भावनात्मक, सांस्कृतिक तथा आर्थिक रूपमा जोड्ने कार्यक्रमहरू अघि बढाइनेछ र बौद्धिक सम्पत्तिलाई प्रबर्धन गर्दै नेपाली युवालाई नेपालमै रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्न पहल गरिनेछ। विदेशमा रहेका युवा पिँढी र दोस्रो पुस्तालाई देशसँग जोड्न आवश्यक नीति नियम बनाउन सरकारसँग अनुरोध गरिन्छ।
३. मातृभूमि नेपाल र गैरआवासीय नेपाली संघसँग बिदेशमा रहेका पिएनओ तथा दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई जोड्न सहयोग गर्ने जिम्मेवारी सहित दमकडा नमूना मा बि पाल्पाकी ओजस्वी आचार्य तथा थाईल्याण्ड निवासी पिएनओ खुसी कार्कीलाई एनआरएनए ब्राण्ड एम्बासडरका रूपमा घोषणा गर्ने यो सम्मेलन सर्वसम्मत निर्णय गर्दछ । गैरआवासीय नेपाली सघको बिधानको धारा १७.२ मा ब्यबस्था भएनुसार दोश्रो पुस्ता गैरआवासीय नेपाली संयोजकमा थाईल्याण्ड निवासी श्री बारामी राईलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गर्दछ।
४. एनआरएनएको प्रस्तावमा प्रत्येक बर्ष दुई जना नेपाली विद्यार्थीलाई एसियन इन्टरनेशनल युनिभर्सिटी उज्बेकिस्तानमा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनको अवसर उपलब्ध गराइने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ। ती दुई जना विद्यार्थीको छनोटमा पारदर्शिता अपनाउने घोषणा गर्दछौं र भविष्यमा पनि यस्ता अवसरहरूको खोजी गर्नेमा प्रतिबद्धता समेत जनाउँदछौँ ।
५. गैरआवासीय नेपाली नागरिकता जारी भईसकेको तर हाल यसको प्रयोगमा विभिन्न कानूनी जटिलता रहेको हुनाले यस सम्बन्धी कानून निर्माण गर्नका लागि सहजीकरण गरिदिनुहुन सरकारको ध्यानाकर्षण गराउँछौं। गैरआवासीय नेपाली नागरिकलाई सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार नेपाली सरह नै प्रयोग गर्न दिने क्रममा अचल सम्पत्ति (पैत्रिक सम्पत्ति समेत) प्राप्त र खरिद गर्न, साविक वंशजको नेपाली नागरिकता त्याग गर्नुपूर्वको नेपाली नागरिकता प्रमाणपत्र नम्बर सहितको जग्गाधनी दर्ता प्रमाणपत्रमा गैरआवासीय नागरिकता नम्बर कायम गर्न लगायतका विषयमा सहज गरिदिनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग र सम्पूर्ण मालपोत कार्यालयलाई परिपत्र गरिदिन र पैत्रिक सम्पत्ति आफ्नो नाममा ल्याउनको लागि सहजीकरण गरिदिन हुन सविनय अनुरोध गर्दछौं।
६. गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न प्रतिबद्ध छ। यसलाई साकार बनाउन विभिन्न एसियन राष्ट्रसंग सशक्त साझेदारी, प्रभावकारी नीति सहयोग र डिजिटल प्रवर्द्धनलाई प्राथमिकता दिँदै नेपालमा रहेका पूर्वाधार, सुरक्षा, हवाई सेवा र अन्य चुनौतीहरूको समाधानका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्न आह्वान गर्दछौं।
७. बृहत एकताका लागि हदैसम्मको लचकता अपनाउने साथै संघको व्यापक हितका लागि सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै आगामी अक्टोबर ११ देखि १४ मा १२ औँ महाधिवेशन एवं विश्व सम्मेलन आयोजनाका लागि एकबद्ध भई काम गर्न आह्वान गर्दछौं।
अन्त्यमा, हामीले विभिन्न क्षेत्रहरूमा PNO (नेपाली मूलका विदेशी नागरिक) र दोस्रो पुस्ताका युवाहरूलाई समेट्यौं, उनीहरूमा ध्यान केन्द्रित गर्यौं, उनीहरूको सफलताको कथा सुनायौं जसले यो सम्मेलनलाइ महत्त्वपूर्ण ऐतिहासिक बनाएको छ । पीएनओ, गैरआवासीय नेपालीहरु र विश्वभरिका ८० लाख नेपालीलाई आपसी विश्वास, समझदारी, एकता र सद्भाव कायम राख्दै आफ्नो ज्ञान, सीप र पूँजीलाई मातृभूमिको समृद्धिमा लगानी गर्ने अवसर प्रदान गर्ने दिशामा यो सम्मेलन फलदायी रहेको हाम्रो निष्कर्ष छ । यस सम्मेलनलाई भव्यतापूर्वक सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, विज्ञहरू, सञ्चारकर्मी, प्रायोजक, आतिथ्य राष्ट्र एनसीसी थाईल्याण्ड, थाई नेपाली एसोसियसन, उद्घाटन शत्र आयोजना गरेकोमा AIT-NST तथा अन्य स्थानीय संघहरु, सामाजिक अभियन्ता तथा अग्रजहरु सहित सबै सरोकारवालाहरूलाई संघ हार्दिक आभार व्यक्त गर्दछ।
प्रकाशित: ४ चैत्र २०८१ ०८:२१ सोमबार