२४ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटकीय र सामरिक स्थल चिन्न–चिनाउन सेनाको पदयात्रा

नेपाली सेनाको पशुपतिप्रसाद गणले आइतबारदेखि साताव्यापी पैदलयात्रा सुरु गरेको छ। जिल्लाका ऐतिहासिक, पर्यटकीय तथा सामरिक महत्वका स्थानहरू चिनाउने र नागरिकसँग सेनाको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले पैदलयात्रा सुरु गरिएको हो। गाईघाट बोक्सेस्थित पशुपतिप्रसाद गणबाट सुरु हुने पैदलयात्रा ऐतिहासिक स्थल उदयपुरगढी हुँदै चौदण्डीगढी पुगेर समापन हुनेछ।

पैदलयात्रा ८५ किलोमिटर महाभारत शृंखलामा हुने पशुपतिप्रसाद गणले जनाएको छ। गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्लेका अनुसार पैदलयात्रामा नेपाली सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी, साइकलयात्री, सर्वसाधारण समेतको सहभागिता रहनेछ। पैदलयात्राले जिल्लावासीसँग सेनाको सम्बन्ध विस्तार, सद्भाव आदानप्रदान र पर्यटन प्रवर्द्धनमा मद्दत पु¥याउने अपेक्षा गरिएको गणपति वाग्लेले बताए। 

पैदलयात्रालाई अर्थपूर्ण र उपलब्धिमूलक बनाउन सबै पक्षसँग सुझावसमेत लिइएको गणले जनाएको छ। साताव्यापी यात्राका क्रममा बाटोमा पर्ने विभिन्न गाउँबस्ती, विद्यालय र सार्वजनिकस्थलमा स्थानीयसँग भेटघाट र कुराकानी गर्ने योजना बनाइएको गणले जनाएको छ। पैदलयात्राले जिल्लाको पहाडी (चुरे महाभारत शृंखला) भूभागमा पर्ने उदयपुरगढी र रौतामाई गाउँपालिका, त्रियुगा र चौदण्डीगढी नगरपालिका गरी चारवटा स्थानीय तहको भूगोल छिचोल्नेछ। पैदलयात्राका क्रममा ठाउँठाउँमा इतिहासको संरक्षण र प्रवर्द्धन गर्न हाजिरीजबाफ, निबन्ध लेखन, वक्तृत्व कला र कविता प्रतियोगितासमेत सञ्चालन गरिने गणले जनाएको छ। यात्रालाई बहुआयामिक, प्रभावकारी र उपलब्धिमूलक बनाउन यस्ता अतिरिक्त क्रियाकलापहरू समावेश गरिएको गणले स्पष्ट पारेको छ।

पहिलो दिन आइतबार उदयपुरगढीबाट पैदलयात्रामा निस्किने टोली उदयपुरगढी–४ स्थित डुम्रेमा बसेर दोस्रो दिन सोमबार उदयपुरगढी–५ मा पर्ने ढुंग्रे (भिरगाउँ) पुगेको छ। तेस्रो दिन मंगलबार रौतामाई गाउँपालिका–८ को पुवाँरे भन्ज्याङ पुगेर बास बस्ने कार्यतालिका गणले बनाएको छ। त्यसैगरी यात्राको चौथो दिन बुधबार रौतामाई गाउँपालिका–४ पोखरी पुगेर बास बस्ने, पाँचौ दिन बिहीबार त्रियुगा नगरपालिका–१४ साउनेस्थित निपाने पुगेर बास बस्ने, छैटौं दिन शुक्रबार चौदण्डीगढी–८ स्थित सिम्ले पुगेर बास बस्ने भनिएको छ। पैदलयात्राको सातौं दिन शनिबार चौदण्डीगढी–७ स्थित वीरेन्द्रबजार हुँदै ऐतिहासिक चौदण्डीगढी पुगेर समापन गर्ने कार्यतालिका रहेको जानकारी गणपति वाग्लेले दिएका छन्।

हरेक दिन पाँच देखि १५ किलोमिटरसम्म पैदलयात्रा हुनेछ। चौदण्डीगढीमा हुने समापन समारोहमा पैदलयात्राका क्रममा आयोजना गरिएका हाजिरीजबाफ, कविता, वक्तृत्व कला र निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नेलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ। त्यसैगरी यात्राको समीक्षा गरी सहयोगीलाई सम्मानका लागि मायाको चिनो प्रदान गरिने गणले जनाएको छ।

प्रकाशित: २३ पुस २०८१ ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App