काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेट सिरिजमा थाइल्यान्डले लगातार तेस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार नेदरल्यान्ड्सलाई १७ रनले पराजित गर्दै थाइल्यान्डले आफ्नो अपराजित यात्रा कायम राखेको हो । ३ खेलबाट उसको ६ अंक भएको छ । चार खेल खेलेको नेदरल्यान्ड्सको ४ अंक छ । तीन खेलमा नेपाल अंकविहीन छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५.५ ओभरमा मात्र ६९ रनमा समेटियो । डच टोलीका लागि क्याप्टेन बाबेट डी लिडले सर्वाधिक २५ रन बनाइन् ।
नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न थिपाचा पुथावङ र ओनिचा काम्छोफुले समान ३ विकेट लिए ।
पहिला ब्याटिङ गरेको थाइल्यान्ड निर्धारित २० ओभर सकिन एक बल बाँकी रहँदै ८६ रनमा अलआउट भएको थियो । उसका लागि छनिदा सुथिरुङले सर्वाधिक २७ रन बनाएकी थिइन् ।
डच टोलीका लागि इरिस विलिङ, इभा लिन्च र सिल्भर सेइगरले समान २ विकेट लिए ।
सिरिजमा मंगलबार नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उपाधियात्रा कायम राख्न नेपालले उक्त खेल जित्नै पर्नेछ । हारले मात्र नेपाल दुई खेल बाँकी रहँदै उपाधि यात्राबाट बाहिरिनेछ । थाइल्यान्ड विजयी भए उपाधि नजिक पुग्नेछ ।
तीन देश सहभागी प्रतियोगितामा एकअर्कासँग समान ३ खेल खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
प्रकाशित: २१ माघ २०८१ १५:५९ सोमबार





