गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशील युवा क्लब कोशी प्रदेश प्रिमियर लिग फुटबलको खेलको शीर्ष स्थानमा प्रवेश गरेका छन्।
सोमबारदेखि धरान रंगशालामा सुरु भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशील युवा क्लब विजयी हुँदै आ–आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएका हुन्।
पहिलो खेलमा गाईघाट फुटबल क्लबले भोजपुरको लाइबेरी फुटबल क्लबलाई हरायो। गाईघाटले भोजपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै तीन अङ्क सहित समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ।
गाईघाटको जितको लागि प्रविन राईले दुई गोल गरे भने प्रितम चौधरीले एक गोल थपे। खेलको म्यान अफ दि म्याच प्रविन नै भए। उनले नगद पाँच हजारसहित ट्रफि हात पारे।
दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई हराएर ताप्लेजुङको प्रगतिशील युवा क्लब समूह ‘डी’ को शीर्ष स्थानमा रहेको छ। ताप्लेजुङको प्रगतिशीलले सुनसरीलाई २–१ गोल अन्तरले पराजित गरि तीन अङ्क सहित समूह ‘डी’ को शीर्ष स्थानमा रहेको हो।
ताप्लेजुङको जितका लागि सबिन तामाङ र अनुप सेन्दोङले गोल गरे भने धरान फुटबल क्लबका सबिन राईले एक गोल फर्काए। खेलको म्यान अफ दि म्याच प्रगतिशील युवा क्लबका सविन तामाङ घोषित भए। उनले नगद पाँच हजारसहित ट्रफि हात पारे।
कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियनहरूको सहभागिता रहेको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए।
जसमा समूह ‘ए’ मा लोहरुङ फुटबल क्लब सङ्खुवासभा र पाँचथर युनाइटेड फुटबल क्लब पाँचथर रहेका छन्। समूह ‘बी’ मा गाईघाट फुटबल क्लब उदयपुर, लैबरी फुटबल क्लब भोजपुर, सम्राट् रिपोर्टिङ फुटबल क्लब मोरङ छन्।
समूह ‘सी’ मा देउराली युवा क्लब धनकुटा, धाईजन चारआली फुटबल क्लब झापा, रेडहर्ष फुटबल क्लब इलाम छन्। समूह ‘डी’ मा धरान फुटबल क्लब सुनसरी, प्रगतिशील युवा क्लब ताप्लेजुङ र बुईपा–११ फुटबल क्लब खोटाङ रहेका छन्।
यस प्रतियोगिताको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन्। प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रकाशित: २८ माघ २०८१ १९:५९ सोमबार