२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

एन्फा महिला लिग: वालिङलाई पहिलो गोलको अनुभव

गोल गरेपछि वालिङकी जर्सी नम्बर ३५ की यशोदाकुमारी चिराल। तस्बिर: एन्फा

एन्फा महिला लिगको प्लेअफसम्म पुग्ने लक्ष्यसहित काठमाडौं आइपुगेको वालिङ नगरपालिकाको मुख्य चिन्ता दुई कुरामा थियो– जित र गोल। यद्यपि, जित हात पार्न नसके पनि वालिङ मंगलबार गोल गर्न भने सफल भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगको फाइनल चरणको पाँचौं खेलमा पुगेर वालिङले गोलको सुख अनुभव गर्न पाएको हो। तर, यो खेलमा पनि वालिङ विभागीय टोली नेपाल पुलिस क्लबसँग ४–१ ले पराजित भयो। जितसँगै पुलिसले पाँच खेलबाट १० अंक पुर्‍याएको छ। समान खेल खेलेको वालिङ भने अझै अंक बटुल्न संघर्षरत छ।

पहिलो चरणका नौ खेलमा वालिङले पाँच जित हात पार्‍यो। यी जितमा १७ गोल बर्साएको वालिङले चौथो स्थानमा रहँदै फाइनल चरणमा स्थान बनाएको हो। त्यसो त यो चरणमा वालिङको लक्ष्य ठूलो छैन। उसको मुख्य उद्देश्य नै समान हैसियतको बागमती युथ क्लबलाई चुनौती दिँदै विभागीय टोलीसँगै प्लेअफमा पुग्नु हो। तर, त्यो लक्ष्यमा अलमलिएको वालिङले पहिलो गोल गर्न साढे तीन महिनाभन्दा बढी समय पर्खनुपर्‍यो।

तर, वालिङलाई यो गोलको भन्दा पनि पहिलो हाफमा गरेको प्रदर्शन सम्झिँदा थप पीडा हुन सक्छ। किनभने पुलिसले वालिङको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै चार गोल नै यही हाफमा गरेको हो। १०औं मिनेटमा सुष्मा तामाङको थ्रो बलमार्फत मीना देउवाले गोलको अवसर बनाएकी थिइन्। उनले राइट साइडबाट माथिलो बारतर्फ प्रहार गरेको बललाई पुलिसकी किपर उषा नाथले मुस्किलले दुईपल्टमा नियन्त्रणमा लिइन्।

त्यसको पाँच मिनेटपछि नै पुलिसकी कप्तान निरु थापाले ‘ब्रेक थ्रु’ दिलाइन्। मोनिका पुलामीमगरको लामो क्रसमा आएको बललाई निरुले क्विक प्रहारमा गोलमा परिणत गरिन्। यो गोल वालिङकी दोस्रो रोजाइकी गोलकिपर सन्जिना माझीका लागि अनपेक्षित रह्यो। डी बक्सभित्रबाट आएको बल बारमा लागेर जाली चुमेको थियो। त्यसपछि पुलिसले वालिङलाई कुनै मौका नदिई लगातार दुई गोल थप्यो।

निरुकै पासमा अनुष्का शेर्पाले २८औं मिनेटमा डी बक्सभित्रैबाट गोल गर्दै अग्रता दोब्बर बनाइन्। लगातार गोल खाइरहेको अवस्थामा वालिङले सम्हालिने मौका नै पाएन। डिफेन्डरबाट विंगमा स्विच भएकी पूजा रानाले वालिङलाई अर्को धक्का दिइन्। राइट साइडबाट रक्षक अमृता जैसीले दिएको सुन्दर पासलाई पूजाले अफ साइड बिट गर्दै गोल गरिन्। फिनिसिङमा समस्या भएपछि मुख्य प्रशिक्षक भोलानाथ सिलवालले फुल ब्याक पूजालाई विंगरमा उकालेका हुन्।

नियमित विंगरभन्दा राम्रो प्रदर्शन गरिरहेकी उनको यो राउन्डमा चौथो गोल हो। अर्को गोल भने वालिङकी धना बोहराले उपहार दिइन्। कर्नरबाट आएको बललाई अमृताले हेडरमार्फत पोस्टको दिशा देखाएकी थिइन्। तर, उक्त बल धनाको खुट्टामा लाग्दै आफ्नै पोस्टमा छिर्‍यो।

पहिलो हाफमा निरन्तर दबाबमा राखे पनि पुलिसले त्यसपछि बिरलै अवसर बुन्यो। ती अवसरलाई पनि सदुपयोग गर्न सकेन। तर, वालिङले भने डिफेन्सलाई सुधार गर्दै पुलिसमाथि निरन्तर दबाब बनाइ नै रह्यो।

फलतः निर्धारित खेल सकिन पाँच मिनेट बाँकी रहँदा यशोदाकुमारी चिरालले गोल गरिन्। कप्तान मायाको लामो क्रसलाई रोक्न गोलकिपर उषा बक्सबाट बाहिर आइपुगेकी थिइन्। त्यसैको फाइदा उठाउँदै उनले दुई डिफेन्डरलाई बिट गर्दै वालिङलाई गोलको अनुभव दिलाइन्। सुदूरपश्चिम फुटबल संघ र खेलाडीबीच विवाद हुँदा उनले पहिलो चरणका खेल गुमाएकी थिइन्। तर, उक्त विवाद सुल्झिएसँगै उनी वालिङमा आबद्ध भएकी हुन्।

यो गोलसँगै वालिङले लिगमा केही राहत पाएको छ। तर, फाइनल राउन्डमा दुई खेल मात्रै बाँकी छ। साबिक विजेता एपिएफसँगै त्रिभुवन आर्मी क्लब र पुलिसले प्लेअफमा स्थान पक्का गरिसकेका छन्। बागमती पनि तीन अंकसहित वालिङभन्दा अगाडि छ। त्यसैले लक्ष्य हासिल गर्न वालिङले अझै धेरै संघर्ष गर्नुपर्नेछ।

प्रकाशित: २ माघ २०८१ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App