२३ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

जय ट्रफी दुई दिवसीय क्रिकेट: संघर्ष गर्दै ब्याटर

पुलिसविरुद्ध ब्याटिङ गर्दै आर्मीका विनोद भण्डारी। तस्बिर: क्यान

झन्डै दुई दशकपछि नेपालमा सुरु भएको दुई दिवसीय क्रिकेट प्रतियोगिता (जय ट्रफी) मा ब्याटरले निकै संघर्ष गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरु भएको दुई दिवसीय फरम्याटको क्रिकेटमा ब्याटर लामो समय क्रिजमा रहन नै असफल भएका हुन्। विभागीय डर्बी रहेको पहिलो खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले वीरगन्जमा प्रतिस्पर्धा गरेका थिए।

अर्को खेल सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेश र घरेलु टोली मधेस प्रदेशबीच जनकपुरमा भएको थियो। यी दुवै खेलमा स्पिनर हाबी भए र कुल २२ विकेट लिए। पुलिसका स्पिनर ललित राजवंशीको नाममा सात र बागमतीका कप्तान सन्दीपको नाममा पाँच विकेट रह्यो। तर, पहिलो श्रेणीको क्रिकेट प्रवर्धन गर्ने उद्देश्यसहित सुरु भएको जय ट्रफीको पहिलो दुई खेलमा ब्याटरले रन बटुल्न संघर्ष गरे।

चारै टोलीका ब्याटर धैर्यपूर्वक ब्याटिङ गर्न असफल रहे। पहिलो दिनको खेल सकिँदा ब्याटिङ गरिरहेको पुलिस १८ रनले पछि छ। पहिलो इनिङमा आर्मी १२१ रनमा नै अलआउट भयो। पुलिसले पनि १०३ रन जोड्दा सात विकेट गुमाइसकेको छ।

बागमती र मधेसबीच भएको दोस्रो खेलमा पनि ब्याटर चल्नै सकेनन्। पहिलो दिनको खेल सकिँदा ब्याटिङ गरिरहेको बागमती ६८ रनले पछि छ। त्यसअघि पहिलो इनिङमा मधेस १०२ रनमा नै अलआउट भएको थियो। जबाफी इनिङ सुरु गरेको बागमती १३ ओभरमा ३४÷२ को अवस्थामा छ। आइसिसीको पूर्ण सदस्य राष्ट्र बन्ने लक्ष्यसहित दुई दिवसीय क्रिकेट सुरु भएको हो।

बागमतीले मधेससँग जनकपुरमा र पुलिसले आर्मीसँग वीरगन्जमा खेलेपछि नेपालमा झन्डै दुई दशकपछि फेरि दुई दिवसीय क्रिकेटको सुरुआत भयो। यसअघि २०६३ सालमा मधेश आन्दोलनको ताका नै दुई दिवसीय क्रिकेट भएको थियो। तर, वीरगन्जमा नै त्यो खेल भए पनि दोस्रो खेल पूरा नहुँदा प्रभावित हुन पुग्यो। मधेस आन्दोलन चर्किन थालेपछि दोस्रो खेल नहुँदै बीचमा नै दुई दिवसीय क्रिकेट प्रभावित भएको हो।

त्यति बेला क्रिकेट खेलेका राजु बस्न्यातले आफ्नो टोली खेल्न नपाउँदै दुई दिवसीय क्रिकेट प्रतियोगिता बीचमा नै अवरुद्ध भएको बताए। लामो समयपछि क्यानले रातो बलको क्रिकेटलाई प्राथमिकतामा राख्दै जय ट्रफीको नामबाट सञ्चालनमा ल्याएको छ।

गत संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका पुलिस, आर्मी, बागमती र मधेसले जय ट्रफी मेन्स एलिट कप नामकरण गरिएको बहुदिवसीय क्रिकेट खेलेका हुन्। प्रथम श्रेणीको क्रिकेटलाई प्रवर्धन गर्ने उद्देश्यसहित क्यानले दुई दिवसीय फरम्याटको जय ट्रफीको सुरुआत गरेको हो।

क्यानले यसअघि नै लिगचरण दुई दिवसीय र फाइनल तीन दिवसीय फरम्याटमा हुने जनाइसकेको छ। त्यसअघि जनकपुरधाममा सुरु भएको जय ट्रफीको मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले उद्घाटन गरेका थिए। सो अवसरमा क्यानका उपाध्यक्ष रोशन सिंहले जित र हारभन्दा पनि देशमा क्रिकेटप्रति राम्रो क्रेज बढ्दै गएको बताए।

साथै उनले क्रिकेट खेलमा राम्रो लगाव रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहकै कार्यकालमा क्रिकेट रंगशाला बन्न नसके आगामी दिनमा सहज हुने बताए। क्यानका सचिव पारस खड्काले क्रिकेटको इतिहास बोकेको जनकपुरमा रातो बलको क्रिकेट फेरि सुरु गर्न पाउँदा खुसी प्राप्त भएको बताए।

दुई दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, ओपनर आसिफ शेख र दीपेन्द्रसिंह ऐरी भने खेलेका छैनन्। रोहित र आसिफ एपिएफका खेलाडी हुन्। एपिएफ छनोट नहुँदा उनीहरू खेल्नबाट वञ्चित भए।

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला बनाउन डिपिआर तयारी अवस्थामा रहेको बताएका छन्। जय ट्रफीको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले पुस २२ गते राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानसँग मधेस प्रदेश सरकारले मैदानका लागि सम्झौता गर्ने र पास हुनेबित्तिकै मन्त्रिपरिषद्बाट निर्णय गरेर फाइल काठमाडौं पठाइने जानकारी दिए।

करिब सात वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि दिने भनेको एक अर्ब रूपैयाँ अहिलेसम्म खर्च नभएकाले सो रकम रंगशाला निर्माणमा लगाउने र थप एक अर्ब रूपैयाँ मधेस प्रदेश सरकारबाट लगानी गर्नेसमेत बताए।

मोदीले घोषणा गरेको रकम खर्च गर्न मन्त्रिपरिषद्बाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने र केन्द्र सरकारले पास गरेपछि भारतीय दूतावासमा गएपछि मात्र टेन्डर गर्न सक्ने प्रक्रिया रहेकोले प्राविधिक त्रुटिका कारण अहिलेसम्म टेन्डर हुन नसकेको मुख्यमन्त्री सिंहले बताए। स्टेडियमका लागि साढे दुई देखि तीन अर्बसम्मको टेन्डर हुने उनको भनाइ थियो।

प्रकाशित: २२ पुस २०८१ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App