राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले खेलाडी र खेलकर्मीको नाममा गुन्डागर्दी गर्नेलाई कसैले पनि संरक्षण गर्न नहुने बिहीबार बताएकी छन्।
गत माघ २५ गते केही समूहले ज्ञापनपत्र बुझाउने क्रममा त्रिपुरेश्वरस्थित राखेपका सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड र घिसिङमाथि दुर्व्यवहार गरेका थिए। सोही घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न कर्मचारी संघले माग राख्दै आएको छ। त्रिपुरेश्वरस्थित राखेप हातामा बिहीबार आयोजित कार्यक्रममा कर्मचारी संघकी अध्यक्ष भण्डारीले खेलक्षेत्रमा खराब गतिविधि गर्ने व्यक्तिलाई संरक्षण गर्न नहुने धारणा राखेकी हुन्।
‘खेलाडी र खेलकर्मीको नाममा गुन्डागर्दी गर्नेलाई संरक्षण गर्नु हुँदैन। घटना घटेको दुई साता भइसक्यो। कोही पक्राउ परेका छैनन्। यस्ता अपराधिक घटनामा संलग्नको यथाशीघ्र खोजी गरी कानुनी दायरामा ल्याएर कारबाही गर्न सम्बन्धित निकायसँग कर्मचारी संघ जोडदार माग गर्दछ,’ उनले भनिन्।
अध्यक्ष भण्डारीले त्यस किसिमको आक्रमण सदस्यसचिवमाथि मात्र नगरिएको उल्लेख गर्दै सिंगो खेल क्षेत्र र तमाम खेलकर्मीमाथिको प्रहार रहेको पनि बताइन्। उनले यो कार्यक्रम विरोधसँगै दोषीलाई कानुनी दायरामा ल्याउन दबाब पनि रहेको बताएकी छन्।
सो अवसरमा राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्यहरू प्रकाशकुमार कुसारी, अञ्जन धमला, विदुर ढुंगाना, नन्दा बस्याल, रामचन्द्र श्रेष्ठ, अञ्जना श्रेष्ठ, मधुसूदन सुवेदी र हिमालकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायत पदाधिकारी, कर्मचारी, प्रशिक्षक र राष्ट्रिय खेल संघका पदाधिकारीलगायत उपस्थित थिए।
प्रकाशित: ९ फाल्गुन २०८१ १२:१५ शुक्रबार





