१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml २:५९ पूर्वाह्न
खेल

इलामस्तरीय राष्ट्रपति रनिङ शिल्ड सदरमुकाम बाहिर

सदरमुकाममा मात्र नभई गाउँका पालिकामा समेत खेलकुदको लहर ल्याउने प्रयासमा राष्ट्रपति शिल्डको इलाम जिल्ला स्तरीय १५ औं प्रतियोगिता माई नगरपालिकामा सञ्चालन हुँदै छ । लगातार तीन वर्षयता सदरमुकाम बाहिरका पालिकामा सञ्चालन भइरहेको प्रतियोगिता यसपटक माई नगरमा हुन लागेको हो ।

आउँदो फागुन ४ देखि ६ सम्म प्रतियोगिता सञ्चालन गरिने भएको छ । सितलीस्थित खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका आठ सय ९५ विद्यार्थी (खेलाडी)ले भाग लिनेछन् । रेफ्री र अन्य प्राविधिक एक सय २० जना हुनेछन् । प्रतिनिधि शिक्षक र अन्यसमेत गरी एक हजार पाँच सयभन्दा धेरै जना प्रतियोगितामा सामेल हुने आयोजक जिल्ला खेलकुद विकास समितिले माई नगरमै पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

समिति अध्यक्ष खगेन्द्र बाँस्कोटाले भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट विधाका विभिन्न खेल सञ्चालन हुने जानकारी दिए। ‘सबै खेलमा छात्र र छात्राका अलग–अलग प्रतिस्पर्धा हुनेछन्,’ उनले भने, ‘प्रतियोगितामा विद्यालयहरू सम्बन्धित पालिकाको प्रतिनिधित्व गरी सहभागी हुनेछन् ।’

प्रतियोगिताको तयारी धमाधम भइरहेको आयोजकले जनाएको छ । समितिका राजकुमार खातीले माई नगरमा प्रतियोगिता सञ्चालन गर्न खेलमैदान र अन्य व्यवस्थापन भइरहेको जानकारी दिए । माई नगरपालिकाले प्रतियोगिताका लागि १३ लाख रुपैयाँ सहयोग गर्नेछ ।

प्रतियोगिता हुने स्थानकै पालिका भएकाले अन्य व्यवस्थापनसमेत धमाधम भइरहेको मेयर खम्बासिंह लिम्बूले बताए । ‘माई नगरमा जिल्ला स्तरको प्रतियोगिता हुनु हाम्रा लागि पनि राम्रो अवसर हो,’ उनले भने, ‘यसबारे हाम्रो अनुभव थोरै छ तैपनि उत्कृष्ट व्यवस्थापन गर्न नगरका सबै जनप्रतिनिधि र कर्मचारी जुटेका छौँ ।’

उनले पालिकामा यस्तो प्रतियोगिता हुँदा पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने बताए । ‘यहाँ खेलकुद प्रतियोगिता मात्र हुँदैन, स्थानीय व्यवसायीलाई पनि आम्दानीको माध्यम बन्छ,’ उनले भने, ‘समग्र माई नगरको पर्यटकीय क्षेत्रको प्रचारमा सहयोग पुग्छ ।’ 

माई नगरले प्रतियोगिताका लागि अन्तपालिका, स्वास्थ्योपचार, खेलमैदानलगायत विभिन्न उपसमितिसमेत गठन गरेको उपमेयर हिमा भण्डारीले बताइन् । उनले निर्माणाधीन माई अस्पतालको भवनमा खेलाडीलगायतलाई खानपान र बसोबासको व्यवस्था मिलाइएकोसमेत जानकारी दिइन् । खेलकुद विकास समितिले लगातार तीन पटकका प्रतियोगिता सदरमुकामभन्दा बाहिरका पालिकामा आयोजना गरिरहेको छ । २०७९ सालको प्रतियोगिता फाकफोकथुम र ०८० को माङ्सेबुङ गाउँपालिकामा आयोजना गरिएको थियो ।

सदरमुकामबाहिर प्रतियोगिता आयोजना गर्दा त्यहाँको पनि आर्थिक अवस्था चलायमान हुने भएकाले प्रत्येक वर्ष सदरमुकामबाहिरका पालिकामा प्रतियोगिता सञ्चालन गरिरहेको समिति अध्यक्ष बाँस्कोटाले बताए । ‘सङ्घीयतालाई कार्यान्वयन गर्ने एउटा रूप पनि हो यो,’ उनले भने, ‘सम्बन्धित पालिकाको पर्यटन, संस्कृतिको प्रचार र आर्थिक विकासमा पनि यो प्रतियोगिताले सहयोग पुग्छ ।’

फाकफोकथुममा प्रतियोगिता आयोजना गर्दा १६ लाख र माङ्सेबुङमा २३ लाख रुपैयाँको कारोबार भएको उनले जनाए । 

प्रकाशित: १ फाल्गुन २०८१ १८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App