खराब डिफेन्सको सुधार गर्ने अपेक्षासहित नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार (आज) घरेलु मैदानमा किर्गिस्तानसँग खेल्दै महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ।
चार देश (लेबनान, म्यानमार र किर्गिस्तान) सम्मिलित च्याम्पियनसिपमा नेपालले सोमबार दशरथ रंगशालामा साँझ ५ः३० बजे खेल्दै छ। यो खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी उपलब्ध हुने छैनन्। करिब तीन महिनापछि नै घरेलु मैदानमा अन्तर्राष्ट्रिय च्याम्पियनसिप सुरु गर्दा नेपाली टोलीले आफ्नो कमजोर पक्ष खराब डिफेन्समा सुधार गर्ने लक्ष्य राखेको छ।
घरेलु मैदानमा सुरु हुने यो च्याम्पियनसिप नेपालका लागि विशेष छ। किनकि नेपाली चेली यो च्याम्पियनसिप जित्दै १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिविहीन यात्रालाई समेत पूर्णविराम लगाउन चाहन्छन्।
गत कात्तिक १४ गते घरेलु मैदानमा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बाङ्लादेशसँग पराजित भएपछि नेपाली महिला टोली फेरि उपाधिविहीन बन्न बाध्य भएको हो। तर, करिब तीन महिनापछि नै अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किंदा नेपाललाई फेरि अर्को अवसर मिलेको छ। साथै भर्खर महिला राष्ट्रिय लिग सकिएकाले पनि सबै खेलाडी राम्रो लयमा पनि देखिएका छन्। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पनि भर्खर लिग सकिएकाले इन्डुरेन्समा आफूले धेरै काम गर्न नपरेको र ट्याक्टिल पक्षमा पनि काम गरेको उल्लेख गरे।
‘साफमा मैले इन्डुरेन्समा पनि काम गर्नुपर्दा धेरै लोड भएको थियो। यसपल्ट भर्खर लिग सकिएकाले त्यो अवस्था छैन। ट्याक्टिकलमा काम गरेको छु। साथै पछिल्ला प्रतियोगितामा भएका गल्तीमा सुधारको काम पनि गरेँ,’ प्रशिक्षक तामाङ बताउँछन्।
प्रशिक्षक तामाङले पछिल्ला समय भएको खराब डिफेन्सलाई सुधार गर्न काम पनि गरिरहेको पनि उल्लेख गरे। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप यो प्रतियोगिता खेलेको हो। त्यसअनुरूप फिफा वरीयतामा माथि रहेको म्यानमारका साथै किर्गिस्तान र लेबनानलाई बोलाएर च्याम्पियनसिप आयोजना गरेको एन्फाले उल्लेख गरेको छ।
नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले पनि यो प्रतियोगिता आफूहरूका लागि महत्त्वपूर्ण रहेकाले पनि एन्फालाई धन्यवाद दिइन्। ‘केही समयअगाडि मात्र साफ खेलेका थियौं। त्यसपछि लिग भयो। लगत्तै अहिले एन्फाले राम्रो टोली सहभागी च्याम्पियनसिप आयोजना गरेको छ, जुन हाम्रा लागि धेरै खुसीको पक्ष हो। त्यसैले पनि यो प्रतियोगितामा राम्रो गर्न चाहन्छौं,’ कप्तान एन्जिला भन्छिन्।
म्यानमार हाल फिफाको ५५औं स्थानमा छ। जुन नेपालभन्दा ४८औं स्थान माथिको हो। किर्गिस्तान १२८औं र लेबनान १३४औं स्थानमा छन्। तर, प्रशिक्षक राजेन्द्र र कप्तान एन्जिला सहभागी सबै टोली राम्रो रहेको बताउँछन्। उनीहरू सजग भएर खेल्ने योजनामा छन्।
‘सबै टोलीसँग खेलिसकेका छौं। लेबनान र म्यानमार केही बलिया छन्। वाफमा भएको पछिल्लो भेटमा लेबनानसँग एउटा गल्तीले गोल बेहोरेको थियौं। यसपल्ट सुधार गर्ने आशा गर्नेछौं। तर, लेबनानसँग छिट्टै खेल रिड गर्न सक्ने क्षमता छ। त्यसैले सचेत भएर खेल्नेछौं। उनीहरूमा इन्डुरेन्सको कमी छ र त्यसको फाइदा लिने योजनामा हुन्छौं,’ उनले भने।
प्रशिक्षक तामाङले म्यानमार बलियो रहे पनि यसपल्ट आफ्नो टोली पनि राम्रो रहेकाले सकारात्मक नतिजा आउने बताएका छन्। म्यानमारसँगको प्रतिस्पर्धामा पनि नेपालले राम्रो प्रदर्शन गर्दै आएको छ। पछिल्ला दुई भेटमा म्यानमारले एक जित (सन् २०१९ को एसिया ओलम्पिक क्वालिफिकेसनमा ३–१) र एक नतिजा बराबरी (सन् २०१८ को एसिया ओलम्पिक क्वालिफिकेसनमा १–१) को भएको थियो।
करिब ६ वर्षपछि म्यानमारसँग प्रतिस्पर्धा गर्दा जित निकाल्ने आशामा नेपालका प्रशिक्षक तामाङ छन्। आइतबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक तामाङले पहिलो खेलको प्रतिद्वन्द्वी किर्गिस्तान अहिले बलियो रहे पनि निश्चित योजना बनाएर उत्रने बताएका छन्।
बलियो टोलीको रूपमा खेल्दै विपक्षीको काउन्टर अट्याकको रणनीतिलाई रोक्नुपर्ने प्रशिक्षकले उल्लेख गरेका छन्। साथै प्रशिक्षकले टोलीमा राम्रो टिम लिडर हुनुपर्नेमा जोड दिँदै आएको पनि बताएका छन्।
नेपालकी कप्तान एन्जिलाले सहभागी सबै टोली राम्रो रहे पनि मैदानमा प्रदर्शनबाट प्रमाणित गर्ने बताइन्। राम्रो टिम वर्क र तयारी भएकोले जित्ने अपेक्षा रहेको कप्तान एन्जिला बताइन्। उनले यसअघि हुँदै आएको गल्तीलाई सुधार गर्न काम भैरहेको पनि उल्लेख गरिन्। प्रशिक्षकले भनेअनुरूप खेलाडीले तयारी गरिरहेकाले गल्ती नदोहोरिनेमा कप्तान तथा गोलकिपर एन्जिला आशावादी छिन्। किर्गिस्तानको महिला टोली लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किंदै छ।
सन् २०२३ को अप्रिलमा ओलम्पिक क्वालिफाइङको एसिया छनोटमा किर्गिस्तानले भारतसँग खेलेको थियो।
उक्त खेलमा भारतसँग ४–० को हार बेहोरेको किर्गिस्तान लामो समयपछि अन्तर्राष्ट्रिय मैदानमा फर्किन लागेको हो। त्यसैले पनि यस च्याम्पियनसिपमा किर्गिस्तान तुलनात्मक रूपमा कमजोर टोली हो। किर्गिस्तानका प्रशिक्षक नेमातझन जाकिरोभले यो प्रतियोगिता खेल्न पाउँदा आफू उत्साहित रहेको उल्लेख गर्दै राम्रो फुटबल खेल्ने बताए। साथै उनले विपक्षीलाई सम्मान गर्दै टिम युनिटीका साथ राम्रो फुटबल प्रस्तुत गर्ने उल्लेख गरेका छन्।
तर, किर्गिस्तानकी कप्तान अबिबुल्लाह किजी दिल्नुराले आफ्नो युवा टोली उपाधि जित्नको लागि आएको बताएकी छन्। यदि उपाधि जित्न सफल भइएन भने राम्रो अनुभव लिँदै फर्कने पनि उनको भनाइ छ।
लेबनानका प्रशिक्षक वाइल घार्जेडिन्नेले आफ्नो टोलीमा अधिकांश विदेशी भूमिमा खेल्ने खेलाडी र युवा रहेको उल्लेख गर्दै राम्रो फुटबल खेल्ने बताएका छन्। खेलाडीहरूसँग राम्रो तालमेलसहित खेल्ने उनको विश्वास छ। उनले नेपाली टोली बलियो रहेको उल्लेख गर्दै वाफमाभन्दा अहिले सुधारबारे थप जानकारी हुने बताए।
घरेलु टोलीलाई केही दबाब हुने भए पनि आफूहरू बिना दबाब खेल्ने उनको विश्वास छ। लेबनानकी कप्तान नाथाली माटरले आफ्नो टोलीका अधिकांश खेलाडी विदेशमा खेल्ने भएकाले उनीहरूबीच राम्रो तालमेल मिलाउन यो प्रतियोगिता महत्त्वपूर्ण हुने अपेक्षा गरेकी छन्।
म्यानमारका प्रशिक्षक टेटसुरो युकीले आफ्नो टोली पिफा र्याङकिङमा माथि भए पनि विपक्षीले पनि राम्रो तयारी गरेर आएकाले सजक भएर खेल्ने बताएका छन्। नेपाली टोली धेरै राम्रो रहेकाले उनीहरूविरुद्ध राम्रो खेल्ने पनि उनको योजना छ। म्यानमारकी कप्तान विन थिइङ्गी टुमले आफूहरूले अन्य मैत्रीपूर्ण खेल नखेल्ने भएकाले यो प्रतियोगितामा राम्रो गर्ने अपेक्षा गरेकी छन्।
यस च्याम्पियनसिपका लागि टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय रूपैयाँ र भिआइपीतर्फ एक हजार रूपैयाँ तोकिएको छ। राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने लक्ष्यमा छ। तर, त्यसका लागि कम्तीमा दुई टोलीको चुनौती नेपालले समाप्त पार्नुपर्नेछ।
प्रकाशित: ५ फाल्गुन २०८१ ०८:१२ सोमबार