भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको प्रभावशाली जित निकालेको छ।
मेलबर्नमा पाँचौ तथा अन्तिम दिन सोमबार १८४ रनको जित निकाल्दै अस्ट्रेलियाले आइसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ।
साउथ अफ्रिकाले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ भने फाइनल पुग्ने दोस्रो टोलीका लागि अस्ट्रेलिया, भारत र श्रीलंकाबीच तीब्र प्रतिस्पर्धा छ।
अस्ट्रेलियाले भारतलाई ३४० रनको लक्ष्य दिएको थियो, जसमा भारत १५५ रनमै सिमित भयो। भारतीय ओपनर यशस्वी जैसवालले सर्वाधिक ८४ रन बनाए। तर, भारतले ११२ रनमा ३ विकेट गुमाइसकेपछि, थप ४३ रनमा बाँकी सात विकेट गुमायो।
यस हारको प्रमुख कारण थियो विवादास्पद थर्ड अम्पायरको निर्णय, जसमा जैसवाल ८४ रन बनाएर आउट भए। फिल्ड अम्पायरले उनलाई नट आउट ठहराएका थिए, तर रिभ्युमा पर्याप्त प्रमाण नभए पनि थर्ड अम्पायरले उनलाई आउट दिए।
जैसवालको विकेटपछि भारतले २२ ओभर खेल्नुपरेको थियो, जब केवल ३ विकेट बाँकी थियो। जैसवालबाहेक, पहिलो तीन ब्याट्सम्यान रोहित शर्मा, केएल राहुल, र विराट कोहलीले दोहोरो अंक जाेड्न सकेनन्।
जैसवालले ऋषभ पन्तसँग ८८ रनको साझेदारी गर्दै टोलीलाई प्रारम्भिक संकटबाट बचाए पनि, पन्तले खराब शट खेल्दै विकेट गुमाए। त्यसपछि रविन्द्र जडेजा र नितिश रेड्डीको पनि विकेट गुम्याे। अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले एक ओभरमा दुई विकेटसहित जम्मा तीन विकेट लिए। मिचेल स्टार्क, स्कट बोल्यान्ड, नाथन लियोन, र ट्राभिस हेडले एक-एक विकेट लिए।
बिहानको खेलमा अस्ट्रेलियाले दोस्रो इनिङ्समा २३४ रन बनाएर भारतलाई ३४० रनको लक्ष्य दिएको थियो। पहिलो इनिङ्समा भारतले ३६९ रन बनाएको थियो भने अस्ट्रेलियाले ४७४ रन जाेडेकाे थियो।
याेसँगै अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिप वरियतामा दोस्रो स्थान कायम राखेको छ। अब आगामी तीन टेस्टमध्ये कुनै पनि खेल जित्न सके २०२५ मा दक्षिण अफ्रिकासँग एक निर्णायक टेस्ट खेल्नेछ।
प्रकाशित: १५ पुस २०८१ १२:४६ सोमबार