२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

८ वर्षपछि आफ्नै भवनमा सर्‍यो सशस्त्र प्रहरी गुल्म

८ वर्षअघि गुल्म स्थापना भएको सशस्त्र प्रहरी नेपाल गुल्म हे.क्वा. कालीकोटले आफ्नै भवनबाट सेवा सुरु गरेको छ। 

कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्ममा नवनिर्मित भवनबाट सशस्त्र प्रहरीले सेवा सुरु गरेको हो।

भवन उद्घाटन नगरी सशस्त्र प्रहरीले भवनबाट सेवा सुरु गरेको छ। पहिले स्थापना भएको स्थायी क्याम्पमा बस्न असहज भएपछि छिटो भवनमा सरेको हो। २०७५ मा स्थापना भएको गुल्ममा सुरुमा जग्गाकै समस्या पर्‍यो। उतिबेला सुरक्षाका लागि परिचालन गरिएको ७५ जनाको टोलीलाई जग्गा अभावले तत्काल जिल्लाको महिला विकासको भवनमा राखिएको थियो।

महिला विकासको भवनबाट लामो समय सेवा असम्भव भएपछि स्थानीय तह र प्रशासनले सशस्त्र प्रहरीका लागि खाँडाचक्र नगरपालिका-१ को कोटदरबारमा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हे.क्वा. कालीकोटको नाममा २०८१/०३/१० गते सरकारी २२ रोपनी २ आना जग्गा प्राप्त गरेको थियो।

डाँडामा जग्गा अभावले महिला विकासको भवनमा बस्दै आएको प्रहरीले अहिले भवन निर्माण भएसँगै नयाँ भवनबाट सेवा सुरु गरेको सशस्त्र प्रहरी बल, नेपाल गुल्म हे.क्वा. कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमोद खड्काले बताए।

उनका अनुसार २ करोड ५० लाखको टेन्डर भएकोमा पीपी निर्माण सेवा प्रा.लि.ले २०८२/१०/०२ गतेको सम्झौताअनुसार २ करोड ४२ लाख १२ हजार ६ सय ५९ रुपैयाँ लागतमा साढे तीन तले कार्यालयलाई ब्यारेक बनाइएको बताए। निर्माण कम्पनीले समयमै भवनको काम सम्पन्न गर्दा सशस्त्र प्रहरी बल, नेपाल गुल्म हे.क्वा. कालीकोटले आफ्नै कार्यालयबाट सेवा दिन सहज भएको उनको भनाइ छ।

प्रकाशित: २७ कार्तिक २०८३ २०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App